रेडियो चोर्ने सवा लाख धरौटीमा रिहा

90

प्रस, निजगढ, ९ मङ्सिर/
बढीमा दुई/चार हजार रुपैयाँ पर्ने रेडियो चोरी गरेबापत १ लाख २५ हजार धरौटी लिई चोरलाई तारेखमा छोडिएको भन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ।
अचम्म नलाग्नु पनि कसरी ? ४८ वर्षदेखि ८६ वर्ष उमेरका मानिसहरू यो घटनामा संलग्न भएको पाइएपछि सुन्नेहरूका लागि घटना झनै रोचक लागे पनि वृद्ध उमेरका ती व्यक्तिहरूलाई भने निकै फसाद परेको छ। उनीहरू १४ दिन प्रहरी हिरासतमा बसी हिजो मङ्सिर ८ गते बारा जिल्ला अदालतलले धरौटी लिई तारेखमा छोडेको छ।
घटना बारा जिल्ला निजगढ नगरपालिका–१० लालको हो। गएको दशैंको टीका अघिल्लो दिनको हो। ४०/४५ वर्षको पुरानो रेडियोमा रेड मर्करी हुन्छ र उक्त मर्करी करोडौं मूल्यमा बिक्री गर्न पाइन्छ भन्दै छिमेकीको रेडियो चोरी गरेपछि एकान, दुकान हुँदै घटना भाइरल भएको थियो। निजगढ नगरपालिका–१० लालका ६७ वर्षीय कुलबहादुर तामाङले छिमेकी ७७ वर्षीया वृद्धा मिठ्ठुदेवी रिमालको पुरानो पानासोनिक जापानिज रेडियो चोरी गरेका थिए। आफूले ५० हजार रुपैयाँमा रेडियो बिक्री गर्न पटक–पटक आग्रह गर्दा रेडियो बिक्री गर्न राजी नभएपछि अन्तमा सो रेडियो चोरी गर्नुपरेको पक्राउ परेका वृद्ध तामाङले प्रहरीसमक्ष स्वीकार गरेपछि इलाका प्रहरी कार्यालय निजगढले अनुसन्धान अघि बढाएको थियो। सो घटनामा ६ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो।
गत कात्तिक २३ गते प्रहरीको नियन्त्रणमा परेका उनीहरू १४ दिन इलाका प्रहरी कार्यालय निजगढको हिरासतमा बस्नुपरेको थियो। बारा जिल्ला अदालतले रेडियो चोरी गर्ने निजगढ नगरपालिका–१० लालका ६७ वर्षीय कुलबहादुर तामाङलाई ५० हजार, सोही ठाउँका ८६ वर्षीय वीरबहादुर जिम्बा, कलैया उपमहानगरपालिका–४ का ४८ वर्षीय रामनाथ सहनी र सोही ठाउँका ६५ वर्षीय दुखा महतोसँग जनही २५/२५ हजार रुपैयाँ धरौटी लिई तारेखमा छोडिएको हो।
सन् १९६० देखि १९९० सम्म बनेका अधिकांश रेडियो, काठको ढोका भएको टेलिभिजन, सिलाइ मेशिनलगायत अन्य केही मेशिनरी सामानमा रेड मर्करी पाइने र अहिले सो मर्करी १ करोडदेखि १० करोड रुपैयाँसम्ममा बिक्री गर्न सकिने हल्ला सुनेपछि उनीहरूले पुरानो रेडियो चोरी गरेको प्रहरीको बुझाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्