आन्तरिक राजस्व कार्यालयले लक्ष्य हासिल गर्न सकेन

71

प्रस, वीरगंज, १६ मङ्सिर/
चालू आर्थिक वर्षको पहिलो चौमासिकको लागि विभागले दिएको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न आन्तरिक राजस्व कार्यालय पर्सा चुकेको छ।
सबैभन्दा बढी राजस्व सङ्कलन हुने अन्तःशुल्क शीर्षकको राजस्व सङ्कलनमा आएको भारी कमीका कारण कार्यालयले पहिलो चौमासिकको लक्ष्य हासिल गर्न नसकेको हो।
चालू आवको पहिलो चौमासिकको लागि विभागले २ अर्ब १५ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकोमा सो कार्यालयले लक्ष्यभन्दा ४८ करोड ६९ लाख कम अर्थात् एक अर्ब ६६ करोड ४४ लाख रुपैयाँ मात्र सङ्कलन गर्न सफल भएको छ। यो कुल लक्ष्यको ७७.३७ प्रतिशत मात्र हो।
पहिलो चौमासिकको लागि आयकरतर्फ ३३ करोड ६ लाख, मूल्य अभिवृद्धि करतर्फ ४५ करोड २९ लाख र अन्तःशुल्कतर्फ एक अर्ब ३३ करोड ९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न लक्ष्य दिएकोमा कार्यालयले आयकरतर्फ ३६ करोड २९ लाख, मूल्य अभिवृद्धि करतर्फ ६१ करोड ९३ लाख र अन्तःशुल्कतर्फ ६६ करोड ११ लाख रुपैयाँ सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख सुनीलकुमार यादवले जानकारी दिए। उनले आयकरतर्फ ७ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ३६ प्रतिशत बढी राजस्व सङ्कलन भएपनि अन्तःशुल्कतर्फ ४९.३५ प्रतिशत मात्र राजस्व सङ्कलन भएकोले लक्ष्य हासिल गर्न नसकिएको बताए।
अन्तःशुल्कको रूपमा सबैभन्दा बढी राजस्व दिने जिल्लामा रहेका मदिरा उद्योगहरू अन्य जिल्लामा स्थानान्तरण भएका र केही मजदूर विवादले बन्द भएका कारण राजस्व सङ्कलन अपेक्षित हुन नसकेको प्रमुख यादवको भनाइ थियो।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा कार्यालयले कुल लक्ष्यको ७९ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो।
गत आव २०७६/७७ को पहिलो चौमासिकको लागि विभागले २ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन  लक्ष्य दिएकोमा कार्यालयले एक अर्ब ९१ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्