विद्यालय, कोरोना र उपचार

100

अब विद्यालयहरू पनि खुल्न थाले। खोल्नुपर्ने बाध्यता सबैलाई छ, उद्देश्य सबैको छुट्टाछुट्टै भएपनि। लामो समयसम्म विद्यालय बन्द हुँदा निजी विद्यालयहरूको अस्तित्व सङ्कटमा परेको छ। त्यहाँ पढ्ने विद्यार्थीहरूको जीवनको एक वर्ष बर्बाद हुने अवस्था छ। त्यहाँ काम गर्ने शिक्षक, कर्मचारीको रोजीरोटी खतरामा परेको छ। यसरी निजी विद्यालयहरूले अध्ययन–अध्यापनको वातावरण तयार पार्दा सरकारी विद्यालयहरूमाथि पनि नैतिक दबाब बढेको छ। हुनत सरकारी विद्यालयहरू बन्द नै रहँदा विद्यार्थीबाहेकलाई कुनै सङ्कट छैन। न शिक्षकको रोजीरोटी खोसिन्छ, न कर्मचारीकै। उल्टो धमाधम काम गर्न नरुचाउने सरकारी विद्यालयका शिक्षक–कर्मचारीहरूलाई बितेको सात महीना हाइसञ्चो थियो। अब विद्यालयीय शिक्षा स्थानीय सरकारको मातहत भएकोले पनि विद्यालयहरू खुल्न धेरै चिन्तनमनन आवश्यक देखिएन। तर चिन्तनमनन चाहिं हुनैपर्छ। किनकि कोरोना महामारीको तुवाँलो हटिसकेको छैन। कोरोनालाई पिंmजाउने भीडभाडयुक्त ठाउँहरूमध्ये विद्यालय पनि एक हो। तर विद्यालयमा कोरोनाविरुद्ध अनुशासन कायम गर्न अन्य ठाउँको तुलनामा सजिलो छ।

विद्यालयहरू खुल्नुमा कोरोनामाथि विजय प्राप्त गर्ने औषधिको खोजी हुनु एउटा ठूलो कारण हो भने कोरोनाविरुद्ध सेनिटाइज गर्ने नयाँ प्रविधिहरूको पनि विकास भइसकेको छ। कुरा के मात्र भने विद्यालयहरू, अनुगमन गर्ने दायित्व पाएका तीनै तहका सरकारहरूले आफ्नो दायित्व कति हदसम्म पूरा गर्छन् १ सबैभन्दा ठूलो दायित्व केन्द्र सरकारको हो, किनभने औषधि वा शीघ्र प्रभावकारी सेनिटाइजको बन्दोबस्त गर्ने जिम्मा उसैको हो। नेपालका बुद्धिजीवीहरूले कराइरहँदा, सञ्चारमाध्यमहरूले खबर छापिरहँदा पनि हलचल नगर्ने सरकारले औषधि बजारमा आउनेबित्तिकै नेपालमा आउँछ भनेको त छ, तर यस कथनको विश्वसनीयतामा शङ्का छ। किनकि नेपाल हो, पूरा नियम–कानून अनुसार काम हुन्छ। लिखित कानूनको होइन, खल्ती भर्ने अघोषित कानूनको। सरकारले भनेको पुग्यो भने पनि यसमा कम्तिमा तीन महीना त लाग्छ नै। नेपालमा कोरोनाविरुद्ध औषधि नआउन्जेल कोरोना सङ्क्रमणबाट जोगाउने स्प्रे चौबीस घण्टासम्म प्रभावकारी पाइएको छ। नेपालमा त्यो स्प्रे उपलब्ध हुने हो भने विद्यालयहरू कति जिम्मेवार बनेर स्प्रे गर्छन् त्यो भन्न गा–हो छ।

यसर्थ विद्यालय सञ्चालन हुनुभन्दा महति कुरा विद्यार्थीहरूमा सङ्क्रमण नफैलियोस् भन्ने नै हो। किनकि पढाइ त एक वर्षका लागि बिग्रन्छ, कोरोनाले जीवन नै समाप्त पार्छ। यस अवस्थामा एउटा विकल्प हो–सङ्क्रमण नफैलियोस् भन्नका लागि अँगालिएको उपाय–मास्क, सेनिटाइजर, त्वरित परीक्षण प्रक्रिया र समूहमा सङ्क्रमण फैलिन पुग्छ भने सरकार तयार बस्नुपर्छ। यहाँ सरकारको तात्पर्य हो, कोरोना अस्पताल। त्यसको के बिजोग भइरहेको छ त्यो सबैलाई राम्ररी ज्ञात छ। यसमा सर्वाधिक दायित्व विद्यालय स्वयंको हो। निजी विद्यालयहरूले त जेनतेन दायित्व पूरा गर्लान्, अन्य विद्यालयहरूको अवस्था कस्तो रहला ? पाठ्यक्रम सिध्याउन नसक्ने सरकारी विद्यालयहरू कोरोनाप्रति कति संवेदनशील देखिएलान् ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्