ग्रामीण क्षेत्रबाट पनि लोप हुँदैछ सामा–चकेवा

75

प्रस, गरुडा, १४ मङ्सिर/
तराई–मधेसमा कात्तिक शुक्ल पक्षमा किशोरीहरूले मनाउने सामा–चकेवा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ। साँझको समयमा हरेक गाउँटोलमा गीत गाउँदै सामा चराउन हिंड्ने किशोरीहरूको दृश्य अब गाउँघरमा पनि दुर्लभ हुँदै गएकोमा संस्कृतिप्रति चासो राख्नेहरू चिन्ता व्यक्त गर्न थालेका छन्।
तराई–मधेसको एउटा लोकसंस्कृति नै हराउन थालेकोमा सर्लाहीको मलङ्गवाका पूर्व स्रो व्यक्ति तथा अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्रमहतो कुशवाहा चिन्ता व्यक्त गर्दै स्थानीय तहले लोकसंस्कृति जोगाउन ध्यान नदिएकोमा दुःख व्यक्त गर्दछन्।
बज्जिका साहित्य सङ्गम, रौतहटका अध्यक्ष किशुनदयाल यादव श्रीकृष्ण सामा–चकेवा र तराई–मधेसका अन्य लोकसांस्कृतिक पहिचान भत्किंदै जाँदा पनि स्थानीय सरकारहरूको ध्यान नजानु दुर्भाग्यपूर्ण भएको बताउँछन्।
सामा–चकेवा तराई–मधेसको लोकजीवनमा प्राचीनकालदेखि चल्दै आएको विशेष पर्व हो। द्वापर युगमा श्रीकृष्णकी पत्नी जाम्बवन्तीतर्फबाट जन्मेकी छोरी साम्बालाई लोकजीवनमा सामा भन्ने गरिएको र साम्बाको पतिको नाम चारूवाक भएकोले अपभ्रंश भएर लोकजीवनमा चकवा भनिन थालिएको प्रसङ्ग पाइन्छ। कृष्णको श्रापले छोरी र ज्वाइँ चरा बन्न पुगेकाले सामा–चकेवा पर्व मान्नेहरूले चराको स्वरूपमा पूजा गर्ने गरेको विश्वास रहेको छ।
चराको स्वरूपबाट फेरि मानिस बन्न पुगेको गाथा रहेको सामा–चकेवा कात्तिक महीनाको शुक्ल पक्षमा किशोरीहरूले मनाउने लोकसंस्कृति हो। यो संस्कृति कुन दिनदेखि मान्ने भन्ने विषयमा मतभिन्नता देखिन्छ। कतिपय ठाउँमा भाइटीका (भैयादूज), कतिपयको मान्यतामा कात्तिक शुक्ल पञ्चमी र कतिपयले कात्तिक शुक्ल सप्तमीदेखि सामा–चकेवा मनाउने गरिए पनि समापन भने कात्तिक शुक्ल पूर्णिमाकै दिन हुने गर्दछ।
हिन्दू धर्म मान्ने तराई–मधेसका सबै समुदायको साझा संस्कृतिको रूपमा रहेको सामा–चकेवामा माटोको सानासाना मूर्ति बनाई ढक्कीमा राखेर लोकगीतहरू गाउने चलन छ। पूर्णिमाको दिन सामा–चकेवाको विसर्जनलाई विशेष उत्साहका साथ लिने गरिन्छ।
ग्रामीण समुदायबाटसमेत सामा–चकेवा हराउँदै गएकोमा कलैयाका रामेश्वर गुप्ता चिन्ता व्यक्त गर्दै भन्छन्– सामा–चकेवाजस्तो सभ्य लोकसंस्कृति जोगाउन वर्तमान अवस्थामा ठोस कदम नचालिए छिटै हराएर जाने खतरा छ।
सर्लाही, रौतहट तथा बारा जिल्लाको थारू समुदायमा केही हदसम्म जीवित रहेको सामा–चकेवा थारू समुदायबाट पनि हराउने चिन्ता बढ्दै गएको छ। सामा–चकेवा विसर्जन हुने कात्तिक शुक्ल पूर्णिमाको रात थरुहटमा अझै पनि उत्सव मनाउने र मेला लगाउने चलन रहेको रौतहटको गुजरा नगरपालिकाका शिक्षक नरेन्द्र चौधरी बताउँछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्