विकलाङ्गता र शिक्षा

54

अनन्तकुमार लाल दास

नेपाली शब्दकोश अनुसार विकलाङ्ग भनेको शरीरको कुनै अङ्ग बेकम्मा भएकोलाई जनाउँछ। विकलाङ्गहरूको लागि शिक्षाको विशेष व्यवस्था हुनुपर्छ तर उनीहरूलाई शिक्षित गर्न सबैभन्दा ठूलो कठिनाई उनीहरूलाई बच्चा ठान्नु हुनेगर्छ। हामीले उनीहरूका लागि ‘मोटो केटा’ वा ‘मन्दबुद्धि केटी’जस्ता शब्दहरूको प्रयोग गर्छौ। तर बुझ्नुपर्ने कुरो के हो भने विकलाङ्ग केटा वा केटी सबैभन्दा पहिले एउटा बच्चा हो। यो यस कारणले कि विकलाङ्गताबारे हाम्रो दृष्टिकोण चिकित्सीय वा मेडिकल बढी छ। यस कारणले पनि होला समाजमा विकलाङ्ग केटाकेटीहरूलाई लुकाउने चलन छ। यस्तो आज पनि देखिन्छ तर यो साधारण कुरो होइन। हुनत आज पनि यस्ता धेरै परिवार छन्, जसका केटाकेटी गम्भीर रूपले विकलाङ्ग छन् तर न उनीहरू यसबारे कुरा गर्छन्, न केटाकेटीहरूलाई नै केही गर्न दिन्छन्। यस्तो यस कारणले पनि हुन्छ कि उनीहरू त्यस्ता केटाकेटीहरूलाई बाहिरी दुनियाँबाट बचाएर सुरक्षित राख्न चाहन्छन् वा उनीहरूसँग संसाधनको अभाव हुन्छ। कैयनपटक अरूले के भन्छन् भन्ने डरले पनि हुन्छ। तिनीहरूलाई सहयोगको आवश्यकता हुन्छ तर समस्या बुझेर सहयोग गर्ने मानिसको हाम्रो समाजमा अभाव छ।
विकलाङ्गताको चिकित्सीय समाधान पनि छ तर केही यस्ता कुरा पनि छन् जसको इलाज सम्भव छैन। यस कारण त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसबारे जान्न आवश्यक छ। यो पनि कुनै बिरामीको इलाज गर्नुजस्तै हो। यस्ता केटाकेटीहरूको लागि केही विशेष कुरा आवश्यक हुन्छ तर उनीहरूलाई पनि अन्य केटाकेटी सरह नै शिक्षित गर्ने र शिक्षाको अवसर प्रदान गर्ने पहिलो आवश्यकता हो, किनभने तिनीहरूमा पनि केही क्षमता र केही कठिनाई हुन्छ। कैंयनपटक परिस्थितिले पनि समस्या बढाउने काम गर्छ। उदाहरणको लागि तपाईंको आँखामा केही तकलीफ छ र तपाईं कक्षामा सबैभन्दा पछिल्लो बेंचमा बस्नुभएको छ। किताबका अक्षरहरूको आकार सानो छ र कसैले पनि तपाईंलाई चश्मा दिलाउने प्रयास गर्दैन भने यो स्यानो समस्या एउटा ठूलो समस्यामा परिणत हुन सक्छ, तर तपाईंले चश्मा पाउनासाथ सबैथोक बदलिन सक्छ। यस प्रकार केही परिस्थितिलाई सजिलै र राम्ररी व्यवस्थापन गर्न सकिन्छ।
विकलाङ्ग केटाकेटीहरूलाई सहयोग गर्ने तरीका बुझ्नका लागि सम्बद्ध व्यक्ति प्रशिक्षित हुनु आवश्यक हुन्छ। हुनत कक्षाका विद्यार्थीहरूलाई पनि प्रबन्धन गर्न सहयोगको आवश्यकता हुन्छ तर विकलाङ्ग केटाकेटीहरूलाई सिकाउन एउटा बेग्लै दृष्टिकोण आवश्यक पर्छ। हाम्रो देशमा विकलाङ्गहरूका लागि पर्याप्त शैक्षिक संस्थानको अभाव छ। तिनीहरूका लागि एउटा यस्तो ठाउँ आवश्यक हुन्छ जुन संरक्षित, सुरक्षित, ध्यान दिने खालको र प्रतिबद्ध हुनुपर्छ। एउटा यस्तो ठाउँ जहाँ तिनीहरूका लागि चाहिने पर्याप्त सुविधा उपलब्ध होस्। यहाँबाट निस्केपछि उनीहरू पनि यस देशको नागरिकको रूपमा र समाजको सदस्यको रूपमा विभिन्न गतिविधिमा भाग लिन सकून्। यस्ता संस्थानबाट शिक्षित भएर निस्कने प्रत्येकले बाहिरी दुनियाँमा उनीहरूजस्ता अरू मानिस पनि छन् भन्ने ठान्छन् भने उनीहरूमा आत्मविश्वास पलाउँछ। मूल कुरो हो भने उनीहरू पहिले केटाकेटी हुन्। विकलाङ्गता भन्ने कुरो पछि आउँछ र जसरी हामी अन्य केटाकेटीहरूको व्यवस्थापन गर्छौ त्यस्तै उनीहरूको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ।
फरक के हो भने हामी उनीहरूको लागि अलि बढी प्रयत्न गर्छौ किनभने यो उनीहरूको अधिकार पनि हो। ध्यान के राख्नुपर्छ भने उनीहरूमा बढी ध्यान दिंदा अनपेक्ष्Fित उदारता वा सहानुभूतिको आभास नहोस्। यसबाट उनीहरूको पनि समाजमा स्थान छ भन्ने कुरो स्थापित हुन्छ र यो अधिकार उनीहरूसँग कसैले पनि खोस्न सक्दैन। यस्ता केटाकेटीहरूको शिक्षा कस्तो हुनुपर्छ भन्ने कुराको छनोट गर्ने अधिकार अन्य केटाकेटी सरह नै उनीहरूलाई स्वयं वा परिवारको हुनुपर्छ। यदि परिवारले उनीहरूलाई अन्य केटाकेटीहरू पढ्ने विद्यालयमा नै पढाउने छनोट गर्छ भने उसलाई चाहिने कुरा उपलब्ध गराउने जिम्मेवारी विद्यालय र राज्यको हुन जान्छ। यदि परिवारले उनीहरूलाई अन्य प्रकारको विकलाङ्गता भएको विशेष स्कूलमा शिक्षा दिन ठीक ठान्छन् भने यो सुविधा उनीहरूलाई उपलब्ध गराउनुपर्छ। यदि कसैलाई लाग्छ, उसको सन्तान भौतिकरूपले विद्यालय शिक्षासम्म पुग्न असमर्थ छ भने त्यस्ता केटाकेटीको लागि घरमैं हेरविचार गर्ने सुविधा उपलब्ध गराउनुपर्छ। सम्भव भएसम्म उनीहरूलाई समावेशी व्यवस्थाको हिस्सा बनाउनुपर्छ।
यसको अर्थ मस्तिष्क खुला राख्नु, उनीहरूलाई सामान्य केटाकेटीहरूजस्तै ठान्नु, उनीहरूको शारीरिक आवश्यकता अनुसार सहयोग उपलब्ध गर्नु र भौतिक पहुँच अर्थात् पाठ्यक्रमसम्बन्धी पहुँच प्रदान गर्नु। पाठ्यक्रमसम्बन्धी पहुँचको अर्थ स्तर कम नगरी पूर्ण शिक्षा हासिल गर्न सकून् भन्ने कुरालाई ध्यानमा राखी पाठ्यक्रम समायोजन गर्नु हो। खेलको मैदान होस् वा प्रयोगशाला वा परीक्षा प्रणाली सबै उनीहरूको अनुरूप बनाउनुपर्छ भने बनाइनुपर्छ। शिक्षाको अधिकार अन्तर्गत कुनै पनि विद्यालयले कुनै पनि केटा वा केटीलाई ‘नाइँ’ भन्न मिल्दैन। तर आमाबुवा, विद्यालय वा प्रणालीको लागि यो धेरै कठिन कुरो हो। यसको लागि सबैभन्दा पहिले त्यस प्रकारको दक्षता हुनुपर्छ, जुन विकलाङ्ग केटाकेटीहरूसँग काम गर्नको लागि आवश्यक हुन्छ। नियमित विद्यालयको लागि यो असम्भव कुरो हो।
एउटा काम, जुन हामी गर्न सक्छौं त्यो के हो भने शिक्षक प्रशिक्षणको क्रममा नै विकलाङ्ग केटाकेटीहरूको साथ कसरी काम गर्ने भन्ने अभ्यास गराउनुपर्छ किनभने नियमित विद्यालयमा एक वा दुईमात्र विकलाङ्ग बच्चा हुन सक्छ जसलाई सजिलै सम्भाल्न सकिन्छ। यस कारण शिक्षकहरूले विकलाङ्गताको स्थितिमा केटाकेटीहरूलाई कसरी सम्भाल्ने भन्ने केही सीप अवश्य सिक्नुपर्छ। यस्ता ससाना कुराहरू जसलाई व्यावहारिक रूपले गर्न सजिलो छ। उदाहरणको लागि यदि कसैको दृष्टि कमजोर छ भने त्यस्तालाई पहिलो बेंचमा बसाउने। यहींनिर वर्तमान पाठ्यक्रम र मूल्याङ्कन प्रक्रियामा ध्यान दिन आवश्यक हुन्छ। हामीले वैकल्पिक शिक्षण र मूल्याङ्कन विधिको नयाँ बाटो खोज्नुपर्ने हुन्छ। यस कार्यमा हाम्रो सहायताका लागि दुनियाँभरिमा पर्याप्त शोध गरिएको छ। हामीले विकलाङ्ग केटाकेटीहरूको लागि यस्तो प्रणाली विकसित गर्नुपर्छ जसलाई गर्दा विकलाङ्गहरूले अवसर र प्रोत्साहन पाउन सकून्।
किशोरावस्थामा विकलाङ्ग केटाकेटीहरू कस्तो अनुभव गर्छन् भन्नेबारे पर्याप्त ज्ञानको अभाव छ। उनीहरूको शरीर, भावनात्मक जीवन, शारीरिकरूपले विकलाङ्ग तर तीव्र दिमाग भएका केटाकेटीहरू, बौद्धिकरूपले अक्षम केटाकेटीहरूको साथ किशोरावस्थामा के हुन्छ ? उनीहरूको भावनात्मक प्रतिक्रिया, बदलिंदो विचार, सुन्दरताबारे बुझाइ, यौन आकर्षण, शरीरमा हुने परिवर्तन जस्ता कुराबारे हाम्रो बुझाइ प्रस्ट छैन। विकलाङ्ग केटाकेटीहरू बेग्लै खालका हुन्छन् भन्ने मात्र हाम्रो बुझाइ हुन्छ। हामी विकलाङ्ग केटाकेटीहरूलाई किशोरावस्था र युवावस्थाको लागि तयार नै गर्दैनौं। जो केटाकेटी स्वयं जीवनयापन गर्न सक्षम छन् उनीहरूलाई पनि हेरचाह र संरक्षणको आवश्यकता हुन्छ भने विकलाङ्गहरूप्रति अनुचित व्यवहारको खतरा सधैं हुन्छ। यस कारण अरूको तुलनामा उनीहरूलाई बढी सुरक्षाको खाँचो हुन्छ। केही ससाना कुरा, जसलाई आमा वा बच्चा स्वयं वा साथीहरू गर्न सक्छन् प्रायः हामी बिर्सने गर्छौं। विकलाङ्ग केटाकेटीहरू विषम परिस्थितिको सामना गर्न सक्दैनन् भनी सोच्नु उनीहरूको गरिमाको अपमान गर्नु जस्तै हुन जान्छ।
तर एकपटक विकलाङ्ग बच्चाको पहिचान भएपछि शिक्षकलाई उनीहरूको लागि चाहिने संसाधनको पहिचान गर्ने क्षमता हुनुपर्छ। यहींनिर के प्रश्न उठ्छ भने विकलाङ्ग केटाकेटीहरू जो आफ्नो अधिकारको लागि लड्न सक्दैनन् उनीहरूलाई कसरी सशक्त बनाउने ? यसको लागि अभिभावकहरू नै सबैभन्दा पहिले अघि सर्नुपर्छ किनभने उनीहरूले नै यस स्थितिलाई महसूस गर्छन् र उनीहरूको लागि सङ्घर्ष गर्छन्। त्यसपछि विकलाङ्गहरू जसले शिक्षा हासिल गरेका छन् र जो समुदायको साथमा काम गर्न चाहन्छन् र जसले एकताबद्ध आवाज उठाउने कुरालाई महसूस गरेका छन्, उनीहरूलाई अगाडि ल्याउनुपर्छ। अन्त्यमा त्यस्ता सङ्गठनहरू जसले विकलाङ्ग केटाकेटीहरूसँग वर्षौंदेखि काम गरिरहेका छन्, उनीहरूले विकलाङ्गहरूको आवाजलाई प्राथमिकता दिनुपर्छ। कैयनपटक परिवारलाई नै के कुरा उपलब्ध छ भन्ने थाहा हुँदैन र यस्ता कुराहरूको लागि वित्तीय र भौतिक पहुँच पनि सीमित नै हुन्छ। यस कारण प्रणाली परिवारसम्म पुग्नुपर्छ, परिवार प्रणालीसम्म पुगोस् भन्ने अपेक्षा राख्नुहुन्न। यो जिम्मेवारी राज्यको हो तर हाम्रो देशमा राज्यको ध्यान यसतर्फ गएको देखिंदैन। यसबारे आमाबुवाले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। अन्त्यमा हामीसँग विकलाङ्गहरूको विश्वसनीय तथ्याङ्कको अभाव छ। यस कारण सबैभन्दा पहिले विद्यालयमा कति विकलाङ्ग केटाकेटी छन्, उनीहरूको साथ के भइरहेको छ, को–को विद्यालय गइरहेका छन् र को गइरहेको छैन भन्नेबारे सही तथ्याङ्क तयार गर्नुपर्छ, अनि मात्र उनीहरूलाई उचित शिक्षा प्रदान गरी राम्ररी व्यवस्थापन गर्न सकिन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्