छठ सकिएकै दिन मांसाहारी भोजन

83

प्रस, सेढवा, ८ मङ्सिर/
छठ पूजा सकिएकै दिन ठोरी, जीराभवानी गाउँपालिकामा मांसाहारी भोजनको लागि मानिसहरूको भीड लागेको थियो। बिहानीघाट शनिवार सकिने बित्तिकै गाउँघरमा खसी, कुखुरा, हाँस, परेवा, बङ्गुर काटेर तयारी गर्नेहरूको सङ्ख्या ठूलो देखियो।
यसैगरी, अधिकांश मानिस ठोरी गापा–२ राईधारा, बाघमोर्चा, गडुवालाइन, जीराभवानी गापा–२ सबडिभिजन वसन्तपुरको सुगीभार मन्दिर र वन क्षेत्रहरूमा पिकनिक गर्न पुगेका थिए। प्रत्येक वर्ष बिहानीघाट सकिने बित्तिकै पिकनिक गर्नेहरूको भीड बढ्छ।
यसपटक सीमा सिल भएको कारण भारतबाट मानिसहरू आएनन् तर पर्सा, बाराबाट ठूलो सङ्ख्यामा मानिसहरू पिकनिक गर्न यो क्ष्Fेत्रमा आएका थिए।
परम्परागतरूपमा बिहानीघाट सकिएपछि साँझ माछा खाने परम्परा छ तर गाउँमा खसी नै काटेर भोजभतेर गरियो। दशैंअगाडिदेखि छठको कारण मांसाहारी भोजन नगरेकाहरूले यो दिन खसी, कुखुरा, हाँस, बुङ्गुर काटेर बिहानैदेखि भोजभतेर गरे।
प्रस, सिम्रौनगढ/
यसैबीच, शनिवार छठ सकिएलगत्तै सीमावर्ती क्षेत्रमा मदिरासेवन गर्नेहरूको अचाक्ली भीड भयो। सिम्रौनगढ बजार, बैरिया हनुमान चोक, पिपरपाती, बेल्दारी, कबही, मटिअर्वा, वसन्तपुर, कचोर्वा, बसवरियालगायत सीमासँग जोडिएका नेपाली बजारमा भारतीय नागरिकहरू मदिरासेवनमा व्यस्त रहे। पैदल, साइकल, मोटरसाइकलबाट खुला सीमाको फाइदा उठाउँदै उनीहरू नेपाल सीमा सिल भएपनि निर्बाध प्रवेश गरेर मदिरासेवन गरे। उनीहरूको प्रवेशलाई स्थानीय सुरक्षाकर्मीहरूले रोकटोक गरेनन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्