महानगरले सहकारी ऐन बनाइरहेको छ –नगरप्रमुख सरावगी

0
54

प्रस, वीरगंज, १३ मङ्सिर/
गरीबले रगत बगाएर जम्मा गरेको रकम सहकारी संस्थाहरूले हिनामिना गर्न नपाउने गरी महानगरपालिकाले ऐन तयार पारिरहेको नगरप्रमुख विजयकुमार सरावगीले बताएका छन्।
वीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं साधारणसभामा नगरप्रमुख सरावगीले नियमावली बन्ने कार्य शुरू भइसकेको र यसबारेमा सहकारीकर्मीहरूसँग सहकार्य गरी महानगर अगाडि बढ्ने बताए। उनले सहकारीले युवाहरूलाई रोजगार दिंदै आएकोमा धन्यवाद पनि दिए। उनले सहकारीलाई महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे। सहकार्य गर्दा महानगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिए।
उद्घाटन समारोहमा संस्थाका सचिव गोविन्दप्रसाद श्रेष्ठले आव २०७६/२०७७ मा रु ३६ लाख मुनाफा भएको र मुनाफामध्ये रु १२ लाख शेयरधनीलाई लाभांशको रूपमा वितरण गरेको  जानकारी गराए। उनले सहकारी गत आवमा करीब रु १८ करोडको कारोबार गरेको बताए। संस्थाका अध्यक्ष डिल्लीविक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शम्भुप्रसाद गुप्ता, राजेश पण्डित, रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उद्घाटन सत्रमा डा नीरज सिंह, डा उदयनारायण सिंह र रेडियो वीरगंजका अध्यक्ष साहलाई दोसल्ला ओढाएर नगरप्रमुख सरावगीले सम्मानित गरेका थिए। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्