कर्मचारी नहुँदा मालपोतको सेवा विलम्ब

83

प्रस, सिराहा, १६ मङ्सिर/
मालपोत कार्यालय लहानमा कार्यालय प्रमुखसहित दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाप्रवाहमा विलम्ब भएको छ। कर्मचारी अभावमा सो कार्यालयको आर्थिक, प्रशासनिक तथा मुद्दा फछ्र्योटसम्बन्धी कार्यहरू प्रभावित हुँदै आएका छन्।
कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाप्रवाह निकै सुस्त तथा विलम्ब भइरहेको सेवाग्राहीहरूको गुनासो छ। यस सम्बन्धमा मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नरहेको कारण सेवाप्रभावमा कठिनाइ भइरहेको बताए। कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्यसमेत अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यहरू प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताएका छन्।
मालपोत कार्यालय लहानमा प्रमुख मालपोत अधिकृत एकजना, मालपोत अधिकृत दुर्ईजना, १० जना नायबसुब्बा, खरिदार चारजना, एकजना लेखापालसहित २७ जना कर्मचारीको दरबन्दी छ। तर विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुर्ई मालपोत अधिकृत, चार नायबसुब्बा र दुईजना खरिदारको स्थान रिक्त छ। “काम गर्नका लागि दरबन्दी मात्रै भएर नहुने रहेछ, दरबन्दी अनुसारको मानिस पनि हुनुप–यो। त्यो नभएकै कारण सेवाप्रवाहमा समस्या भएको हो,” निमित्त प्रमुख चौधरीले बताए।
कार्यालयमा सेवाग्राहीको चाप दैनिक बढ्दै गएको छ। एकातिर कर्मचारीको अभाव छ भने अर्काेतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पु–याउन असाध्यै कठिनाइ भइरहेको सो कार्यालयमा कार्यरत कर्मचारीहरूको दुःखेसो पोखेका छन्। यसबारे सिराहाका प्रमुख जिल्ला अधिकारी र विभागमा समेत जानकारी गराउँदा कर्मचारी पठाइदिने आश्वासन दिएको तर हालसम्म दरबन्दी अनुसारको कर्मचारी भने उपलब्ध नभएको निमित्त प्रमुख चौधरीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्