अवमूल्यनमा परेको मानिस

103

शीतल गिरी  

गताङ्कको बाँकी…
अमरसिंहको नेतृत्वमा सिपाहीहरू जन्मभूमिको रक्षा गर्न स्वाहा हुन तयार थिए। देशलाई बचाउन आफ्नो रगत बगाउन तयार थिए सिपाही। यदि लडाइँका हतियार तरबार, छुरी, भाला, खुकुरी, खुडा जस्ता मात्रै पर्याप्त हुँदा हुन् त निश्चय नै रणसङ्ग्राममा नेपाली सिपाहीले छप्काउने थिए।  
हिन्दूका राजा अङ्ग्रेजसित मिले, एशियावासीलाई हिमालका नेपालीको रित्तो अङ्कमाल स्वीकार्य नभएको हुँदा स्थिति बडो जटिल थियो। हिन्दुस्थान पराधीन बन्न तयार थियो, एशियाबाट अङ्ग्रेज धपाउने हिमालका नेपालीको प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक थियो। तर अमरसिंह हिमालको देश स्वतन्त्र राख्न चाहन्छन्। बहादुर शाहको पहिलो कदम भनेको रानीको समूहमा काम गरेको आशङ्कामा भारदारीबाट अमरसिंहलाई हटाइदिए। तर बहादुर शाहले उनको सैनिक योगदानको चाहिं चाहेर पनि उपेक्षा गर्न सकेनन्। शीघ्र नै उनलाई आफ्नो वृहत् पश्चिमी अभियानमा जीव शाहको सैनिक टोलीमा संलग्न गराइ पर्वत–प्यूठान हान्न पठाउने निर्णय गरे। यसैगरी। यसैताका शुरू भएको प्रथम नेपाल–तिब्बत युद्धमा पनि अमरसिंहको सक्रिय संलग्नता नै रह्यो र यस युद्धमा पनि उनले आफ्नो सैनिक योग्यता सिद्ध गर्न राम्रो अवसर पाए।   
भेरी पश्चिमको डोटी, सल्यान, जाजरकोट, दैलेख, बझाङलगायतका शक्तिशाली राज्य विजय गर्ने क्रममा निश्चय नै आफ्नो बुद्धि लगाएर योग्यता सिद्ध गरे। त्यसमा पनि महाकालीपारिका कुमाउ–गढवालका युद्धहरूले त अमरसिंहलाई नेपाली सेनाको चम्किलो तारा नै बनाइदिए। तर नेपाली सेनानीहरू यस प्रकारका जीवन–मरणका युद्धहरूमा लिप्त रहँदा पनि विवाद र ऐयासमा डुबेको नेपाल दरबार भने आफ्नो घिनलाग्दो सत्ता कलहमैं संलग्न देखिंदा त्यसको दुष्प्रभावबाट नेपाली भारदारहरू जहाँ जसरी अघि बढ्दै गरेको शत्रु भेटिन्छन्, त्यही चट्टान बनी खड्गले छेक्ने निधोमा पुगे। देश खातिर मर्नु र मार्ने अठोट गरे।  
खलङ्गाको किल्लामा पूर्वजानकारी नगराएरै अङ्ग्रेजले तोपद्वारा आक्रमण ग–यो। विसं १८५२ ताका गद्दीनसीन राजा रणबहादुरको स्त्रीलम्पट चरित्रले गर्दा नेपालको दरबारिया राजनीति चरम गुटबन्दी र सत्ताकलहमा कहिल्यै नउक्सिने गरी डुबिसकेको थियो। विधवा ब्राह्मणी कान्तिवतीको आशक्तिमा डुबेर राजा रणबहादुर सत्ता परित्यागको बिन्दुसम्म पुग्दै थिए। यस काण्डमा पनि अमरसिंह संस्थापनकै पक्षमा उभिए।  
संयोगवश गद्दी परित्यक्ता पूर्वराजा रणबहादुर शाह काशी पलायन भएपनि नायबी हातमा लिएकी निजकी रानी सुवर्णप्रभादेवीले पनि अमरसिंहलाई माया नै गरिन्। यतिमात्र होइन आफ्नो भारदारीमा सामेल गरिन्। रणबहादुर पनि लामो समय बनारसमा टाँस्सिनुपरेन र चार वर्षपछि नै काठमाडौं फर्किन सफल बनेपछि पुनः गद्दीनसीन राजा गीर्वाणयुद्धको नायबी आफ्नो हातमा लिए।
अर्कोतर्फ बदलिएको परिवेशमा काठमाडौंको सत्ताका निर्णायक व्यक्ति अमरसिंहकै नातेदार भीमसेन थापाको हातमा केन्द्रित भयो, जो आफू सामान्य पृष्ठभूमिबाट देशको केन्द्रीय सत्तामा हावी हुन पुगेबाट दरबारका हस्तीहरूलाई पन्छाएर आफ्नो प्रभुत्व र वर्चस्वको सुदृढीकरण गर्ने नीति लिन पुगेका थिए। खलङ्गाको युद्धमा अङ्ग्रेज जर्नेल जिलेस्पी मारिए। अमरसिंह थापाले लडाइँ नहोस् भनेर धेरै प्रयत्न गरेका थिए। देहरादूनको सानो दुर्गमा पाँच सय नेपाली बसेका थिए, त्यहाँ बाँचेका सत्तरीजना मात्रै लड्दै नेपालको गौरव उँmचो बनाएर स्वेच्छाले किल्ला त्यागे। बलभद्र, चुमरा राना, जसपाउ र रेवन्त बाँकी सिपाहीसहित जैतक किल्लामा रणजोरकहाँ मिसिन पुगे। शार्दूलजङ्ग, कृष्णदत्तलगायत धेरै दल एकत्रित भई लड्न थाले।  
नेपाली सेनाले नालापानी, नालागढ, रामगढी, तारागढी, जुरजुरे, चम्बा सबै गुमायो। मलाउँमा काजी अमरसिंहलाई अङ्ग्रेजहरूले बलियो घेरा हालेर राखेका थिए। केन्द्रबाट कुनै सहयोग पाएका होइनन्। उनका साथमा भक्ति थापाहरू पनि छन् तर अङ्ग्रेजको घेरा तोडेर निस्कने कुनै साधन छैन। यदि अङ्ग्रेजसँग तोप नहुँदो हो त सो लडाइँ नेपालले हार्ने थिएन। गुरुज्यू गजराज मिश्र भित्रभित्रै अङ्ग्रेजसँग मिलिसकेका रहेछन्। अमरसिंहलाई गढवालको राजा बन्ने प्रस्ताव अङ्ग्रेजले पठाएका थिए। सत्तरी वर्षका भक्ति थापा स्फूर्ति साहसका साथ देउथल किल्लाबाट निस्केर अङ्ग्रेजी फौजलाई काट्दै अगाडि बढे। राजधानीले मलाउँमा अमरसिंहकहाँ जान भनेर पठाएको सेना अलमोडामा नै बस्यो। सहयोग गर्न समयमा नै त्यो सेना आइपुगेको भए जीत अवश्य हुने थियो। राजधानीबाट पैसा मात्रै पठाएको भएपनि लड्ने सिपाही यतै भर्ना गर्न सक्थे। नेपाली सेना आधा पेट खाएर, अनेक कष्ट सहेर लड्दै थिए। नेपाली सेनामा धर्म, जातको विभेद थियो, जातभातको कुरोले गर्दा पनि स्थानीय जनताको मन जित्न नसकेको हो। अङ्ग्रेजलाई गाँजर, मुला जस्तै काट्दै गरेका भक्ति थापा छातीमा गोली थापी ढले। शत्रु सेनाको तोप खोस्न लागिसकेको सेना भक्ति थापा ढलेपछि फर्कियो। कतिपय सिपाही बन्दूक फालेर अङ्ग्रेजी सेनामा मिल्न नगएका पनि होइनन्। यस्तो अवस्थामा नेपालको जीत कसरी हुन्छ। अङ्ग्रेजी सेनामा कोही अजम्मरी बन्ने पनि होइन। एउटा सानो चूकले गर्दा आज नेपाली विदेशका गल्ली गल्ली र ढोकामा मगन्ते दास भैकन हिंड्नुपरेको छ। लडाइँमा सबैले एकै ठाउँ ताकेर बन्दूक हानेको भए बैरी अवश्य धूलोमा मिल्ने थियो। अमरसिंह काजीका साथमा रहेका सेना एकजना बाँचुन्जेल पनि युद्ध गर्न दृढ थिए। केही सिपाही अङ्ग्रेजसँग मिल्न गएको थाहा पाएर अमरसिंह चिन्तित भए, त्यसमाथि झन् भक्ति थापाको मृत्युले छटपटाएका थिए। भीमसेन थापाको हातमा सत्ता आएपछि उनी अमरसिंहलगायतका हस्तीहरूलाई मोफसल पठाइ आफ्नो प्रशासनिक प्रभुत्व सुदृढ गर्नेतर्फ अग्रसर भए।  
भीमसेन थापाको नीतिले अमरसिंहलाई कुनै फरक पारेन तर देशलाई ठूलो असर पा–यो। त्यस्तो असर त्यस बेला प्रकट भयो, जब नेपालले विसं १८७१–७२ मा ब्रिटिश भारतसँग डरलाग्दो युद्ध लड्नुप–यो। त्यसै कारणले गर्दा मलाउँमा पनि नेपालको हार भएको हो। भीमसेन प्रधानमन्त्री मात्रै होइन फौजको सेनापति जनरल पनि थिए। टिस्टादेखि काँगडासम्म, ब्रह्मपुत्रदेखि गङ्गा–जमुनासम्म फैलिएको विशाल नेपालको क्षति भयो। हो समर मैदानमा लड्नको लागि मान्छे पुगेन, केन्द्रबाट सिपाही पुगेन, आवश्यकता अनुसार भर्ना गर्न धन केन्द्रले उपलब्ध गराएन, यदि नेपाली प्रशस्त हुँदा हुन्, ठाउँ–ठाउँमा मानिस राख्न सकेको भए अङ्ग्रेजका तोप नेपालीका हुन्थे, यी सबैको लागि मान्छे पुगेन। कप्तान बलभद्र कुँवरले आवश्यकता अनुसार हजार–पाँच सय मानिस बढी पाएको भए लडाइँको स्वरूप नै अर्कै हुने थियो।  
थापाकाजी रणजोरसिंहले जैतक किल्लालाई नै बलियो बनाउन सकेका थिएनन्, प्रबल राणाले राजधानीबाट ल्याएको सेनालाई चौतारिया बम शाहले आफैंकहाँ राखे, बडाकाजी अमरसिंहकहाँ पठाएनन्, किनभने कुमाउँमा पनि फौजको कमी थियो। सरदार भक्ति थापाले आक्रमण गर्दा त्यस्तै आक्रमण अरू दुईतिरबाट गर्न पाएको भए शत्रु डाँडा काटेर भाग्थे। हतियार मात्र होइन मानिसकै कमी भएको हुँदा नेपालीको हार भएको हो। पैसाको कमीले गर्दा सिपाहीले खान पाएनन्, बाध्यतावश बाँच्नको लागि दुई/चार ठाउँमा लुटे पनि, यस्तो कार्यले सोझा रैतीको मनमा फिरङ्गी जाती भन्ने भान पर्न गयो। धन, जन र सामानको अभावले गर्दा नेपाली शतरुद्रासम्म हट्नुप–यो। सिमला, गढवाल, कुमाउँको तराईबाट हात धुनुप–यो। खासमा नेपाली सेनाले राजधानीबाट चाहिंदो मदत पाएन। सबैभन्दा पहिले झुलाघाटको साँध गरेर बम शाहले देशप्रति गद्दारी गर्न पुग्यो। डोटीका राजा बन्ने बम शाहको चाहनाले पनि नेपाल आधा फ्याक भएको हो। सबैभन्दा ठूलो कुरा त लडाइँ लड्नको लागि मान्छेकै अभाव भएको हो। मलाउँमा बडाकाजीले आत्मसमर्पण गर्दा अढाई सयका करीबमा सिपाही थिए। सो युद्ध नेपालको लागि आत्मघाती भएपनि युवा जोशका मुख्तियार भीमसेन थापा युद्धकै पक्षमा उभिए, जसले यथार्थमा तत्कालीन समयको यथार्थ बुझेकै रहेनछन्। दुःखको कुरा, अमरसिंह लगायतका पङ्क्ति भीमसेनको नीतिले गर्दा मोफसलमा भएकोले युद्ध रोक्ने नीतिमा खासै योगदान गर्न सक्ने अवस्थामा थिएनन्।  
तसर्थ मुलुकले सो घातक नेपाल–अङ्ग्रेज युद्ध बेहोर्न विवश हुनुप–यो। जहाँ नेपालको एक तिहाइ भूभाग मात्र गुमाउनुपरेन, सुगौली सन्धिजस्तो असमान र अपमानजनक सन्धि बेहोर्न पनि विवश हुनुप–यो। नेपाल राष्ट्रको एकतालाई साझा उन्नति खातिर राष्ट्रनिर्माण गरिएको थियो। विश्वासघात गरेर राज बैठकमा स्थिर आसन गरेको कारण नेपालको शिर सदा सर्वदाको लागि झुक्यो।  
नेपालीको आपसमा विश्वास, पर्याप्त सेना, धन र हतियारको अभावले अङ्ग्रेजसँग हार्नुपरेको हो, यो अभाव पूरा गर्न सकेमा भोलि जित्ने विश्वास अमरसिंहमा थियो। अमरसिंह अङ्ग्रेजको चाहना अनुसार सन्धि गर्ने पक्षमा थिएनन्, राजगुरु रङ्गनाथ र गजराज मिश्र अङ्ग्रेजको सम्पूर्ण कुरा स्वीकार गरेर सन्धि गर्नुपर्छ भन्ने पक्षमा थिए।
अङ्ग्रेजसँगको युद्धमा जीवनमरणको भूमिका खेल्ने अमरसिंहको भूमिका र युद्धगाथा गाउन आजका पुस्ताले पुरानो पुस्ताबाट सिक्नुपर्ने हुन्छ। अमरसिंहलगायतका धेरै योद्धा कपटपूर्ण सन्धि गर्नुहुँदैन, आफ्नो स्थिति बलियो बनाएर लड्नको लागि कम्मर कस्नुपर्छ भन्ने पक्षमा थिए। आफ्नो शिर ठड्याएर देशको शिर उठाउन योद्धाहरू लड्न तयार थिए। नेपाली जनता लड्नको लागि घर–घरबाट निस्किएका थिए। नेपाललाई पराधीन हुन नदिन हात–हातमा तरबार लिएका थिए।  
सिन्धुलीगढीनेरको रणक्षेत्रमा हातमा नाङ्गो तरबार लिएर अमरसिंह लड्दै थिए। राष्ट्र धर्मको विचारले सिपाही युद्ध मैदानमा रगत बगाउँदै थिए। दुःखको कुरा दरबारले राष्ट्रघात गरेर अङ्ग्रेजको सामु घुडा टेक्यो। दरबारले गरेको राष्ट्रघाती सुगौली सन्धिको कारण आज बलभद्र, अमरसिंह, उजीरसिंह, बहादुर शाह जस्ताको स्मृतिसमेत तिनका परिवारले मात्रै मनाउनुपर्ने भएको छ। राज्य या नेपालका विगतदेखि वर्तमानसम्मका साहसी वीर योद्धाहरूलाई विस्मृतिमा पठाउने पक्षमा रहेको व्यवहारले बताउँदै छ।  
जसले यो देश बनायो, बलिदान भयो, जीवनमरणको युद्ध लड्यो, त्यो नै बिरानो भयो। अमरसिंहहरू लडिरहेका थिए, ज्यानको बाजी थापेर, वीरहरूको आँखा छली नेपालको हार भयो भनी सेतो झन्डा फहरायो दरबारले। अनि अमरसिंह सिन्धुलीबाटै गोसाईंकुण्ड गए, अनि कहिल्यै फर्केनन्। देश पराजयको पीडा योद्धा अमरसिंहले पचाउन सकेनन्, दरबारका छलीहरूको मुख हेर्नुको साटो गोसाईंकुण्डमा गए। वीर अमरसिंहको देशप्रतिको भावनाको प्रचारप्रसार अहिलेसम्म हुन सकेन, दरबारको राजनीतिमा जुन प्रवृत्ति हिजो हावी थियो, त्यही मूल्यमा वर्तमान समयमा राज्य सञ्चालन गर्न पुगेका नेतामा रहेको पाइएको छ। देशप्रति माया नै छैन, यसो भन्नु गलत हुनेछ। उनीहरूका पवित्र सोचले मूर्तरूप लिनुअघि नै विकृतिको जञ्जालमा फस्न पुगेको पाइन्छ। मूल्य र उपयोग पारमार्थिक बन्नुपथ्र्यो, हुन सकेन नेपालमा, यो अवश्य शोधको विषय बन्न पुगेको छ।   
आज हामी कति लज्जास्पद क्षणमा बाँचेका छौं। आज अमरसिंह जस्ता हस्तीहरूको सही इतिहास र योगदान पनि समुचित मूल्याङ्कन गर्न असमर्थ छौं। के आजका हामीहरूको अन्तरात्मा कर्मविहीन नै हो त, नेपाल देश बनाउने र बचाउनेलाई नसम्झने धर्म लिएकै हौ त।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्