अपाङ्गता र संवेदनशील नहुने अपाङ्ग

216

सञ्जय साह मित्र

सामान्यतया मानव शरीरको कुनै अङ्ग निको नहुने गरी समस्या देखिन्छ भने त्यसलाई अपाङ्गता भएको मानिन्छ। अपाङ्गतासम्बन्धी पुरानो धारणामा बिस्तारै परिवर्तन हुन थालेको छ। पहिले शरीरको अङ्गसम्बन्धी अपाङ्गतालाई नै अपाङ्ग भनिन्थ्यो भने अहिले आएर मानसिक अपाङ्गता पनि समेटिएको छ। अझ अपाङ्ग शब्दको ठाउँमा ‘दिव्याङ्ग’ शब्द प्रयोग हुन थालेको छ। पुरानो भाषामा कोही अपाङ्ग छ भने उसलाई दिव्याङ्ग भन्नुपर्छ भन्ने धारणाको विकास भइरहेको छ। यो राम्रो पनि हो। यदि कसैलाई अपाङ्ग शब्दले सम्मान गरेको बोध हुँदैन भने दिव्याङ्ग शब्दले सम्मानको अनुभूति गराउँदा राम्रो मान्नुपर्दछ। कुनै पनि कारणले कसैको आत्मसम्मानमा ठेस लाग्ने कार्य हुनुहुँदैन भन्ने मान्यतालाई सबैले स्वीकार गर्नुपर्दछ।
कतिपयले अपाङ्गतालाई देखिने र नदेखिनेगरी दुई वर्गमा बाँडेका छन्। देखिने अपाङ्गतामा शारीरिक र केही हदसम्म मानसिक अपाङ्गता आउँछ भने नदेखिने अपाङ्गता बौद्धिक हुन सक्छ। यद्यपि अपाङ्गतालाई कुनै एक कोणबाट मात्र परिभाषित गर्न सकिन्न। यसले समय र परिस्थिति अनुसार परिभाषामा सुधार गर्दै लगेको छ। बिस्तारै अपाङ्गको क्षेत्र विस्तार हुँदै गएको छ। हुन त अपाङ्गहरूको सङ्ख्यामा पनि विस्तार हुFदै गएको छ। कतिपय मानिसमा जन्मजात अपाङ्गता हुन्छ भने कतिपय कुनै रोग वा दुर्घटनाका कारण अपाङ्ग भएका हुन्छन्। जुनसुकै कारणले अपाङ्ग भए पनि ऊ अपाङ्गताको श्रेणीमा आउँछ। अपाङ्ग भएपछि सामान्य मानिससरह जीवन बिताउन केही कठिनाई हुन्छ र कतिपय मानिस धेरै हदसम्म अर्कामाथि आश्रित हुन पुग्छन्।
पछिल्लोपटक भएको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा ५ लाख १३ हजार ९९३ जना अर्थात् कुल जनसङ्ख्याको १.९४ प्रतिशत मानिसमा अपाङ्गता रहेको तथ्याङ्क छ। अपाङ्ग व्यक्तिमा एक प्रकारको अपाङ्गता वा एकभन्दा बढी प्रकारको अपाङ्गता पनि पाइएको छ। देशमा अपाङ्गता भएका मानिसमध्ये ३६.३२ प्रतिशतमा शारीरिक अपाङ्गता, १८.४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपाङ्गता, १५.४५ प्रतिशतमा सुनाइसम्बन्धी अपाङ्गता, ११.४७ प्रतिशतमा स्वर/बोलाइसम्बन्धी अपाङ्गता, ६.०४ प्रतिशतमा मानसिक अपाङ्गता, २.९० प्रतिशतमा बौद्धिक अपाङ्गता, १.४८ प्रतिशतमा श्रवण तथा दृष्टिविहीनता छ भने ७.५२ प्रतिशत बहुअपाङ्गता भएका व्यक्ति छन्। तथ्याङ्क अनुसार अपाङ्गता भएका व्यक्तिहरूमध्ये झन्डै आधा महिला छन्।
अपाङ्गता भएका मानिसको जीवन अपाङ्गता नभएको मानिसको तुलनामा केही बढी असहज हुन्छ। अपाङ्गताको प्रकृति हेरी कोही कोही त निकै असहज जीवनयापन गर्ने पनि हुन्छन्। केहीमा भने कम अपाङ्गता हुन्छ र जीवनलाई अलग दृष्टिकोणले महत्वपूर्ण बनाइरहेका हुन्छन्। विश्वमा अपाङ्गता भएका विभिन्न व्यक्ति पनि उचित वातावरण पाएर महान् वैज्ञानिक, दार्शनिक, कलाकार, शिक्षक, अभिनेता, राजनेता, लेखक, साहित्यकार बनेका छन् र सम्मान पाएका छन्। असल र विशिष्ट काम गर्ने जसकसैलाई समाजले विशिष्ट सम्मान दिने पनि गरेको छ। वास्तवमा कसैको पनि कर्मको नै पूजा हुन्छ। कसैको शरीर सुन्दर भएर मात्र पुग्दैन, उसको विचार र कर्म सुन्दर हुनुपर्छ। दार्शनिक सुकरातको उदाहरण यस प्रसङ्गमा धेरैपटक आउँछ।
एकै प्रकृतिको अपाङ्गता भए पनि पुरुषको भन्दा महिलाको जीवन कठिन हुन्छ। अझ उमेर पुगेकी महिला अपाङ्गको जीवन अझ धेरै कठिन र समस्यायुक्त हुुन पुगेको देखिन्छ। परम्परागत अन्धविश्वास यो पनि रहेको छ कि कोही पनि महिला अविवाहित मर्नुहुँदैन, अर्थात् जुनसुकै अवस्थाको अपाङ्गता भए पनि महिलाको बिहे हुनैपर्छ भन्ने अन्धविश्वास समाजमा रहेको थियो जुन अहिले बिस्तारै हराइसकेको छ। पुरुषको तुलनामा अपाङ्गता भएकी महिलाको बिहे अझ कठिन कार्य हो। यस्तै अन्य सामाजिक व्यवहारमा पनि महिलालाई धेरै समस्या भएको देखिन्छ। अझ बोल्न नसक्ने वा बौद्धिक अपाङ्गता भएका महिलामाथि थप अन्याय हुने गरेको छ। यसले गर्दा एक त अपाङ्गता भएको शरीर र त्यसमाथि केही गलत प्रवृत्ति वा सोचाइ भएका मानिसको नराम्रो व्यवहार सहनुपरेको छ। प्रतिकार गर्न नसक्ने अपाङ्गता भएका कतिपय महिलाले त निरन्तर बलात्कार नै पनि खेप्नुपरेको छ।
बहुअपाङ्गता तथा बौद्धिक अपाङ्गता भएका बालिका र महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा हुने डरले सम्भावित गर्भ रोक्न अभिभावकले नै गर्भ निरोधक साधन प्रयोग गरिदिने गरेको पनि समाचारमा आएको छ। बहुअपाङ्गता भएकी नुवाकोटकी २३ वर्षीया युवती २०७२ चैतमा बलात्कृत भइन्। छिमेकीबाटै उनीमाथि घरमा बलात्कार भएको थियो। बहिरा र शारीरिकरूपमा अपाङ्ग रहेकी उनी गर्भवती भएकी थिइन्। अभिभावकले उनको गर्भपतन त गराए तर उनलाई एउटा अस्पतालमा लगेर गर्भ रोक्ने अस्थायी साधन नरप्लान्ट राखिदिन लगाए। यस्तै दोलखाको तामाकोशी गाउँपालिकाकी २३ वर्षीया बहिरा महिलाले गत कात्तिकमा दोस्रो बच्चा जन्माइन्। अविवाहित ती महिलाका दुवै बच्चा बलात्कारबाट गर्भ बसेर जन्मिएको परिवारको भनाइ छ। परिवारका अनुसार, जन्मजात बोल्न नसक्ने र कान कम सुन्ने उनी दिसापिसाब पनि ओछ्यानमैं गर्छिन्। कसबाट बलात्कृत भएको हो भनेर बताउन नसक्ने भएकाले बलात्कारीमाथि कारबाई गर्ने प्रश्न त पछाडि आउँछ तर गर्भ रहनबाट जोगाउन अभिभावकले गर्भ निरोध गर्ने सुई लगाइदिन बाध्य छन्। हालसालै प्रकाशित समाचारहरूमा अझ कतिपय यस्ता महिलाका अभिभावकले महीनावारी रोक्न पनि औषधिको प्रयोग गर्न लगाइरहेका छन्।
महिला अधिकारवादीहरूमध्ये केहीको तर्क यो पनि छ कि अपाङ्गता भएका  र प्रतिकार गर्न नसक्ने वा बताउन नसक्ने महिलामाथि यौनजन्य हिंसा जघन्य अपराध हो। यस्ता अपराधीलाई पत्ता लगाएर कानूनी कारबाईको प्रक्रियामा ल्याउनु जरूरी छ तर अपाङ्गता भएका यस्ता महिला जो यौनजन्य हिंसाको शिकार भइरहेका छन्, लाई गर्भ निरोधक सुई वा अन्य प्रकारको औषधि दिइनु हिंसामाथि थप हिंसा हुन सक्छ। अपाङ्गता भएका बालिका र महिलालाई गर्भ निरोधक औषधिको जथाभावी प्रयोगले त्यस्ता महिलामा थप जटिलता सिर्जना हुन सक्ने बताइन्छ। अझ कतिपय अभिभावक अपाङ्गता भएका बालिका तथा महिलाको हेरचाह गर्नु कि जीविकोपार्जनको काममा लाग्नु भन्ने विवशता पनि प्रकट गरेको भेटिन्छन्। महिला अधिकारवादीको दृष्टिकोणमा कोही पनि अभिभावक वा परिवार अपाङ्गता भएका आफ्नो सन्तानको हेरविचार गर्ने उत्तरदायित्वबाट पन्छिन मिल्दैन।
अपाङ्गता कोही रहरले भएको हुँदैन। अपाङ्ग हुनुमा ऊ दोषी नहुन पनि सक्छ। कोही जन्मजात अपाङ्ग पनि हुन सक्छ। अपाङ्गता भएका व्यक्तिमाथि कुनै किसिमले अन्याय गर्ने वा अझ बलात्कारजस्तो घृणित अपराध गर्नेलाई पनि के भन्ने ? बलात्कारपछि बलात्कृतले महिलाको जीवनमा कस्तो असर पर्छ, गर्भ रहन गयो भने झन् कस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने कुराको विचार नगर्ने वा गर्न नसक्नेलाई संवेदनशील नहुने अपाङ्गताको श्रेणीमा राख्न सकिन्छ कि ? वा घृणित मानसिकता भएको अपाङ्गता भएको व्यक्तिको श्रेणीमा राख्न सकिन्छ ?
सरकारले अपाङ्गता भएका व्यक्तिको अपाङ्गताको प्रकृति हेरी केही सुविधा वा मासिक भत्ता उपलब्ध गराउन थालेको छ। यसले गर्दा अपाङ्गता भएका मानिसको जीवनमा केही सरलता त ल्याएको छ। तर अपाङ्गता भएका पुरुषप्रति सहृदयता प्रकट नगर्ने र महिलामाथि यौनजन्य हिंसा गर्ने पुरुषलाई भने कानूनी उपचारको बाटोमा ल्याउनु आवश्यक छ। बिस्तारै यस प्रकारको प्रविघिको पनि विकास होला, जसले यस्ता अपराधी पत्ता लगाउन सजिलो बनाउने छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्