ब्रिटानियाका मजदूरमाथि प्रहरीको लाठी चार्ज

62

प्रस, परवानीपुर, ८ मङ्सिर/
वीरगंज–२१ परवानीपुरमा रहेको बहुर्राष्ट्रिय बिस्कुट उद्योग ब्रिटानिया नेपाल प्रालिका आन्दोलनरत मजदूरमाथि प्रहरीले लाठी चार्ज गरेको छ।
सोमवार बिहान ८ बजेको समयमा शान्तिपूर्ण धर्ना दिइरहेको बेला प्रहरी चौकी परवानीपुर, वडा प्रहरी कार्यालय बिर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको संयुक्त प्रहरी टोलीले धर्ना प्रदर्शन गरिरहेका मजदूरमाथि लाठी चार्ज गरेको मजदूरहरूले बताएका छन्। मजदूरहरूमाथि एक्कासि लाठी चार्ज गरी तितरबितर पारेको प्रत्यक्षदर्शीहरूले पनि बताएका छन्।
आन्दोलनरत मजदूरलाई तितरबितर पारेपछि उद्योगका कर्मचारी तथा ठेकेदारका कामदारहरूलाई उद्योगभित्र प्रवेश गराइएको थियो। प्रहरीको लाठी चार्जपछि उद्योगमा ठेकेदारको कामदारलाई प्रवेश गराएसँगै आन्दोलनरत १२२ जना स्थायी मजदूर आक्रोशित बन्दै पर्सा प्रहरीको विरुद्धमा परवानीपुर हनुमान मन्दिरनजीक प्रदर्शन गरेका थिए। उनीहरूले वीरगंज–पथलैया सडकखण्डमा केही बेर चक्का जाम गरी आवागमन अवरुद्ध पारेका थिए। थप सुरक्षाकर्मी गएर लाठी चार्ज गरी राजमार्गको चक्का जाम खुलाइएको थियो।
चक्का जाम गरी प्रदर्शन गर्ने मजदूरहरूमध्ये श्रीकान्त पटेल, सुनेश महतो र सुशील पटेलसमेत तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएकोमा  साँझपख साधारण तारेखमा रिहा गरिएको मजदूरहरूले बताएका छन्।
बितेको १५ दिनदेखि मजदूर हडतालको कारण उद्योगको उत्पादन प्रभावित भएको व्यवस्थापन पक्षको भनाइ छ। उद्योगबाट १२ जना मजदूरलाई निकालिएको भन्दै आन्दोलन गरिरहेका मजदूरहरूलाई हुलदङ्गा छाडेर श्रम अदालतमा उजूरी गरी कानूनी प्रक्रिया अपनाउन व्यवस्थापन पक्षले आग्रह गरेको छ। उद्योगका मानव संसाधन अधिकृत विनोद साहले श्रम ऐन २०७४ अनुसार मजदूर आचरणविपरीत काम गरेको पाइएकोले कारबाईस्वरूप १२ जना मजदूरलाई असोज २३ गतेको सूचना अनुसार हटाएको बताए।
उद्योगको आधिकारिक ट्रेड युनियन नेपाल कारखाना श्रमिक सङ्घका अध्यक्ष राजेश्वर महतोका अनुसार मजदूरहरूको बोनस, पोशाक, सेवा सुविधाको विषयमा व्यवस्थापन पक्षसँग वकालत गर्ने मजदूर नेताहरूलाई तह लगाउन व्यवस्थापन पक्षले कामबाट निष्कासन गरेको आरोप लगाइएको छ। शान्तिपूर्ण आन्दोलनलाई दबाउन प्रहरीलाई प्रभावमा पारी लाठी चार्ज गराएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।
भारतको वाडिया समूहको लगानी रहेको ब्रिटानिया नेपाल प्रालि डेढ वर्ष पहिले रु १ अर्ब १४ करोड लागतमा स्थापना भएको हो। नेपालमा ब्रिटानिया बिस्कुटको बजार राम्रो देखेर बहुराष्ट्रिय बिस्कुट उद्योगले लगानी विस्तार गरेको हो। सो उद्योगमा अहिले चार प्रकारका बिस्कुट उत्पादन हुने गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्