लाज ढाक्ने उपाय

99

सरकार वा व्यक्ति जसलाई पनि आफ्नो इच्छा अनुसारको काम होस् भन्ने चाहना हुन्छ। कहिले परिस्थितिले यति बाध्य पारिदिन्छ कि व्यक्ति त के सामथ्र्यवान् सरकारको पनि चाहना पूरा हुन सक्दैन। सरकारले देशलाई लकडाउनमा राख्न खोजेको थियो। तर लामो उकुसमुकुसबाट जनता आत्तिएको थियो, गतिविधि बढाएर फुक्का हुन चाहन्थ्यो। केही असमञ्जस, केही सरकारको भय थियो। तर निरन्तरको चाडपर्वले जनताको असमञ्जसता हटाइदियो भने सरकार पनि यस्तो बेला पूरा हुन नसक्ने आदेश दिएर कमजोर देखिन चाहँदैनथ्यो। तसर्थ विविध उपाय गरेर लकडाउन खुला गरे पनि अवस्था लकडाउनकै राख्न चाहन्थ्यो। ‘घरमैं बसेर चाडपर्व मनाउँ’, ‘भीडभाडमा नजाउँ’ भनेर सरकार स्वस्फूर्त लकडाउन कायम गर्न सफल पनि भयो।  खासमा सार्वजनिक सवारी साधन चलेनन्, चलेकोमा पनि भीडले मानिस तर्सिए। स्वतः घरमा बसेर चाडपर्व मनाउने काम भयो। कतिसम्म भने जलाशयमा गरिने छठ पर्वसमेत छतमा कृत्रिम पोखरी (खाडल) बनाएर सम्पन्न भयो। यसले कोरोना सङ्क्रमण फैलिन केही अवरोध त पक्कै ग–यो। अब ?
सरकारले सबै हतियार प्रयोग गरिसक्यो। जनता मान्ने अवस्थामा छैन। किनकि रोजीरोटीको सवालले सुरसाजस्तो मुख बाएको छ। जताबाट पनि मर्ने होस कोरोना सङ्क्रमण होस् वा भोकले। जो पहुँचमा छ, उसको मृत्युको रेकर्ड राखियो, जहाँ पहुँच छैन, ती सबै कालगतिले मरेको ठानियो। पहुँच हुनेलाई जोगाऊ, अरूतिरबाट आँखा चिम्लिदेऊ, सरकारको नीति यही रह्यो। त्यसैलाई निरन्तरता दिन छठकै बेला पारेर राजधानीमा मेयरहरूको बैठक डाकियो। यद्यपि बैठकमा उपस्थिति निष्प्रभावी थियो, तर उपस्थित मेयरहरूले छठलगत्तै कडा लकडाउन गर्ने सिफारिश गरे– सरकारलाई सजिलो हुने निर्णय। किनकि सरकार त अहिले आफैं राजनीतिक–कोरोना पीडित बनेको छ। सत्ता–सङ्क्रमणले गाँजिएको सरकार आफ्नो उपचार गरोस् कि  जनताको। आफ्नै समस्या टार्न हम्मेहम्मे परेको सरकारलाई दुनियाँमा कोरोनाको औषधि निर्माण भएको पत्तो पनि छ कि छैन। किनकि हाम्रो सरकारले त्यस्तो औषधि खरीद गर्ने वा प्राप्त गर्ने कुनै उपक्रम नै गरेको छैन।
भनिंदै छ, यो जाडोको याममा कोरोना अझ सशक्त भएर फैलिन्छ। अर्थात् अहिले जोगिन सकिएन भने मानव जातिको ठूलो क्ष्Fति हुन्छ। जोगिने मामिलामा सरकार हातखुट्टा चलाउँदैन र धर्मान्ध जनतामा त यतिका चाडपर्व मनाएर देवी–देवतालाई खुशी पारेपछि केको कोरोना र केको डर भन्ने मानसिकता विकसित भइसकेको छ। अहिले न पहिले, जति नहुने कामहरू छन्, ती भइ नै रहेका छन्, जति हुनुपर्ने काम हुन्, ती भएका छैनन्। हुनुपर्ने काम गर्ने सरकारले हो। सीमा बन्द गरेर जनतालाई पिरोल्ने काम भइरहेको छ, त्यही सीमा तस्करहरूका लागि भने खुला छ। वनजङ्गल कटानी, नदी उत्खनन भइरहेकै छन्। त्यहाँ कोरोनाको कुनै त्रास छैन। कोरोनाको मात्र त्रास देखाउनुको मनसाय हो सरकारका गतिविधिमाथि जनताको आँखा नपुगोस्। किनकि अहिले देशमा सत्ता–सङ्घर्ष जारी छ। विपक्ष्Fी दलबीच होइन, अन्तर्दलीय सत्ता–सङ्घर्ष जारी छ। यस्तो हुनु लज्जास्पद कुरा हो। लाज ढाक्न सरकारले कोरोनारूपी हतियार उज्याएको छ। त्यसैले लाज ढाक्न फेरि लकडाउन घोषणा भयो भने आश्चर्य हुनेछैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्