नहरमा युवकको शव बरामद

0
54

प्रस, पोखरिया, १७ मङ्सिर/
धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित नहरमा एकजना युवकको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ।
नहरमा झारपातले छोपिएको अवस्थामा युवकको शव फेला परेको र ती युवक कालिकामाई गापा–१ तीनडोबियाका २७ वर्षीय इमामुल हुसेन भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बिहान साढे ८ बजे स्थानीयले झारपातमा मानिसको शव छोपिएर राखिएको सूचना दिएपछि प्रहरीले सोबारे सोधखोज गरेको र युवक हुसेन पुष्टि भएको बताए। उनले तीन दिनअगाडि धोबिनी गापा–२ मा हत्या गरिएका युवक हुसेन आफ्ना साथीहरूसँग गएको तर घरसम्म नपुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।
मृतक हुसेनका परिवारजनले तीन दिनअघि वैवाहिक कार्यक्रममा साथीहरूसँग गएको र फिर्ता नआएपछि सोधखोज गरी प्रहरीलाई सूचित गरिएको बताए। स्रोतका अनुसार हुसेनसँग दुईजना साथी गएका थिए र उनीहरू घर फर्कंदा एकजनाको खुट्टा र अर्कोको हात भाँचिएको अवस्थामा घर फर्केको हुँदा हुसेनको हत्यामा उनीहरूको संलग्नता हुन सक्ने बताएको छ।
प्रहरीले पनि यो सम्भावनालाई अस्वीकार गर्न नसकिने भन्दै अनुसन्धान थालेको जानकारी गराएको छ। शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको प्रनि थापाले बताए। घटना सम्बन्धमा थप अनुसन्धान शुरू भएको पनि उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्