वीरगंजमा छत र टोलमैं छठ हुँदै, गाउँँमा पोखरीमा

0
38

राधेश्याम पटेल, वीरगंज, ४ मङ्सिर/
तराईको महान् पर्व छठमा वीरगंजको रौनक विशेष हुने गरेको थियो। तर यस पालिको छठको रौनक र चहलपहल घटेको अनुमान छ। कोरोना महामारीको कारण स्थानीय प्रशासनको उर्दीले गर्दा सर्वसाधारण तथा व्रतालुहरू निराश र दुःखी बनेका छन्। पहिले जस्तो भीडभाड गरेर चाडपर्व मनाउन प्रशासनले रोक लगाउने तयारी गरेपछि व्रतालुहरू दुःखी बनेको बताउँछन्।
वीरगंज–१२ मुर्लीकी शर्मिला कुशवाहाले पोहोर मुर्ली पोखरी छठघाटमा तामझामका साथ परिवारसँग अघ्र्य दिएर छठ मनाएकी थिइन्। यस पालि प्रशासनको निर्देशन र कोरोनाको डरले आफ्नै पक्की घरको छतमा घरपरिवारसँग छठ मनाउने तयारी गर्दैछिन्।
त्यसैगरी वीरगंज–१० रानीघाटकी सुनीता साहले हरेक वर्ष घडिअर्वा पोखरीमा भीडभाडबीच हार्षाेत्ल्लासबीच छठ मनाउने गरेकोमा आफ्नै टोलमा टेन्ट लगाएर १० जना महिलाको समूह बनाई छठपूजा गर्ने योजनामा छिन्। वीरगंजको ३२ वटै वडामा यस पालि छठ पोहोरभन्दा पृथक ढङ्गबाट भइरहेको बुझिएको छ। तर वीरगंज बजारभन्दा ५ किलोमिटर पर ग्रामीण भेगमा पहिले जस्तै नदी, पोखरी, नहरको डिलमा घठघाट सजाइएको छ। गत वर्षजस्तै नभएर यस पालि सिरसोप्ता बनाई बिजुली बत्तीको व्यवस्था गरेर मात्र छठ मनाउने तयारी भएको धोबिनी गाउँँपालिका–४ का सुरेश पटेल बताउँछन्। उनका अनुसार यस पालि वीरगंजमा प्रशासनले छठ मनाउन कडाइ गरेपछि धेरै मानिस स्थायी बसोवास रहेको गाउँ पुगेका छन्।
उनले भने–“प्रशासनले वीरगंजको मीना मजार, माईस्थान, आदर्शनगर बजारको भीड कम गर्न सकेको छैन, तर तराईको प्रमुख चाड छठमा कठोर बनेको छ, त्यसैले धेरै मानिस गाउँँ पसेका छन्, गाउँँमा कोरोनाको त्रास छैन, न प्रशासनकै डर।’
वीरगंज घडिअर्वा पूजा समितिका पूर्व सदस्य मनोहर साहले यस पालि सिरसोप्ता र बिजुलीको मात्र तयारी गरिएको बताए। उनले प्रशासनबाट स्वास्थ्य मापदण्ड पूरा गरी उच्च सतर्कता पालना गरेर सीमित सङ्ख्यामा घडिअर्वा पोखरीमा छठ मनाउने निर्देशन दिएकोले सोही अनुरूप तयारी भएको बताए। उनको यस पालि पाँच सयको हाराहारीमा दौरा आउने अनुमान छ। जबकि पोहार १ हजारसम्म दौरा र लाखौको भीड थियो। त्यसैगरी यस पालि घरघरमा छठ गर्नेको सङ्ख्या बढेकोले घडिअर्वा आउने व्रतालुको सङ्ख्यामा कमी आउने बताए। घडिअर्वा पोखरीमा छठ गर्ने आउने एकजना व्रतालु बाहेक अन्य दर्शनार्थीलाई निषेध गरिएको छ भने टेन्ट,पन्डाल, म्युजिक सिस्टममा रोक लगाइएको छ। वीरगंजको अर्काे विशेष घाट स्वीममिङ पूल हो, त्यहाँ पनि थोरै तामझाममा छठ गर्ने तयारी भएको छ। मुर्ली, नगवा, श्रीसिया, बहुअरी, रामगढवा, रानीघाट, भिस्वा, इनर्वालगायत दर्जनौ छठघाटमा यस पालि छठको रौनक कम हुनेछ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कोरोना महामारी सङ्क्रमण नफैलियनेस् भनेर छठ पर्वमा भीड नियन्त्रण गर्न यस्तो निर्देशन दिएको हो। वीरगंज महानगरमा मात्र २६ वटा छठघाटमा विशेष निगरानी राखिएको छ। वीरगंज बजारमा पनि पोहोरभन्दा कम भीड देखिएको छ। भगवान् सूर्यको आराधना गरी चार दिनसम्म मनाइने पर्वको शुक्रवार सँझिया घाट र शनिवार पारन परेको छ भने आज खरना अर्थात् रसियाव रोटीको दिन हो। छठको अर्घको सामान तथा ठेकुवा पकाउने र प्रसादको जोहो गर्ने व्रतालुहरूको, नजीकको बजारमा किनमेल गर्न, भीड बढेको देखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्