लोकगीतमा उदीयमान पर्सेली गायक खेमराज पौडेल

102

बलिराम शुक्ला, बिरुवागुठी, १० मङ्सिर/
खेमराज पौडेल लोकगीत गायनको क्षेत्रमा आफ्नो परिचय बनाउँदै गरेको नाम हो। पर्सा जिल्लाका बासिन्दा उनी हाल जापानमा अध्ययन गर्नुका साथै नेपाली लोकसङ्गीतको क्षेत्रमा क्रियाशील छन्।
बागलुङ जिल्लामा बुबा राधाकृष्ण पौडेल र आमा तिलावती पाध्याको कोखबाट माइला सन्तानको रूपमा जन्मेका पौडेलको परिवार २०५२ सालमा बागलुङबाट बसाइँ सरेर पर्साको पर्सागढी नगरपालिका–३ बडनिहारमा आएका हुन्। उनी सानै उमेरदेखि गीत गायनमा रुचि राख्थे।
माध्यमिक तहसम्मको अध्ययन जनता माध्यमिक विद्यालय पकडिया बडनिहारमा पूरा गरेका उनले विद्यालयमा अतिरिक्त क्रियाकलापहरूमा गीत गाउन रुचि राख्ने र सिपालु पनि थिए। शिक्षामा स्नातक तहसम्म अध्ययन गरेका उनी थप अध्ययनका लागि विसं २०७० सालमा जापान गएका थिए। उनले जापानमा अध्ययनकै सिलसिलामा नेपाली साथीभाइको सहयोगमा पहिलो गीत रेकर्डिङ गराएको बताउँछन्।
गायक पौडेलको पहिलो लोक दोहरी ‘धिनताङ मादल’बाट लोकगायन क्षेत्रमा प्रवेश गरेका हुन्। हालसम्म उनले एक दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनी गीत पनि लेख्छन्। आफ्नै शब्दमा पनि पौडेलले केही गीत गाएका छन्। उनको स्वरमा सार्वजनिक भएका गीतहरूमा ‘बेलावती, धनको मूल्य, जनताको पीडा, खाडीको तातो हावा, माछो–माछो भ्यागुतो, ढुङ्गे छपनी, नेता छान असल बन्न’लगायत बोलका गीतहरू जनजिब्रोमा रुचाइएका छन्।
पछिल्लोपटक ‘रक्षा गर मौलाकाली’ बोलको पञ्चेबाजा गीत गायक पौडेल र शान्ता परियारको स्वरमा बजारमा आएपछि लोकगायक पौडेलको परिचय झन् माथि उठेको छ। विवाहमण्डपमा लगनगाँठो जुराएपछि बजाइने यस गीतको अहिले बजारमा चर्चा छ। सो गीतले श्रोताको मन जित्न सफल भएको पर्सेली गायक पौडेल बताउँछन्।
स्वदेशबाहिर जापानमा रहँदा पनि शिक्षा र साङ्गीतिक क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेका गायक पौडेलको स्वरका गीत धेरैले रुचाएपछि आफू निकै उत्साहित भएको उनले प्रतीक कर्मीसँग भर्चुअल कुराकानीको क्रममा बताए। अब गीत सङ्गीतको क्षेत्रलाई अझ बढी समय दिने र श्रोताको चाहना बुझेर गीत प्रस्तुत गर्ने कार्यलाई तीव्रता दिने पौडेलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्