शुभकामना उपाधि कप वनशक्ति युवा क्लबलाई

0
31

प्रस, ठोरी, ४ मङ्सिर/
ठोरी गापा –१  मा गत कात्तिक २५ गतेदेखि शुरू भएको दोस्रो शुभकामना कप फूटबल प्रतियोगिताको उपाधि वनशक्ति युवा क्लब ठोरी–२ ले जितेको छ।
बिहीवार सरस्वतीनगर खेल मैदानमा सम्पन्न फाइनल खेलमा वनशक्तिले जनचेतना युवा क्लब ठोरी–१, भगवाननगरलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। उसले विजेता बन्दै नगद रु ३० हजार र ट्रफी प्राप्त गरेको छ भने जनचेतना क्लबले उपविजेतामा चित्त बुझाउँदै नगद रु १५ हजार प्राप्त गरेको छ।
निर्धारित ९० मिनेटको खेलको मध्यान्तर अघि १ गोल गरेको वनशक्तिले मध्यान्तरपछि थप ४ गोल गरेको हो। खेल अवधिभर जनचेतना युवा क्लबलाई दबाबमा राखेको वनशक्तिले खेल शुरू भएको ३ मिनेटमा नै पेनाल्टी प्रहार गर्ने अवसर पाएपछि १ गोलको अग्रता बनायो। १ गोलले पछाडि परेर दबाबमा परेको जनचेतनाले गोल गर्ने प्रयास गरेको भएपनि सफल हुन नसक्दा मध्यान्तर अघि खेल १–० को स्थितिमा रह्यो। मध्यान्तरपछि वनशक्ति चम्किंदा जनचेतना रक्षात्मक बन्यो र लगातार ४ गरेर नतीजा वनशक्तिले आफ्नो पक्षमा पा–यो। जर्सी नम्बर ७ का अनिल मगरले ह्याट्रिक गरेका थिए।
खेल शुरू हुनु अघि सम्पन्न औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ठोरी गापा अध्यक्ष पद्मलाल श्रेष्ठले खेलकूदको विकासमा गाउँँपालिका लागिपरेको बताउँदै आगामी दिनमा खेल मैदानको स्तरोन्नति र खेलाडीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइने जानकारी दिए। उनले फरक प्रसङ्गमा यस वर्षदेखि ठोरीका कुनै पनि सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिने उद्घोष गर्दै गापाले निश्शुल्क सर्पदंश उपचार शुरू गरेर धेरैको जीवन रक्षा गरेको बताए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले स्थानीय स्तर खेलाडीलाई प्रोत्साहन गर्न खेलकूद आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे।
क्लबका अध्यक्ष महेन्द्रकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरू किशोर तामाङ, रामप्रकाश कुँवर,  सरस्वती माविका प्रधानाध्यापक  केशवप्रसाद रेग्मी, स्थानीय अगुवाहरू घनश्याम अधिकारी, यादवराज कुँवर, दिपेन्द्र कार्कीलगायतको उपस्थिति थियो।
नेरा प्राविधिक मावि दीपकनगरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलविक्रम तिमिल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी जगेन्द्र पौडेलले सहजीकरण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्