सातामा एक दिन मात्र सेवा प्रवाह

0
54

प्रस, सेढवा, १८ मङ्सिर/
इलाका प्रशासन कार्यालय, सुपौलीमा साप्ताहिकरूपमा सेवा प्रदान भइरहेको कारण अहिले सेवाग्राहीहरूको भीड बढेको छ।
जीराभवानी गाउँपालिका–४ सुपौलीमा जिल्ला प्रशासन कार्यालय,  पर्सा अन्तर्गतको इलाका प्रशासन कार्यालय ठोरी, जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गापालाई लक्षित गरी स्थापना गरिएको हो। इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृतको असोजमा सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले साप्ताहिकरूपमा बिहीवार र शुक्रवार कर्मचारी पठाएर सेवा प्रदान गर्दै आएको छ। दैनिकरूपमा सञ्चालन हुनुपर्ने कार्यालय साप्ताहिकरूपमा सञ्चालन हुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ।
ठोरी गापा–७ क्षेत्रीलाइनका रुद्रबहादुर बुढाथोकीले साप्ताहिकरूपमा इलाका प्रशासनबाट सेवा प्रदान गरिएको कारण भीड बढेको बताए। उनले सातामा बिहीवार मात्र सेवा प्रदान गरिने हुनाले ५ सयको सङ्ख्यामा मानिसहरू आउने र धेरैजनाले सेवा नपाउने गरेको गुनासो गरे। उनले बिहीवार कार्य सम्पन्न नहुँदा अर्को बिहीवार धाउनुपर्ने बाध्यता भएको बताए।
इलाका प्रशासन कार्यालय, सुपौलीमा एकजना प्रमुख प्रशासकीय अधिकृत, एकजना सुब्बा, एकजना खरदार र एकजना कम्प्युटर अपरेटर तथा दुईजना कार्यालय सहयोगीको दरबन्दी छ। प्रमुख प्रशासकीय अधिकृतको अभावमा असोजदेखि सेवाग्राहीहरूले समस्या भोग्दै आएका छन्। अन्य कर्मचारीहरू साप्ताहिकरूपमा कार्यालयमा हाजीर भएपनि प्रमुख प्रशासकीय अधिकृत नभएको कारण यहाँ केही काम पनि हुँदैन। बिहीवार मात्र चारवटै गापाका सेवाग्राहीहरू इलाका प्रशासनमा पुग्दा अचाक्ली भीड हुने गर्छ।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले प्रमुख प्रशासकीय अधिकृतको लागि मन्त्रालयमा पटक–पटक पत्राचार गरी ध्यानाकर्षण गराएको बताए। उनले स्थानीयलाई समस्या नहोस् भनेर आफू आएपछि साप्ताहिकरूपमा सेवा प्रदान गरेको बताए। कर्मचारी अभावमा पचास प्रतिशतभन्दा बढी सेवाग्राही प्रभावित हुँदै आएको प्रजिअले बताए।
गत साता ४४ जनाको नागरिकता वितरण भयो भने ३० जना फिर्ता भएको उनले बताए।  इलाका प्रशासनबाट नयाँ नागरिकता, आदिवासी जनजाति, मधेसी, मुस्लिम प्रमाणित र चार गापाका नागरिकको नागरिकता प्रतिलिपि दिने कार्य हुँदै आएको छ।
इलाका प्रशासन खुलेपछि सो ठाउँका मानिसहरूले जिल्ला प्रशासन कार्यालय, पर्साबाट सेवा लिन पाएका छैनन्। उनीहरूको सबै कागजपत्र इलाका प्रशासनमा भएकोले जिल्ला प्रशासन कार्यालयमा सेवा पाउन सक्दैनन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्