निर्णयविपरीत महानगरमा विद्यालय सञ्चालन

0
65

प्रस, वीरगंज, १६ मङ्सिर/
वीरगंज महानगरपालिका शिक्षा महाशाखाले दिएको निर्देशनविपरीत वीरगंजमा केही संस्थागत विद्यालयले सम्पूर्ण कक्षा सञ्चालनमा ल्याएको समाचार छ।
महानगरपालिकाले प्याब्सन, एन–प्याब्सन र महानगरमा रहेका सामुदायिक विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिको भेला गरी कक्षा ८ देखि १० सम्म कात्तिक २३ गतेदेखि र कक्षा ६ देखि ७ सम्म मङ्सिर ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालनमा छन्। तर केही संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म पठनपाठन शुरू गरेको अभिभावकहरूले बताए।
छठपछि महानगरपालिकाको निर्देशनविपरीत संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सञ्चालनमा रहेको अभिभावकहरूले बताए। विद्यालयबाट बालबालिकालाई सादा पोशाकमा अध्ययनको लागि पठाउन सूचित गरिएको र सोहीबमोजिम केही अभिभावकले आफ्ना बच्चाहरूलाई पठाएको बुझिन आएको छ।
वीरगंज महानगरपालिका शिक्षा शाखाका अधिकृत हरि राउतले कक्षा ६ देखि १० सम्म सञ्चालनको अनुमति दिएको र त्यसबाहेक सञ्चालित विद्यालयहरूको अनुगमन गरी कारबाई गरिने बताए।
प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले महानगरको निर्देशनविपरीत सञ्चालित संस्थागत विद्यालयहरू कारबाईको भागीदार हुनुपर्ने बताए। उनले आपूmलाई केही अभिभावकले विद्यालय खुलेको गुनासो गरेको बताए।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिकाले मङ्गलवारदेखि तह वर्गीकरण गरेर विद्यालय सञ्चालनको अनुमति दिएपछि नगरपालिकामा सामुदायिक, संस्थागत विद्यालयहरू सञ्चालनमा आएका छन्। शिक्षा शाखा प्रमुख प्रदीप चौरसियाले सामुदायिक विद्यालयको हकमा मावि तहलाई कक्षा ९ र १०, निमावि तहलाई कक्षा ८ र प्रावि तहलाई कक्षा ५ सम्म अध्ययन अनुमति प्रदान गरिएको बताए।
पर्सागढी नगरपालिकामा सामुदायिकतर्फ तीनवटा मावि, ८ वटा निमावि र १९ वटा प्रावि छन् भने ८ वटा संस्थागत विद्यालय छन्। संस्थागत विद्यालयहरूले नगरपालिकाको सूचना अनुसार कक्षा ५ देखि १० सम्म अध्ययन शुरू गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्