सिम्रौनगढमा क्रिकेट प्रतियोगिता शुरू, उद्घाटन खेलमा वीरगंज क्रिकेट क्लब विजयी

107

प्रस, सिम्रौनगढ, १४ मङ्सिर/
सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले विश्वमा लोकप्रिय  क्रिकेट खेलको मुख्य आधार स्थानीयस्तर रहेको बताएका छन्।
सिम्रौनगढ नगरपालिका–६ फूलबारी खेलमैदानमा आइतवार क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख यादवले स्थानीयस्तरबाट नै खेलाडीहरू  राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त हुने हुँदा अभिरुचि राखेर खेल्न आग्रह गरे। उनले खेलका लागि नगरपालिकाले सहयोग गर्दै आएको र गरिरहने आश्वासन दिए।
वडाध्यक्ष शङ्करसाह कानूको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कङ्काली माविका प्रअ धु्रव कुशवाहा, नेपाल शिक्षक महासङ्घ सिम्रौनगढका संयोजक नुराजम सिद्धिकी, सिम्रौनगढ क्रिकेट क्लबका कप्तान मनिर सिद्धिकी, खेलाडी सञ्जय गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण अरविन्द महतो नुनियाले गरेका थिए।
उद्घाटन खेल वीरगंज क्रिकेट क्लब र सिम्रौनगढ नयकाटोला क्रिकेट क्लबबीच भएको थियो।
आज सम्पन्न खेलमा वीरगंज क्रिकेट क्लब ३६ रनअन्तरले विजयी भएको छ।
निर्धारित १६ ओभरको खेलमा टस जिती पहिले ब्याटिङ गर्दै वीरगंजले सबै विकेटको क्षतिमा १५.३ ओभरमा १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य लिएको नयका टोलाले १५ ओभरसम्म  सबै विकेट गुमाइ ९१ रन मात्र बनाउन सक्यो।
यस खेलको म्यान अफ दी म्याच वीरगंजका निरञ्जन यादव भए। उनले तीन विकेट लिनुका साथै २८ बलमा ६६ रन बनाएका थिए।
भोलिको खेल रौतहटको शीतलपट्टि क्रिकेट टीम र सिम्रौनगढ कङ्काली  माध्यमिक विद्यालयबीच हुने सिम्रौन क्रिकेट व्यवस्थापनका तबरेज आलमले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्