बर्दिया निकुञ्ज नजीकै खुल्यो २२ करोडको सुविधासम्पन्न रिसोर्ट

0
49

राधेश्याम पटेल, वीरगंज, १७ मङ्सिर/
पश्चिम नेपालमा होटल तथा रिसोर्ट व्यवसायमा लगानी थपिंदै गएको छ। नेपालगंजका होटल व्यवसायी देव अर्यालले बर्दिया राष्ट्रिय निकुञ्जकै छेउमा २२ करोड लगानीमा रिसोर्ट सञ्चालन गरेका छन्।
मङ्सिर १५ गते सफ्ट ओपनिङ गरिएको जङ्गल सेन्ट्रल प्लाजा रिसोर्टको ग्रान्ड ओपनिङ वैशाख १ गते हुने जनाइएको छ। महेन्द्र राजमार्गको अम्बासा चोकबाट ३ किलोमिटर दक्षिणमा ठाकुरद्वारा जाने बाटोमा बर्दिया जिल्लाको ठाकारबाबा नगरपालिका–६ लठुवामा यो रिसोर्ट अवस्थित छ। दुई वर्ष अघि निर्माण कार्य शुरू भए पनि कोरोना महामारी र अन्य कारणले करीब ९ महीना यो रिसोर्टको परियोजना पछि धकेलिएको थियो।
“अहिले पनि केही प्रतिशत काम बाँकी छ, डेढ वर्षमैं रिसोर्ट सञ्चालन गर्ने लक्ष्य थियो”–उनले भने–“कोरोना महामारीको कारण मेरो ड्रिम प्रोजेक्टमा ढिलाइ भयो।” १० वटा समान्य, १० वटा डिलक्स र चारवटा स्वीट आरामदायी कोठा भएको रिसोर्टमा ३ सयजना अट्ने बन्क्वेट हल, डेढ सय जना अट्ने दुईवटा सभाहल छन्। साथै रिसोर्टमा स्वीमिङ पुलको पनि सुविधा छ।
रिसोर्टले नेपाली, भारतीय र एशियन परिकारसँगै विशेष थारू परिकारको पनि सुविधा उपलब्ध गराएको छ। सञ्चालनको तीन महीनासम्म जुन प्रकारको खानेकुरामा २५ प्रतिशत छुट दिइएको छ भने कोठामा ३० प्रतिशत छुट दिएर सधारणको रु २५ सय, डिलक्सको रु ३५ सय, सिंगल बेड स्वीट कोठाको साढे ७ हजार र डबल बेड स्वीट कोठाको १५ हजार शुल्क राखिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने भारतीय र आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको रिसोर्टको कोठाबाट सहजै वन्यजन्तु र जङ्गलका दृश्य हेर्न सकिने किसिमको संरचनामा आधारित यस रिसोर्टको डिजाइन गरिएको छ। “हामीले नेपाली र भारतीय पर्यटकलाई ध्यानमा राखेर कोठादेखि वाशरूपको डिजाइन गरेका छौं”–उनले भने–“वन्यजन्तु कोठा वा रिसोर्टभित्र पस्न सक्दैनन्, तर वरपर चरिरहेको वा घुमिरहेको देख्न सकिन्छ, मज्जाले जङ्गलको आनन्दसँगै वन्यजन्तुको आनन्द लिन सकिन्छ।”
चितवनको बालकुमारी क्याम्पसबाट २०५६–०५८ सालमा वाणिज्य सङ्कायमा स्नातक गरेका देव अर्याल चार वर्षअघि ६५ करोडको लगानीमा बाँकेको कोहलपुरमा होटल सेन्ट्रल प्लाजा स्थापना गरेका व्यक्ति हुन्। गत वर्ष उक्त होटल उनले बेचे। बर्दियामा रिसोर्ट स्थापना र रारामा होटल विस्तार गर्ने लक्ष्यका साथ उनी अघि बढेका छन्। रारा तालको १ किलोमिटर टाढा उनको करीब १० कठ्ठा जग्गा छ, आगामी दिनमा त्यहाँ पनि होटल व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको उनले बताए। उनको पुख्र्यौली, निर्माण व्यवसाय र ट्रान्सपोर्ट व्यवसाय थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्