आमाबुबा र भिनाजुको योजनामा अमृताको हत्या

0
71

प्रस, रौतहट, १४ मङ्सिर/
माधवनारायण नगरपालिका–७ लौकाहामा गत कात्तिक २६ गते गोली हानी अमृताकुमारी साहको हत्या भएको घटनामा आमा, बुबा, भिनाजुलगायत पेशेवर अपराधीहरूको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।
आइतवार पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आमा, बुबा र भिनाजुको योजनामा पेशेवर अपराधीहरू परिचालित गरी अमृताको हत्या भएको र सो घटना सम्बन्धमा आमा सीतादेवी साह, बुबा रामअयोध्या साहसहित ६ जना पक्राउ परेको र उनीहरूलाई अदालतबाट ज्यानसम्बन्धी कसूरमा ७ दिनको म्याद थपी थप अनुसन्धान भइरहेको बताए।
पक्राउ पर्नेमा छोटेलाल साह, शेख अलियास, इस्लाम अन्सारी र शेख इम्ताज अन्सारी छन्। घटनामा संलग्न थप दुईजना भिनाजु लक्ष्मण साह र कैमुल फरार छन्।
प्रउ शाहले हत्यामा संलग्न अभियुक्तहरूले प्रहरीसमक्ष अपराध स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी गराए। उनले मृतक अमृता र सोसिन्द्र भन्ने व्यक्तिबीच प्रेम सम्बन्ध रहेको र सो कुरा आमाबुबालगायतलाई पाच्य नभएपछि भिनाजु लक्ष्मणको सहयोगमा हत्या योजना बनाइएको बताए। सोसिन्द्रसँगको प्रेम सम्बन्ध जोडिए गाउँ, समाजमा इज्जत जाने भन्दै आमाबुबाले अमृताको बिहा गत वर्ष फागुनमा सर्लाहीका रूपेश साहसँग गराएका थिए। यसैबीच, रूपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भएको र सो घटनापछि रूपेशले अमृतासँग २०७७ असारमा सम्बन्ध विच्छेद गरेका थिए।
यस सम्बन्धमा रूपेशले सर्लाहीमा अमृता र उनका प्रेमी सोसिन्द्र भगतविरुद्ध ज्यान मार्ने उद्योग दर्ता गराएको प्रउ शाहले बताए। विवाहपूर्व तीन वर्षदेखि अमृता र सोसिन्द्रबीच प्रेम सम्बन्ध थियो।
पहिलो योजना अनुसार कात्तिक ९ गते महानवमीको दिन अमृतालाई उपचारको लागि भारत लगिएको र त्यहीं मार्ने प्रयास भएको थियो तर हत्या गर्न १ लाख ५० हजार रुपैयाँ बुझेका छोटेलाल साहबाट हत्या प्रयास असफल भएपछि कात्तिक २६ गते घरमा गोली हानी हत्या गरिएको प्रउ शाहले बताए।
यो घटनामा कैमुल देवानलाई एक लाख रुपैयाँ दिएको अभियुक्तहरूले प्रहरीसमक्षको बयानमा स्वीकारेको प्रउ शाहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्