हे ! छठीमाई !!

88

मुकुन्द आचार्य

प्रायः सर्वमान्यजस्तै यौटा मान्यता के छ भने हरेक समाजमा केही चाडबाड, पर्व, उत्सव त हुन्छन् नै र ती उत्सव, चाडबाडको जन्म चैं सम्बन्धित समाजलाई स्वस्थ मनोरञ्जन दिनु नै हो। सँगसँगै त्यसबाट शिक्षा प्रेरणा पनि पाइन्छ भने त्यो त झन् सुनमा सुगन्ध भइहाल्यो नि १ रौंचिरा विवाद र विरोध गर्नेहरूलाई टाढैबाट प्रणाम छ।
तराईतिरको लामो जीवनयापनका क्रममा ‘हे छठीमाई !’ को गुहार, पुकार लाएर अनेकथरी माग प्रस्तुत गरेको अथवा कसैको उछित्तो काढ्नु छ भने छठीमाईको पुकारा गरेर, सरापेको पनि प्रशस्तै दृश्यहरू देख्न, सुन्न पाइन्थ्यो। हाललाई यस प्रवृत्तिलाई वा प्रचलनलाई सामाजिक अस्वस्थ मनोरञ्जनकै रूपमा मान्दा हुन्छ। लागेको बानी, समाजले पनि छोड्न सक्दैन।
षष्ठी तिथि नै ‘छठी’ भएर लोकमा प्रसिद्ध भएको हुन् भन्ने मान्यता त छँदैछ। छठीमाताले माफ गरून्। छठीमाताको प्रसाद भन्दै ठेकुवा एक महीनासम्म खाने, ख्वाउने चलन हाम्रो समाजमा देखिन्छ। महीना दिनसम्म दिउँसोको खाजा ठेकुवै हुन्थ्यो। तर अब त्यो रमाइलो चलन पनि हराउँदै जान थाल्यो। कस्तो दुःखको कुरा !
तराईमा छठदेखि जाडोयामको थालनी हुन्छ, यो मान्यता अझै पनि ज्यूँका त्यूँ जिउँदै छ। छठकै बेला, जाडोको स्वागत गर्दै रसिकजनहरू स्वेटर, मफलर, कोट आदि परिधान लाउन शुरू गर्थे। अर्थात् छठको मतलब ‘जाडो आयो है, सावधान होऊ’ भन्ने सन्देश हुन्थ्यो।
अब त समय बदल्यो, विचार बदल्यो, मान्छेका आनी–बानी, सानी–पानी, पिउनी–खानी सबै बदलियो। अबको मान्छेले छठको ठेकुवा खानु साटो सडकछेउमा उभिएर लिट्टी खाला, तर आफूलाई ‘मोर्डन स्मार्ट’ भनाएर छाड्छ। गोजी बलियो छ भने ठेकुवाको साटो पिज्जा, बर्गर, सेकुवा र महँगो दामी स्कच खाने जमाना आयो। ठेकुवा खानेलाई त अचेल गँवार भन्न बेर लाउँदैनन्। सावधान ठेकुवाप्रेमीहरू !
हामीकहाँ देवीदेवताहरूको भेराइटी पाइन्छ। गणेशभक्तहरू उत्तिकै छन्। ओम गं गणपतये नमः १ ओम नमः शिवायको शक्ति प्रदर्शन साउन महीनामा हेर्नू। दशैं आयो, श्री दुर्गादेव्यै नमो नमः। निर्धो जीवजन्तुलाई बलि दिएर हामी आफूलाई खुबै स्मार्ट भएको देखाउँछौं।
अझ पनि गाउँघरमा कसैलाई सराप्नु प–यो भने हाम्रा मातृशक्तिहरू छठीमाईसँग मदत माग्छन्। ‘छठीमाई १ फलनवा के बेटा उफर पर जाओ ! (फलानोको छोरालाई…!) अचम्म लाग्छ, ममतावती माताहरू नै अर्काको सन्तानलाई सखाप पार्ने सराप दिन्छन्। के कस्तो सीमित स्वार्थी र सङ्कुचित ममत्व !?
त्यसो त हाम्रा पुराना शास्त्रीय ग्रन्थहरूमा पनि तामसी विधा भनेर मारण उच्चाटन आदि निम्न श्रेणीका तन्त्र, मन्त्रहरूको सविधि उल्लेख गरेको पाइन्छ। तर शास्त्रकारले यस्ता मन्त्रहरू–तन्त्रहरूलाई प्रोत्साहित हैन कि निरुत्साहित–दुरुत्साहित गरेकै पाइन्छ। तसर्थ कसैलाई पनि सराप्नु किमार्थ राम्रो हैन। देवदेवी त सबैका मातापिता हुन्। कुनै पनि मातापिताले आफ्नो सन्तानको कुभलो झट्ट चिताउँदैनन्।
तसर्थ गढीमाई, छठीमाई, गहवामाई, राजदेवीमाई, बिर्तामाई, विन्ध्यवासिनीमाई, शीतलामाई– कुनै पनि माईलाई गलत काम गर्न, गराउन उत्प्रेरित गर्नु भनेको आफूले आफैंलाई ठूलो मूर्ख बनाउनु हो। देवीदेवता साँच्चिकै चौबीस कैरेटका हुन् भने तिनले कसैको कुभलो कदापि चिताउँदैनन्। यति मोटो कुरो त मोटो दिमाग भएकोले पनि बुझ्नैपर्ने होइन र ? कुपुत्र हुन सक्छन् तर कुमाता कदापि हुँदैनन्।
फेरि अचेल हरेक काममा, उत्सव आदिमा हार्दिकताको साटो बाहिरी साजसज्जा, शृङ्गार, सजधज, धूमधामको प्रचलन बढ्दो छ। कैयौं लाख खर्च गरेर जलाशय, घाट आदिलाई विद्युतीकरणको झिलीमिली सजावट गर्नु, भव्य पण्डालको निर्माण, अनावश्यक खर्चहरू कटौती गरी अन्य कुनै जरुरी राम्रो स्थायी काम गर्दा माई खुशी हुने थिइन् कि ?
ठेकुवा चपाउँदा, कसार टोक्दा, नरिवल अर्काको खप्परमा फोर्दा– यी कुरातिर पनि ध्यान गयो भने त सकिगयो नि। हाम्रा सबै चाडबाडलाई समय अनुसार रचनात्मक, व्यावहारिक, मितव्ययी बनाउन सके भविष्यका हाम्रा सन्तानले ‘थ्याङ्क यू १’ भन्ने थिए कि ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्