किर्ते जग्गा प्रकरणः मालपोतका हाकिमसँग बयान, एकजना कर्मचारी पक्राउ

0
74

प्रस, वीरगंज, १९ मङ्सिर/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट किर्ते जालसाज गरी वीरगंज–५ मुख्य सडकस्थित होटल मकालुअगाडिको करोडौं मूल्यको जग्गा बिक्री प्रकरण सम्बन्धमा पर्सा प्रहरीले एकजना मालपोतका कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ।
मुद्दा शाखाका नायब सुब्बा श्रीनारायणप्रसाद साहलाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो। बयानको लागि प्रहरीमा बोलाएको र बयान नसकिएको कारण निजलाई नियन्त्रणमा लिएको बुझिन आएको छ। यसैगरी, निमित्त प्रमुख मालपोत अधिकृत सुमन झासँग पनि प्रहरीले यसअघि बयान लिएको स्रोतले जनाएको छ। निमित्त प्रमुख मालपोत अधिकृत झाले किर्ते जग्गा प्रकरणमा आफूसँग प्रहरीले बयान लिएको पुष्टि गरेका छन्। उनले घटनामा जोसुकै दोषी भएपनि कारबाईको हकदार हुनुपर्ने प्रतीकसँग बताए। घटनामा सम्पूर्ण कागजातहरू किर्ते भए पनि दुरुस्त देखिने गरी तयार पारिएको कारण कर्मचारीले ठम्याउन नसकेको यसअघि उनले बताएका थिए। आफूले १५ दिनसम्म सो फाइललाई सदर नगरेको र पछि सम्पूर्ण कागज दुरुस्त देखिएपछि हस्ताक्षर गरेको यसअघि बताएका थिए। अहिले उनले आफू जानाजान सो घटनामा संलग्न नरहेको दाबी गर्दै आएका छन्। कुनै पनि कोणबाट दोषी देखिए सजायको भागीदार हुने उनले प्रतीकलाई बताए।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो।
यो घटनामा प्रहरीले मुकेश राजभण्डारी भन्ने केवलप्रताप राणा, लेखनदास बारा जिल्लाका प्रमेश साह र वीरगंज–१५ लक्ष्मणवाका अमर साह कानूलाई पक्राउ  गरी अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानको क्रममा प्रहरीले बिहीवार पक्राउ गरेको गिरधारीलाल अग्रवालसँग बयान लिने क्रम जारी राखेको छ। ज्येष्ठ नागरिक भएको र शारीरिकरूपमा अशक्त भएको कारण अग्रवाललाई बिहीवार राति हिरासतमा नराखी घर जान दिइएको थियो र शुक्रवार बिहान हाजिरी गराइ पुनः बयान लिइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्