अवमूल्यनमा परेको मानिस

0
43

शीतल गिरी 

एक योद्धाको सम्झना आउँछ। हिमालको चिसो काखमा रहेको सिह्रानचोकमा विसं १८०८ मा जन्मेका थिए। रञ्जै बगाले थापा क्षेत्रीका नाति भीमसिंह थापाका छोरा अमरसिंह थापा। नेपालको इतिहासमा अमर बने पनि कहीं कतै उनको कदर गरिएको पाइएको छैन। इतिहासका योद्धालाई नेपालका विगतदेखि वर्तमानका शासकले किन बेवास्ता गरेका हुन्, थाहा हुन सकेन। यिनका पिता भीमसिंह थापा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सेनामा उमराव थिए। पिताले युद्धमा वीरगति प्राप्त गरेपछि विसं १८२० मा बा–ह वर्षको उमेरमा अमरसिंह थापा सेनामा भर्ना भए। यिनी पृथ्वीनारायण शाहको शिक्षादीक्षामा हुर्किए। यिनमा रहेको अद्भुत प्रतिभा हिमाली राज्यलाई एक ढिक्का बनाउनमा लगाए। अद्भुत प्रतिभाका धनी भएर पनि यिनी इतिहासमा निरीह देखिन्छन्। एकीकरणकालीन नेपालको इतिहासका पानामा अमरसिंह थापा नामका भारदारहरू दुईजना देखा पर्छन्। यी अमरसिंहले एकीकृत नेपाललाई स्वर्ग बनाउन चाहेका थिए।  
एकजना अमरसिंहले विसं १८२५ मा सरदारको पदवी पाए भने अर्का विसं १८५५ मा सरदार बने। यिनका बीच विभेद गर्न विसं १८५५ देखि एउटालाई “बडा काजी” त अर्कालाई “छोटा काजी” अमरसिंह थापाबाट सम्बोधन गर्न थालिएको इतिहासका दस्तावेजहरूले देखाउने गर्छन्। “विदेशीसित व्यापारिक सन्धि गरेर देशको रगत चुसाउनुहुँदैन” भनेर अङ्ग्रेजसँग रिसाएको सन्धिको यिनले विरोध गरेका थिए। तर देशभक्तप्रति सहानुभूति दर्शाउनुको साटो प्रधानमन्त्री दामोदर पाण्डेले समातेर जेलखानामा थुने। स्वामी महाराज रणबहादुर शाहले ब्रह्मपुत्रसम्म जय गर्ने वीर अमरसिंहलाई जेलखानबाट मुक्त गरे। मुक्त गरिएका यिनी काँगडाका राजा संसारचन्द्रलाई तह लगाउन खटिए।
यी अमरसिंह थापा विसं १८५५ मा “सरदार” दर्जा पाउने बडाकाजी हुन्, जसको नेपालको राष्ट्रिय एकीकरण अतिरिक्त ई. १८१४–१६ को नेपाल–अङ्ग्रेज युद्धमा नेतृत्वदायी भूमिका रह्यो। प्रस्टै भन्नुपर्दा उक्त युद्धको पश्चिमी मोर्चाको कमान्ड नै यी अमरसिंह थापाको हातमा रह्यो भने यस युद्ध अवधिमा यिनले युद्धका केही मानक मात्र स्थापित गरेनन्, सँगसँगै युद्ध कूटनीतिको नेपाली मानक पनि यसै कालावधिमा ठोस बन्यो।  
सम्पूर्ण विश्वले के थाहा पायो भने नेपालीहरू आफ्नो देश र सार्वभौमिकताका लागि जस्तोसुकै बलिदान गर्न पनि तत्पर छन्। यी प्रसङ्ग, योगदान र भूमिका नै यस्ता हुन्, जसले गर्दा अद्यावधि अमरसिंहहरूको उल्लेखनीय मूल्याङ्कन र विवेचनाहरू सामयिक र सान्दर्भिकसमेत बन्ने गर्छन्। यिनले अलमोडा, कुमाउँ, गडवाल, काँगडालाई एकीकरण गरी नेपालमा मिलाएका थिए।  
अमरसिंहहरूले गरेको योगदानको कारण अहिलेको पुस्ताले तत्कालीन पुस्ताबाट भए गरेका त्याग, बलिदानबाट वाञ्छित शिक्षा, प्रेरणा एवं पौरुष्य आदि प्राप्त गरेर यो राज्य सुरक्षित र सुखी बनाऊन्।  
पृथ्वीनारायण शाहको सेनामा रहेका प्रतापी योद्धा रञ्जै थापाका छोरा भीमसिंह थापाको सम्झना गर्दैछु। शत्रुविरुद्ध बाघ भई झम्टने स्वभावका भएबाट पृथ्वीनारायणले यिनलाई “बाघ भीमसिंह” भन्ने उपनामसमेत दिएका थिए। यिनै बाघ भीमसिंहका छोरा अमरसिंहले भारतमा रहेको अङ्ग्रेजलाई हिमाली क्षेत्रमा प्रभुत्व फैलाउन रोके। नेपाल र भारतको दोसाँधका गाउँलेहरूमा झगडा चल्यो। भारतमा शासन गरेका अङ्ग्रेजले “बुटौल र स्यूराज” हाम्रो भने। अङ्ग्रेजसँग कटक नगर्ने नीति लिएको नेपालले सैयौं गाउँ छाडिदिएको थियो। तर अङ्ग्रेजले १८७१ सालमा युद्धको घोषणा ग–यो।
दरबारमा गुरु रङ्गनाथ, दलभञ्जन पाण्डे, रणध्वज थापाहरू युद्धका विरुद्ध थिए। बम शाह, हस्तदल शाही, अमरसिंहले समेत ‘हाम्रोनिम्ति यो मौका अनुकूल छैन, हामी पूरा तैयार छैनौं भन्ने विचारले काम गर्नुपर्दछ, अहिले लड्ने बेला छैन’ भनेर महाराजधिराजलाई पत्र लेखी पठाएका थिए। तर प्रधानमन्त्री भीमसेन थापा “लडाइँ गर्नैपर्छ” भनेर भन्थे। नेपाललाई छुने आजसम्म कसैको आँट पुगेको छैन। एकपटक साहस गरेर चिनियाँहरू आएका थिए, जीतपुरको युद्धमा हार स्वीकारी सन्धि गरी फर्किएका थिए। नेपालीहरूको वीरताले गर्दा अङ्ग्रेजहरू उकालो उक्लँदै आउन सम्भव देखेका थिएनन्। युद्धमा तम्तयार नेपाली सिपाही थिए, जो अरिङ्गालको गोलाझैं आक्रमण गर्न तम्तयार थिए। नेपालको पर्वत वज्र समान बलियो किल्ला अङ्ग्रेजले तोड्न फोड्न अवश्य सत्तैmन। नेपाली आपसमा मिले भने कसैको केही लाग्दैन। आपसमा द्रोह हुन थाल्यो भने हार हात पर्नु स्वाभाविकै हो। विजयको लागि आपसमा मेल सबैभन्दा ठूलो हतियार हो। जब लडाइँ अनिवार्य बन्दै गएको छ भने किन पर्खिने, लडाइँ गरांै– यो भीमसेनको प्रस्ताव थियो। पृथ्वीनारायण शाहको सेनाका शूरवीर लडाकू बाघ भीमसिंहले पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए। त्यस बेलासम्म भीमसिंहका कृष्णहरि, अमरसिंह, नारायण, अकबर र आइमान सिंह गरी पाँच पुत्र जन्मिसकेका थिए।  
समयक्रममा बाघ भीमसिंहका माहिला छोरा अमरसिंह इतिहासप्रसिद्ध भए। इतिहासमा जीवित छन्। अङ्ग्रेजसँग युद्ध गर्न तम्तयार मलाउँमा रहेका अमरसिंहसँग तीन हजार, सुरजगढमा भक्ति थापासित सात सय, घमण्ड थापासित पाँच सय, महानचन्दसित पाँच सय, दख्खिनतिर पाँच सय सिपाही थिए। अमरसिंहमा चौमुखी प्रतिभा थियो। निश्चय नै जनता र सिपाहीसँगको आत्मीय व्यवहार नभएसम्म कोही शीर्ष स्थानमा पुग्न सक्दैन। उनले पत्रमा लेखेजस्तै वास्तवमा नेपाली सिपाहीमा तालीमको कमी थियो। नेपाली सेनाको तैयारी राम्रो थिएन। दरबारको निर्णय स्वीकार गरेर अमरसिंहलगायतका योद्धा युद्धको तयारीमा जुटेका थिए। अमरसिंह जुन किल्लामा जान्थे, त्यहाँका सेनामा उत्साह जगाउँथे। यिनको व्यवहारले सेनामा उत्साह थपिएको थियो। युद्धमा गतिलो हातहतियार र बन्दोबस्तीको पनि आवश्यकता पर्छ।  
अमरसिंहका छोरा रणजोरसिंह जैतक किल्लामा थिए। पृथ्वीनारायणले आफ्नो सेनामा युद्धकालमा वीरगति पाएका योद्धाको स्थानमा उसको पुत्रले स्वतः सैनिकसेवा पाउने नीति लागू गरेका थिए। त्यसैले अमरसिंह थापाले पनि सानै उमेरमा गोर्खाली सेनामा सेवा गर्ने अवसर प्राप्त गरे। जस अनुसार विसं १८१९ को मकवानपुर, त्यसैगरी कीर्तिपुरका युद्धहरूमा, कान्तिपुर, भक्तपुर र पूर्वतर्फ किराँत भूमिका युद्धहरूमा यिनी सहभागी हुन पाए।  
हिन्डुरका राजा रामशरण सिंह मात्र होइन, नेपालमा गाभिएको काँगडाका राजा नाहानका भाइ किसन पनि अङ्ग्रेजसँग मिलेका थिए। अमरसिंह अङ्ग्रेजलाई अल्झाएर आफ्नो सैनिक शक्ति सुदृढ पार्दै थिए। यता अङ्ग्रेज भने नेपालको डन्डा इलाका कब्जा गरी बस्ती बसालेर जिसस क्राइस्टको धर्म प्रचार गर्न चाहन्थे। समुद्रपारबाट आएका अङ्ग्रेज फुटाऊ र शासन गर यस नीतिमा निपुण भएकाले पश्चिमका पहाडी राजालाई आफ्नो हातमा लिन थालेका थिए। ती राजाहरू समुद्रपारका उपहार पाएर तन–मन–धनले अङ्ग्रेजको सहयोग गरेका थिए।  
इतिहासका पुस्तकमा यसबारेमा धेरै कुरा लेखिएको छ। तथापि प्रतापसिंह शाहको समयपछि बडाकाजी अमरसिंह आफ्नो स्पष्ट हैसियत र भूमिकासहित अघि बढे, जसले प्रताप सिंहका पालाको एकमात्र चितवन युद्धमा आफ्नो संलग्नता प्रस्तुत गरे। पृथ्वीनारायणकै जीवनकालको पूर्वतर्फको विजयी अभियानले अमरसिंहलाई सफल सेनानायकको उचाइ प्रदान गरिसकेको थियो। प्रताप सिंहको निधनपछि सत्ता आफ्नो हातमा आलोपालो लिने निजका रानी तथा भाइहरूको नायबीकालमा पनि पूर्वतर्फको सफल सैनिक अभियानको कारण उपेक्षा गर्न सकेनन्। खासगरी रानीको नायबीकालमा थापा भारदारीसभामा समेत सामेल गराइए भने चौबीसी राज्यहरूमाथि आक्रमणको सैनिक अभियानमा पनि सँगसँगै संलग्न गरिए।
स्वयम् पृथ्वीनारायणकालीन गोर्खाली सेनाले चौबीसी अभियानका विजयको अर्थ हुन्थ्यो अमरसिंह थापालगायतका सेनानीहरूकै सैन्य वृद्धि। यही कारणले नेपाल दरबार र सेनामा अमरसिंहको कीर्ति सुवास एवं प्रसिद्धि झन् फैलिंदै गयो। अनेक सैनिक तथा कूटनीतिक कार्यमा उनलाई अघि सार्ने क्रम पनि सोही अनुपातमा बढ्दै गयो। दुःखद पक्ष विसं १८४२ मा रानी राजेन्द्रलक्ष्मीको मृत्युपछि बेतियामा निर्वासित जीवन बिताइरहेका बहादुर शाह काठमाडौं फर्किएपछि पुनः दरबारिया गुटबन्दीको कालो खग्रास अमरसिंहहरूको व्यक्तित्वमाथि लम्किन थाल्यो। क्रमशः

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्