कहाँ गए ती दिन ?

110

मुकुन्द आचार्य

सबैलाई थाहा छ, समय परिवर्तनशील छ। सम्भवतः समयको यसै विशेषतालाई ध्यानमा राख्दै कसैले पुकार गरेको थियो– समय बडा बलवान रे भैया, समय बडा बलवान !
यससम्बन्धी यस परम सत्यतथ्यलाई हाम्रो मानवीय तुजु्रकले झट्ट स्वीकार्दैन। मन आफ्नो मौजमा हिंड्ने हुनाले ‘मनमौजी’ शब्द बनेको होला। मान्छेका सकल इन्द्रियलाई काममा जोत्न यै मोरो मन त हो नि। मन एवं मनुष्याणां कारण बन्ध मोक्षयो अर्थात् मनकै कारणले मानिस बन्धनमा पर्छ वा मोक्ष हुन्छ। यो गीताको वचन हो। यसलाई सत्य नमाने त सकिगयो नि !
अब यै छठको पर्वलाई हेरौं न। पर्वको लम्बाइ–चौडाइ त बढ्यो, अर्थात् छठका श्रद्धालु भक्तजनहरू तराईदेखि पहाडसम्म सलहझैं फैलिए, तर यसको गहिराइतिर मान्छेले ध्यान दिनै छाडे। बाहिरी देखावटी तडकभडकले कुरोको चुरोलाई नै ओझेलमा पा–यो जस्तो लाग्दैन ? श्रद्धा भक्ति गायब, फेशन भो जायज !!
सजावट गर्ने बेपारीले आफूलाई नयाँ सृष्टि गर्ने विश्वामित्रको स्थानमा राखेर आफ्नो हैसियत ह्वात्तै बढाउँछ, साथसाथै आम्दानी पनि। त्यसैगरी, अर्को छट्टु टेन्टको सजावट भनेर मोटो रकम कुम्ल्याउन सफल हुन्छ। यसरी छठको ठेकुवा खाने थुप्रै छन्।
चतुर, चलाक, चुस्त यस्ता बेपारीको मुखमा केही वाक्य झुन्डिएका हुन्छन्– इ छठीमाईके सेवा ह, शृङ्गार ह १ एमे कन्जूसी मत करीं , ज्यादा मोलमोलाइ मत करीं। दिल खोल के खर्चा करीं। माई के कृपा होई त कवनो चीजके कमी ना रही १। अर्थात् छठीमाताको काम हो, टन्नै खर्च गर्नुस्, कञ्जुस्याइँ नगर्नुस् !
अर्कोले मौकामा चौका हान्छ– देदे बाबा, माई के नाम में देदे १ चारैतिरबाट यस्तो दबाब परेपछि छठ सजावट समितिको टाउके–लाउके अध्यक्ष भनाउँदोले मुठी अलिकति खुकुलो गर्नैपर्ने अवस्था आउँछ। अचेल छठघाटको सजावट मात्र हेरिन्छ।
कहाँ गयो छठपूजाको सुचिता (पवित्रता) ? चोखो रीति सबै हराए। भित्रको गुदी कता गयो कता १ बोक्रा र छोक्रामा अलमलिएर असली छठ, कतै चट नहोस्।
व्रतालु महिलाहरू केही दिनअघिदेखि गहुँ केलाएर, धोएर, सुकाएर, सके आफैं पिसेर, शुद्ध तेलमा छानेर बनाएको ठेकुवा र सम्बन्धित अन्य पवित्र प्रसादको स्वाद र सुगन्ध अर्कै हुन्थ्यो।
एक लहडीले त छठको समाप्तिका दिन (बिहनिया घाट) मजाले बाटोको छेउमैं चदर ओछ्याएर ‘छठको प्रसाद’ मागेर रमाइलो वातावरण बनाइदिन्थ्यो। यतिमात्र कहाँ हो र, व्रतालुहरूको प्रसाद घरघरै बाँडिन्थ्यो। यसरी प्रसाद पाउनेले पनि आफूलाई कृतकृत्य (धन्य) ठान्थे।
छठ बितेको पन्ध्र दिन भइसक्दा पनि ठेकुवालाई तताएर अर्थात् नवीकरण गरेर खानुको मज्जा नै बेग्लै हुन्थ्यो। कहाँ गए ती दिन ? छठको त्यो मिठास अब हराउँदैछ।
अचेल त कसैले ‘मलाई ठेकुवा, कसार मन पर्छ’ भन्यो भने उसलाई गाउँले, गँवार, पुरातनपन्थी, ओल्ड फेशनको मान्छे भनेर डेट सकिएको औषधिझैं हेरिन्छ। के चाडपर्वको रस, कोरोनाले चुसेर छोक्रा मात्र बाँकी रहेको हो त ? कोरोनाको नाउँमा सरकार र डाक्टरहरूले मात्र कमाउनु पनि त त्यति उचित हुँदैन होला।
कुनै पनि चाडपर्वको मूल उद्देश्य सुक्न नपाओस्, भन्नेतिर पनि अलिकति ध्यान दिए के नै बिग्रला र ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्