श्री गुरुनानक देवजी तथा उनका शिक्षाहरू

0
105

जसपाल सिंह

इक ओंकार, सतनाम, करता पुरख, निरभऊ, निरवैर, अकाल मूरत अजूनी सैभं गुर प्रसाद।।
एक परमात्मा, जसको नाम सत्य हो, कृति गर्ने पुरुष निर्भय, द्वेषरहित अकाल मूर्ति–सनातन छवि–अजन्म     स्वयम्भू–स्वयंबाट उत्पन्न–गुरु–कृपाले प्राप्त।
श्री गुरुनानक देवजीका तीनवटा सबैभन्दा ठूला शिक्षा किरत करो, इमानदारीले कर्म र श्रम गर, नाम जपो, प्रभुको नाम जप, वंड छको, बाँडेर खाऊ।
श्री गुरुनानक देवजीका तीनवटै ठूला शिक्षाले मानवजीवनलाई खुशियाली तथा प्रसन्नताले बाँच्ने मन्त्र दिन्छ। यी शिक्षाहरू हुन्– कर्म गर्नु, नाम जप्नु तथा बाँडेर खानु। आज यिनै तीन मन्त्रमा सिख धर्म चलेको छ। यो शिक्षा कर्मसँग जोडिएका छन् तथा कर्ममा श्रेष्ठता ल्याउने बाटोमा डो–याउँछ। अर्थात् मनलाई बलियो, कर्मलाई इमानदार तथा कर्मफलको सही प्रयोगको शिक्षा दिने गर्दछ। यसले एकाग्रता तथा परोपकारतिर पनि लैजाने गर्दछ।
१. किरत करो, कर्म र श्रम गर अर्थात् इमानदार श्रमले आजीविका कमाउनु। श्रमको भावना सिख अवधारणाको केन्द्र हो। यसलाई स्थापित गर्नको लागि श्री गुरुनानक देवजीले जमीनदारको शानदार भोजनको तुलनामा कठिन श्रमको माध्यमले अर्जित बाक्लो भोजनलाई प्राथमिकता दिनुभएको थियो। जे पाउँछौं, त्यो साझा गर तथा विश्वास गर यसै शिक्षामा आफ्नो आयको दशौं (दशवंध) भाग दान, सहयोग गर्नुपर्ने हुन्छ।
२. नाम जपो, नाम जप श्री गुरुनानक देवजीले भन्नुभएको छ, “सोचै सोची न होवई, जो सोची लख वार। चुपै चुपी न होवई, जे लाई रहा लिवतार।” अर्थात् ईश्वरको रहस्य सोच्नाले मात्र जान्न सकिन्न, यस कारण नाम जप। नाम जप्नु अर्थात् ईश्वरको नाम पटक–पटक सुन्ने तथा दोह–याउने। श्री गुरुनानक देवजीले यसका दुई तरीका बताउनुभएको छ– सङ्गतमा बसेर जप गर्ने गरौं। सङ्गत मतलब पवित्र सन्तहरूको मण्डली वा एकान्तमा जप गर्ने गरौं। जपले चित्त एकाग्र हुने गर्दछ तथा आध्यात्मिक–मानसिक शक्ति प्राप्त हुने गर्दछ। यसले मनुष्यको तेज बढाउने गर्दछ। इमानदारीसाथ श्रम गर, आजीविका त्यही सही हुनेछ।
३. वंड छको, बाँडेर खाऊ श्री गुरुनानक देवजीका अनुसार ‘वंड छको’ को अर्थ हो कि अर्जित गरिएका वस्तुहरूलाई अरूसित साझा गरेर बाँडेर सदुपयोग तथा सबैसँग मिलेर त्यसको उपभोग गर। उनले सिखहरूलाई भन्नुभयो कि वंड छको (बाँडेर खाऊ) सिद्धान्त अनुसार सबैले आफ्नो धनलाई आफ्नो समुदायमाझ साझा गर। समुदाय वा साथसङ्गत सिख धर्मको एक महत्वपूर्ण अङ्ग हो।
सिखहरूले यसै आधारमा आयको दशौं भाग (प्रतिशत) साझा गर्ने गर्दछन्, जसलाई दशवंध भनिन्छ। यसैद्वारा लङ्गर चल्ने गर्दछ।
इक ओंकारका प्रणेता श्री गुरुनानक देवजी महाराजको पन्थ अद्भुत छ। उहाँले शुरू गर्नुभएको लङ्गरको (निश्शुल्क भोजन) प्रथाको अर्थ जातपातको भेदभावलाई मेटाउनुका साथै अभावमा रहेका गरीबहरूलाई भोजनको व्यवस्था गर्नु हो। जसले गर्दा समाजमा भोकले हुने गरेका अपराधलाई कम गर्नु थियो।  आज त्यो प्रथा अटुट रही विश्वभरिमा ५९ हजार गुरुद्वारा साहेबहरूमा ६० लाख मानिसले भोजन गर्ने गरेका छन्। श्री गुरुनानक देवजीले सहज, सरल, सङ्गठित समाजको जग राख्नुभयो। धर्म एवं जातको गाँठो फुकाउनुभयो।
उहाँ सधैं छुटाइएकाहरूसित उभिनुभयो। अछूत भनाउनेहरूसित बस्ने तथा तिनको हातबाट तयार पारिएका भोजन ग्रहण गर्नुभयो।
नीचा अंदर नीच जाति नीच हो अति नीच।
नानक तिनके सँग साथ बढिया के ऊंका रीस।।

अर्थात् तल्लोमा पनि सबैभन्दा तल्लो जातिको छ, त्यसमा पनि जो सबैभन्दा तल छ, म उनको साथ छु। आफूलाई ठूला ठान्नेहरूसित मेरो नाता छैन।
श्री गुरुनानक देवजी जब गुजरांवाला गाउँ पुगे, तब एकजना भक्त लालो बढईको घरमा बसे। कुरा चारैतिर फैलियो कि उच्च जातिको सन्त अछूत लालोको घरमा बस्नुभएको छ। गाउँका मुखिया मलिक भागोले श्री गुरुनानक देवजीलाई भोजनमा बोलाएका थिए। तर श्री गुरुनानक देवजीले स्वीकार गर्नुभएन। उहाँले भन्नुभयो, “लालोका सुक्खा रोटीहरूमा मलाई महको स्वाद आउने गर्दछ। परिश्रमले कमाएर, त्यसबाट पनि केही बचाएर मानिसहरूको मदत गर्ने, भोकालाई खुवाउने श्रेष्ठ मानिस हो, उहाँको जिकिर थियो। विभाजनलाई फुटालेर यस्तो समूह बनाउनुभयो, जसमा धर्म–जातिको आधारमा कुनै भेद थिएन।
श्री गुरुनानक देवजीले समाजलाई अनेक भागमा बाँडिएको देख्नुभयो। उहाँलाई  लाग्यो कि धर्मको नाममा केही व्यक्तिले कब्जा गरेका छन् तथा यसलाई धन कमाउने धन्धा बनाएका छन्। यसका लागि उहाँले एउटा यस्तो समूह बनाउने निश्चय गर्नुभयो, जसमा जन्म, धर्म तथा जातिको कारणले कोही साना–ठूला नहोस्।
सामुदायिक उपासनाको प्रथा शुरू गर्नुभयो। यसमा समावेश हुने मानिसहरूका लागि जातपातको बन्धन थिएन। छुवाछूतमाथि प्रहार गर्नुभयो। सबै जातिलाई जोडेर एकैसाथ भोजन बनाउन लगाई खुवाउनुभयो।
केही वरिष्ठ सिद्धहरूले श्री गुरुनानक देवजीलाई युवा तथा नयाँ देखेर परिचय माग्ने तथा प्रश्न–उत्तरको गोष्ठी गर्ने चुनौती दिए। सो गोष्ठी धेरै लामो चल्यो, सौकडौं प्रश्नका उत्तर थिए, सबैको उचित तथा तर्कसङ्गत उत्तर पाएर केही सीप नलागेपछि सबै सिद्धले श्री गुरुनानक देवजीलाई नमन गरी नतमस्तक भए। तीमध्ये एक सिद्ध भङ्गरनाथले गरेको एक प्रश्न– तिमी किन आफ्नो घर छाडेर बरालिंदैछौ ? आफ्नो यस धार्मिक वस्त्रहरूलाई किन अँगालेका छौ ? तिमी के व्यापार गर्दछौ ? तिमी अरूलाई आफूसँग कसरी लैजान्छौ ?
श्री गुरुनानक देवजीको उत्तर– म एक जिज्ञासु बनेर बरालिन थालें, गुरुमुखहरूको खोजी गरिरहेको थिएँ। मैले प्रभुको दर्शनको धन्य दर्शनलाई प्राप्त गर्नका लागि यस वस्त्रहरूलाई अँगालेको हुँ। म सत्यको व्यापार गर्ने व्यापारी हुँ। नानक, गुरुमुखको रूपमा, मैले अरूलाई पार गर्दछु।
स्त्रीको बारेमा श्री गुरुनानक देवजीले भन्नुभयो– स्त्रीबाट जन्म लिन्छौं, स्त्रीको पेटमा नै प्राणीको शरीर बन्ने गर्दछ। स्त्रीद्वारा मगनी तथा विवाह हुने गर्दछ। स्त्रीद्वारा अन्य व्यक्तिहरूसित सम्बन्ध बन्ने गर्दछ तथा स्त्रीद्वारा नै जगत्को उत्पत्तिको बाटो चल्ने गर्दछ। यदि स्त्री मरेमा अन्य स्त्रीलाई खोजिन्छ, जुन स्त्री (जाति)बाट महापुरुष तथा राजाहरू पनि जन्मिन्छन्, उनलाई खराब भन्नु ठीक होइन। स्त्रीबाट नै स्त्रीको जन्म हुन्छ, जगत्मा कोही पनि स्त्रीविना जन्मिन सक्दैन। हे नानक १ मात्र एक सच्चा प्रभु नै हुन्, जो स्त्रीद्वारा जन्मेका छैनन्। चाहे मनुष्य हो, चाहे स्त्री, जो पनि आफ्नो मुखबाट सधैं प्रभुको गुण गाउने गर्दछ, उनको टाउकोमा भाग्यहरूको मणि छ, उनको टाउको भाग्यशाली छ। हे नानक १ त्यही मुख त्यस सत्य प्रभुको दरबारमा सुन्दर लाग्दछन्।
धेरै वर्ष संसारको यात्रा गर्ने क्रममा शुरू–शुरूमा भारतको उडिसाको जगरनाथपुरी पुगेर मन्दिरभित्र सन्ध्या आरतिको बखत सबैले थालमा दियो राखेर आरति गर्ने बेलामा श्री गुरुनानक देवजीको हात खाली थियो, तब केही व्यक्तिले गुरु साहेबलाई प्रभुलाई आरति गर्न तपाईंको थाल तथा दियो खोई भनेर सोध्दा श्री गुरुनानक देवजीले यो गुरुवाणी उच्चारण गर्नुभयो– “सारा आकाश थाल जस्तो हो। सूर्य तथा चन्द्रमा त्यस थालमा दियो बनेका छन्। ताराहरूको समूह  थालमा मोती राखे जस्तो हो। मलय पर्वतबाट बहने हावा, धूप धूपणको वासना हो। हावाले चम्बर गरिरहेको छ। सम्पूर्ण वनस्पति ज्योति रूपको प्रभुको आरतिको लागि फूल दिइरहेका छन्।
हे जीवहरूको जन्म, मृत्यु, नाशकर्ता १ प्रकृतिमा कस्तो सुन्दर तिम्रो आरति हुँदैछ १ सबै जीवमा चलिरहेछ। एउटै जीवन तरङ्गहरू, मानौं तिम्रो आरतिको लागि नाँद बज्दैछन्।।१।। श्री गुरुनानक देवजीको दुई खास साथी, सहकर्मी तथा सेवक शिष्य थिए– भाइ बालाजी तथा मरदानाजी। सधैं दुवैै गुरुजीसित नै रहे। भाइ मरदानाजी मुस्लिम थिए। भाइ मरदानाजीले श्री गुरुनानक देवजीलाई भन्नुभयो कि उनलाई मक्का जानु छ किनभने यस्तो मानिन्छ कि जबसम्म एक मुसलमान मक्का जाँदैन, तबसम्म ऊ सच्चा मुसलमान कहलाउँदैन। श्री गुरुनानक देवजीले यो कुरा सुनेर भाइ मरदानाजीलाई लिएर मक्काको लागि प्रस्थान गर्नुभयो। गुरुजी मक्का पुगे, उनी थाकेका थिए तथा त्यहाँ हाजीहरूका लागि एक आरामगाह (विश्रामस्थल) बनेको थियो। गुरुजी मक्कातिर पाउ गरेर पल्टिनुभयो।
हाजीहरूको सेवा गर्ने सेवक जसको नाम जियोन थियो, यो देखेर धेरै रिसाउँदै गुरुजीलाई भन्यो– के तिम्रो आँखाले देख्दैन, तिमी पवित्र मक्का मदिनातिर पाउ गरेर पल्टेका छौ। तब श्री गुरुनानक देवजीले भन्नुभयो कि म एकदम थाकेको छु, आराम गर्न चाहन्छु। उहाँले जियोनलाई भन्नुभयो कि जतातिर खुदा छैनन् मेरो पाउ त्यतै गरिदेऊ। उपरान्त मानिसहरूले श्री गुरुनानक देवजीका पाउ घुमाएर काबाभन्दा उल्टो दिशातिर गरिदिए। जसरी नै उनीहरूले श्री गुरुनानक देवजीको पाउ धरतीमा छाडेर टाउको उठाएर हेरे, तब सबै दङ्ग भए, काबा उतैतिर थियो, जतातिर तिनीहरूले श्री गुरुनानक देवजीको पाउ राखेका थिए। यस घटनाको चर्चा सिख धर्मको सबैभन्दा पवित्र ग्रन्थ ”श्री गुरुग्रन्थ साहेब”मा गरिएको छ। तब जियोनले श्री गुरुनानक देवजीको कुरा बुझे कि खुदा मात्र एक दिशामा होइन, हर दिशामा हुनुहुन्छ। यसपछि जियोनलाई श्री गुरुनानक देवजीले सम्झाउनुभयो कि असल कर्म गर तथा खुदालाई याद गर, यही नै साँचो सदका, इबादत हो।
बाबर, भारतमा मुगलवंशका संस्थापक तथा प्रथम बादशाह थिए, उनले भारतमा सन् १५१९ देखि १५२६ को बीचमा पाँचपटक आक्रमण गरेका थिए, अन्तिमपटकको आक्रमणमा सफल  भएर पानीपतको मैदानमा इब्राहिम लोदीलाई हराएर मुगलवंशको जग राखेका थिए।
श्री गुरुग्रन्थ साहेबजीमा श्री गुरुनानक देवजी भन्नुहुन्छ, “बाबरवाणी फिरी गई कुईरू ना रो खाई।”
अर्थात् बाबरको साम्राज्य फैलिरहेछ। अत्याचारको पराकाष्ठा यति छ कि शाहज्यादीहरूले भोजनसम्म पनि गरेका छैनन्। बाबरका यस्ता कथाहरू उल्लेख भएको सङ्ग्रहलाई  बाबरवाणी भनिन्छ। यसमा श्री गुरुनानक देवजीले बाबरका आक्रमणहरूको गम्भीर आकलन गर्नुभएको छ। सन् १५२६ मा बाबरले दिल्लीका सुल्तान इब्राहिम लोदीलाई हराएर मुगलवंशको जग राखे, त्यस बखत श्री गुरुनानक देवजी यात्रामा थिए। उनी बाबरको आक्रमणको प्रत्यक्षदर्शी थिए। शहरका अन्य बासिन्दाहरूको जस्तो श्री गुरुनानक देवजीलाई पनि  कैदखानामा राखिएको थियो।
कैदमा भएपनि श्री गुरुनानक देवजीले कीर्तन बन्द गर्नुभएको थिएन। एक दिन श्री गुरुनानक देवजीको बारेमा बाबरलाई जानकारी भयो। जब उनी श्री गुरुनानक देवजीसँग भेट्न गए, तब उनको मुहारको तेज देखेर, उनको सुन्दर शब्द सुनेर धेरै प्रभावित भए। उनले माने कि श्री गुरुनानक देवजी महान् सन्त हुन्। त्यसपछि उनले श्री गुरुनानक देवजीलाई तुरुन्त रिहा गरे।
रिहा गर्ने फरमानमा श्री गुरुनानक देवजीले बाबरलाई जवाफ दिनुभयो, “मैले त तिमीलाई पहिले नै माफ गरिदिएँ तर तिमीले अल्लाहसित माफी माग्नुपर्छ। शायद तिमीले शहरका बासिन्दालाई रिहा गरेर पनि माफी पाउन सक्छौ।”
बाबरगाथामा श्री गुरुनानक देवजीका चार रचना सङ्ग्रहित छन्। पहिलो चरणमा श्री गुरुनानकदेवजीले बाबरका हमलावरहरूको तर्फबाट महिलाहरूमाथि अत्याचारका घटना उल्लेख गर्नुभएको छ। जसमा हमलावरहरूद्वारा चेलीबेटीहरूलाई उठाउने तथा उनीहरूसित जबरजस्ती निकाह (विवाह) गरेको उल्लेख छ।
कविताको दोस्रो चरणमा श्री गुरुनानक देवजीले बाबरको आक्रमणलाई हिन्दुस्तानलाई आगोमा पोलिदिएको जस्तो भनिएको छ। त्यहाँ भएको मारकाटले हरेक मानिसको पीडा, वेदनाको कुरा भनिएको छ।
तेस्रो चरणमा राजघरानाहरूका महिलाहरूले सडकमा पनि स्थान नपाएको उल्लेख छ। यी महिलाहरूको
अनादरको उल्लेख यस प्रकार छन्, जो पालकीहरूमा बसेर नगरको भ्रमण गर्ने गर्दथे, उनको मोतीहरूको माला टुटिसकेका थिए।
चौथो चरणमा श्री गुरुनानक देवजीले सर्वशक्तिमान रब (ईश्वर)लाई स्मरण गर्नुभएको छ। उहाँले लेख्नुहुन्छ– यो जगत् निश्चित मेरो हो तर तिमी नै यसको एक्लो मालिक हौ। तिमीले नै यसलाई बनाएका हौ तथा नष्ट गर्छौ। सबै सुख–दुःख तिम्रो हुकुमले नै आउने जाने गर्छन्।
श्री गुरुनानक देवजी महाराजले धेरै वर्ष भारतलगायत विभिन्न देशको पैदल यात्रा गर्नुभयो र सबै यात्राको उद्देश्य संसारलाई इक ओंकारको सन्देश साथ सबै धर्म, पन्थ तथा जातजातिलाई मानवीय सद्भाव, भाइचारासाथ जोड्ने नै थियो। यसै क्रममा उहाँ तथा अनुयायीहरूको नेपालसँगको सम्बन्ध पनि सबैमा विदित नै छ। ५०० वर्ष पहिलेदेखि नै सिख समुदाय, पन्थको आवागमन, बसाइ तथा योगदान विभिन्न ऐतिहासिक दस्तावेजले देखाउँछ नै। विभिन्न कालखण्डका राजाहरूले श्री गुरुनानक देवजी महाराजलाई अति मान, आदर, सत्कार, भक्तिसाथ पाठ, अरदास, प्रार्थना गर्ने गरेको साथै श्री गुरुनानक पन्थीहरूलाई ससम्मान जग्गा, जागीर उपहारस्वरूप चढाइएको इतिहास छ।
नेपाली सिख समुदायले पनि यसलाई आत्मसात् गर्दै आएका छन्। नेपाली सिख समुदायको इतिहास खोतल्दा पाँच सय वर्षअघिदेखि नै यहाँ रहेको तथ्य भेटिन्छ। अध्ययनको क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म श्री गुरुनानक साहेबको नाममा जग्गाको लालपुर्जा पनि रहेको छ।
देशका विभिन्न मठ तथा गुरुद्वाराहरूमा पुरातन हस्तलिखित श्री गुरुग्रन्थ साहेब शोभायमान छन्। यसले सिख पन्थको प्राचीनतालाई झल्काउँछ।
श्री गुरुनानक देवजीले वैशाख २०, संवत् १५२६ (अप्रिल १५, १४६९)को शुभ अवसरमा लाहोरको नजीकै तलबन्डी नामको गाउँमा अवतार लिनुभएको थियो। कालान्तरमा उहाँको प्रकाशोत्सव जन्मजयन्तीलाई हरेक वर्ष कात्तिक पूर्णिमाको दिन विश्वभरि मनाइने गरिन्छ। उनको अवतार भूमि भएको कारणले यस गाउँको नाम ननकाना साहेबको नामले प्रख्यात छ। श्री गुरुनानक जयन्तीको बेलामा यस पुण्य स्थानमा दुनियाँका कुना–कुनाबाट सिख तथा अन्य धर्मावलम्बीहरू पुग्ने गर्छन् तथा उहाँको नाममा आफ्नो श्रद्धासुमन अर्पित गर्छन्। ननकाना साहेब पहिले भारतमा थियो तर विभाजनपछि अहिले यो पाकिस्तानमा अवस्थित छ।
उहाँको पिताको नाम कल्याणदास मेहता (कालुचन्द बेदी) तथा माताको नाम तृप्ता थियो। पिता तलबन्डीका शासक रायबुलारकहाँ सबैभन्दा ठूलो पदमा काम गर्नुहुन्थ्यो। बालक नानकको एक दिदी बिबी नानकी पनि थिइन्। बालक नानक देवजीले बच्चादेखि नै अनौठा कुराहरू गर्नुहुन्थ्यो। जब उहाँ जन्मिनुभएको थियो, त्यतिखेर प्रसूतिगृह अलौकिक ज्योतिले जगमग भइरहेको थियो। उहाँको टाउकोवरिपरि तेज प्रकाश चम्किरहेको थियो। अनुहारमा शान्ति तथा मधुर मुस्कान छाएको थियो। जन्मको समयमा अन्य बालकहरू रोइरहेका हुन्थे तर उहाँ चाहिं हाँसिरहनुभएको थियो। यिनका मातापिता पनि यी सबै देखेर आश्चर्य भएका थिए। अन्य अरूले जसले पनि सुने, देखे सबै दङ्ग परे। मातापिताले बुझेकी यसमा भगवान्को कुनै रहस्य छ, उनीहरू आफ्नो यस्तो विलक्षण छोरोलाई पाएर अति खुशी भए। मातापिताले खुशी भई गरीबहरूलाई स्वादिष्ट भोजन तथा वस्त्रहरू वितरण गरे। धेरै दिनसम्म पूजापाठ पनि लगाएका थिए। चाँडै नै आमाबुबा तथा अन्यले महसूस गरे कि भविष्यमा यिनी ठूलो महापुरुष बन्नुहुने छ। मातापिताले बालक नानकको भविष्यवाणी बुझ्नको लागि पण्डित हरदयाल ज्योतिषीलाई बोलाए, ज्योतिषीले बालक नानकको चिनो देखेर हैरान भए। चिनोमा बालक नानकको महापुरुष बन्ने सबै गुण तथा लक्षण देखियो। पण्डित हरदयालले घरका सबै व्यक्तिलाई भने– यो बालक अति भाग्यमानी छ। यसले आफ्नो प्रतापले एक दिन विश्वको जनजनको ह्दयमा राज्य गर्नेछ। मानिसहरूले यसको पाउमा टाउको राखेर धन्य हुनेछन्। सबै जाति तथा धर्मका व्यक्तिहरूले यिनको आदर–सम्मान गर्नेछन्। साँच्चै नै ज्योतिषीको कुरा सत्य साबित भयो।
श्री गुरुनानक देवजी महाराजको पावन पवित्र प्रकाशोत्सवको जन्मजयन्ती कात्तिक पूर्णिमामा सबैलाई हार्दिक बधाई तथा शुभकामना। हाम्रो देशमा सुख–शान्ति छाओस्, एकापसमा सामाजिक सद्भाव तथा परस्पर भाइचाराको वातावरण सधैं कायम होस्। सतगुरुजीको कृपाले सबै महामारी तथा प्राकृतिक प्रकोपबाट जीव प्राणीहरूको रक्षा होस् भनी प्रार्थना गरौं।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्