पर्साको वन अतिक्रमण तीव्र, कारबाई सुस्त

0
92

नरेश यादव, पर्सागढी, ४ मङ्सिर/
पर्सागढी नगरपालिकामा अतिक्रमित सयौंं बिघा जग्गा खाली गराउनेतर्फ डिभिजन वन कार्यालय, पर्सा उदासीन देखिएको छ।
पर्सागढी नगरपालिका–३ बडनिहार क्षेत्रमा तीव्ररूपमा राष्ट्रिय वन–जङ्गल अतिक्रमण भइरहेको छ। स्थानीय विन्देश्वरी पटेलले अतिक्रमणविरुद्ध डेढ वर्ष अघि डिभिजन वन कार्यालय, पर्सामा उजूरी दिएपछि यससम्बन्धी छानबीन शुरू भएको थियो। पर्सागढी नपा–३ बडनिहारमा गरिएको तत्कालीन सर्वेक्षणमा ६३ घर परिवारले दशौं बिघा राष्ट्रिय वन अतिक्रमण गरिएको पाइएको थियो। उनीहरूविरुद्ध कारबाई प्रक्रिया अगाडि नबढेपछि अहिले अतिक्रमण झनै तीव्र भएको हो।
उजूरीकर्ता पटेलको यसबीच निधन भइसकेको छ। उनको निधनपछि पनि डिभिजन वन कार्यालय, पर्साले उजूरी सम्बन्धमा कारबाई प्रक्रिया अगाडि बढाएको छैन। डिभिजन वन कार्यालय, पर्सा अन्तर्गतका सब–डिभिजन कार्यालयले तीनताक आआफ्नो क्षेत्रमा अतिक्रमणविरुद्ध अभियान चलाएका थिए।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका, सखुवापरसौनी, पटेर्वासुगौली, जीराभवानी र ठोरी गापासम्म वन क्षेत्र अतिक्रमित अवस्थामा छ। स्थानीय बासिन्दाले घर बनाउने, खेती गर्ने कार्य गर्दै आएका छन्।
डिभिजन वन कार्यालय, पर्साका प्रमुख जगरनाथ जैसवालले आफू कार्यालयमा नयाँ आएको र अतिक्रमण सम्बन्धी यस अघि भएका काम कारबाईको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्