दलभित्र विधि मिच्नेलाई छेउ लगाउनुपर्छ –पूर्वप्रम नेपाल

0
49

प्रस, वीरगंज, १० मङ्सिर/
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दलभित्र विधि मिच्नेलाई छेउ लगाउनुपर्ने धारणा राखेका छन्।
निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको उदघाटन गर्दै उनले यस्तो कुरा बताएका हुन्। जिल्ला समन्वय समिति, पर्साअगाडि रु ३६ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गर्दै उनले नेकपाभित्रको अहिलेको विवादको विषयमा स्पष्ट पार्ने क्रममा भने, “नो बडी इज सुप्रिम इन पार्टी, दल विधिमा चल्नुपर्छ र विधि नमान्ने जोकोहीलाई पनि दलभित्र ठाउँ दिनुहुन्न।” उनले कर्मचारीहरूको सवालमा कुरा गर्दै आजको दिनमा विनाघूस कर्मचारीहरूले काम नगर्ने गरेको छाप जनतामा परेको र त्यो विकृतिलाई हटाउन निजामती कर्मचारीहरूले इमानदारीसाथ जनताको काम गर्न अग्रसर हुनुपर्ने सुझाव दिए।
उनले सामाजिक न्यायको सिद्धान्तमा देशलाई समृद्धितर्फ डो–याउन र नयाँ नेपालको परिकल्पनास्वरूप भ्रष्टाचारीहरूलाई तह लगाउन राज्यले प्रणाली विकसित गर्नुपर्ने बताए। नेता नेपालले देशका दुश्मन नेता, कर्मचारी, ठेकेदार जोकोही भएपनि कडाभन्दा कडा सजाय दिनुपर्ने सरकारको नीति र नैतिकता हुनुपर्ने बताए।
नेता नेपालले कर्मचारीले काम गर्दैनन् भने देशको विकास सम्भव नहुने बताए। देशमा सुशासन र सेवा प्रभावकारी बनाउन ‘आप भला तो सब भला’ भन्ने सिद्धान्त अगाडि बढ्नुपर्ने धारणा राखे। देशमा निर्माण क्ष्Fेत्रको कामलाई प्रभावकारी बनाउन ठेकेदारहरूलाई काम गरेपछि मात्र भुक्तानी दिने प्रणाली लागू गर्नुपर्छ र कर्मचारीको सरुवालाई व्यवस्थापन गर्न आधुनिक किसिमको सङ्घीय निजामती ऐन ल्याउनुपर्ने बताए। नेकपा दोस्रो पुस्ताका नेताहरूको बलमा एकीकरण भएको उनले बताए। देशमा सुशासन कायम गरेर देश विकास गर्न जनताले अभिमत दिएको चर्चा गर्दै समाजवादको न्यूनतम विशेषता न्यायमा आधारित विकास भएकोले त्यसप्रति दल जिम्मेवार हुनुपर्ने उनले जिकिर गरे।
निजामती कर्मचारी सङ्गठन, पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षता र सचिव सन्तोष यादवको सहजीकरणमा भएको कार्यक्रममा नेकपानिकट आधिकारिक टे«ड युनियनका केन्द्रीय अध्यक्ष्F भोलानाथ पोखरेल, निजामती कर्मचारी सङ्गठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, महासचिव रेवत गौतम, पूर्व निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरे, सङ्गठन प्रदेश २ इन्चार्ज नौत्तम पोखरेल, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, केन्द्रीय सदस्य मञ्जुलता कुशवाहा, जयकान्त झा, नेकपा प्रदेश २ का सहअध्यक्ष नागेन्द्र चौधरी, नेकपा पर्सा संयोजक प्रभु हजरा, जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँलगायतको सहभागिता थियो।
कार्यक्रममा निजामती कर्मचारी सङ्गठनका पूर्वअध्यक्ष सुब्दारप्रसाद यादवले स्वागत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्