रतनपुरीमा गाँजा फँडानी

79

प्रस, निजगढ, १६ मङ्सिरर
जिल्ला प्रहरी कार्यालय बाराले निजगढ नपा वडा नं १२ रतनपुरीमा गाँजाखेती नष्ट गरेको छ।
चुरे पहाड र सो आसपासमा लगाइएको गाँजाखेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख  एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीको नेतृत्वमा मङ्गलवार बिहान जिल्ला प्रहरी, इलाका प्रहरी निजगढ र रतनपुरी अस्थायी प्रहरी चौकीको प्रहरी टोली परिचालित भएका थिए।
आज निजगढ नपा–१२ को लालटोल र कुलियामा गरी लगभग ३ बिघा १० कट्ठा क्षेत्रफलको गाँजाखेती नष्ट गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। वरिपरि मकैबारी र बीचमा गाँजाखेती गरिएको पाइएको भन्दै प्रहरीले त्यस्ता स्थानहरूको पहिचान गरी नष्ट गर्ने अभियान शुरू गरेको प्रउ पङ्गेनीले बताए।
बाराको सिमरा, चुरे पहाड र मकवानपुरमा प्रहरीले बर्सेनि गाँजाखेती नष्ट गर्दै आइरहेको भएपनि बर्सेनि सो क्षेत्रका किसानहरूले गाँजाखेती गर्दै आएका छन्। अवैध खेती गर्ने र जग्गा उपलब्ध गराउने जग्गाधनीलाई नियन्त्रणमा लिई कानूनी कारबाही नगर्दासम्म उनीहरू हतोत्साहित नहुने चुरे क्षेत्रका नागरिक अगुवाहरूको ठहर छ। मकवानपुर र बाराको सीमा क्षेत्र तथा चुरे आसपासमा यस वर्ष २० बिघाभन्दा बढी क्षेत्रफलमा गाँजाखेती मौलाइरहेको समाचार स्रोतको दाबी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्