चिनीमिलले फेरि धोखा दिएको उखु किसानको गुनासो

0
52

प्रस, सर्लाही, १० मङ्सिर/
सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनीमिलका उखु किसानहरूले अझै भुक्तानी नपाएको गुनासो गरेका छन्।
केही दिनअघि उखु किसानहरू अघिल्ला वर्षको उखुको भुक्तानी माग्न काठमाडौं पुगेका थिए। त्यस बेला उद्योगकोे केन्द्रीय कार्यालयमा अन्नपूर्ण चिनीमिल व्यवस्थापन पक्षले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको थियो। सो आश्वासन अनुसार किसानहरूले अहिलेसम्म पनि भुक्तानी नपाएको भन्दै गुनासो गरेका छन्।
उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै मुलुकका राष्ट्रपति, उद्योगमन्त्री र चिनीमिलका जिम्मेवार अधिकारीहरूलाई समेत काठमाडौंमा भेटेर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताए। चिनीमिलले पटक–पटक किसानलाई धोका दिएर निराश पारेको उनको गुनासो थियो।
सर्लाहीका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत उखुबाली हो। उखु बेचेको रकम समयमा नपाउँदा उनीहरूले चाडपर्वसमेत राम्ररी मान्न पाएनन्। उखुको रकम नपाएपछि चाडपर्वमा महँगो ब्याजमा ऋण काढ्नुपरेको यादवले दुःखेसो पोखे। “छठअगाडि रकम पाइएला भन्ने आशा थियो, चिनीमिलले दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका दियो,” सोही स्थानका उखु किसान मुखदेव पञ्जियारले प्रतीकसँगको कुराकानीमा बताए।
गएको वर्ष सञ्चालनमा आउन नसकेको चिनी उद्योगले ३/४ वर्षअघिदेखि नै किसानसँग लिएको उखुको रकम भुक्तानी गरेको छैन।
भाका राखेर उद्योगले किसानलाई बारम्बार धोका दिने मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्।
किसानको उखुको मूल्य समयमा भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई रुवाइरहेको अध्यक्ष मैनालीको भनाइ छ। अन्नपूर्णले करीब ३० करोड र महालक्ष्मीले करीब ६ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्