नेपाली कांग्रेसमा ऊर्जावान् र सशक्त नेतृत्वको खाँचो

0
71

श्रीमन्नारायण

सत्ताधारी नेकपाभित्र विगत दुई वर्षदेखि जारी अन्तर्कलहबाट नेपाली जनता हैरान छ र यसले देशको स्वाभाविक प्रगति बाधित भएको छ। तर न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, न कथित मधेसवादी जसपा नै नेपाली जनताको चाहनालाई प्रतिनिधित्व गर्न सकिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी महाधिवेशन यस वर्षकै अन्त्यसम्म हुने अनुमान छ। अब नेपाली कांग्रेसलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्न सशक्त नेतृत्वको खाँचो छ। जुन नयाँ नेतृत्वबाट मात्र सम्भव देखिन्छ।
देशको सबैभन्दा पुरानो  लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो इतिहासकै सर्वाधिक असहज, प्रतिकूल एवं अप्ठयारो परिस्थितिको सामना गरिरहेको छ। सङ्घीय संसद्देखि प्रादेशिक संसद्हरूमा समेत पार्टीले प्रतिपक्षमा बसिरहनुपरेको अवस्था छ। विगत तीन वर्षमा पार्टीले न संसद्, न सडकमा नै सशक्त ढङ्गले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छ। पार्टी वर्तमान अवस्थामा मधेसी, दलित, जनजाति, किसान मजदूर र गरीब वर्गबाट टाढिएको छ। मधेसवादी राजनीतिक दलको क्रियाकलापका कारण मधेसको जनता  पनि विकल्पको खोजीमा छ। सत्ताधारी नेकपा सरकारको तीन वर्षको क्रियाकलापका कारण सिङ्गो देशकै जनता एउटा सशक्त राजनीतिक विकल्पको खोजमा छ तर देशको राजनीतिमा प्रतिपक्षी दलको भूमिका कहीं कतै देखिएको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा कोइराला परिवार, वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा तथा विमलेन्द्र निधिले पार्टी नेतृत्वको निम्ति दाबी गर्दै आएका छन् र आफ्नो योग्यता, क्षमता र जनाधारको प्रदर्शन गरिसकेका छन्। अब नेपाली कांग्रेसको नेतृत्व जनजातिको हातमा आउनु आवश्यक छ। त्याग एवं बलिदानको लामो पृष्ठभूमि बोकेको र प्रधानमन्त्रीको पदलाई समेत अस्वीकार गरिसकेका गणेशमान सिंहको उच्च राजनीतिक गरिमालाई नेपाली कांग्रेसले सम्मान गर्नु आवश्यक छ। तीन–चार पटकदेखि राष्ट्रिय राजधानी काठमाडौंबाट निर्वाचित हुँदै आएका प्रकाशमान सिंहलाई अब नेपाली कांग्रेसले नेतृत्वको जिम्मेवारी दिनु समयको माग हो। उनको नेतृत्वमा राष्ट्रिय राजधानी लगायत काठमाडौं उपत्यकामा मात्र होइन, देशभरिका जनजाति, मधेसी समुदाय, दलित र गरीब वर्ग नेपाली कांग्रेसप्रति आकर्षित हुन सक्छ। यथास्थितिवादी चिन्तन तथा नेतृत्वले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्न सक्दैन।
करीब तीन वर्ष अघि सम्पन्न प्रादेशिक तथा संसदीय निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुपरेको थियो। त्यस पराजयको समीक्षा गर्ने काम भएन। नेपाली कांग्रेसकै नेतृत्वको सरकारले निर्वाचन पनि गराएको थियो तर पनि पार्टीले अकल्पनीय र दुःखद पराजय भोग्नु प–यो। राजनीतिक नैतिकताको आधारमा पार्टी सभापतिले पदबाट राजीनामा गर्नु पर्दथ्यो तर पराजयको जिम्मेवारी सबैको काँधमा हाल्ने काम भयो। पराजयको सूक्ष्म विश्लेषण भरसक भएन। अन्यथा तीन वर्षसम्म यसरी पार्टी चुप लागेर बस्ने थिएन।
जनान्दोलन २ को सफलतापश्चात् पार्टीले संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र र हिन्दू धर्म–सापेक्षताको ठाउँमा धर्मनिरपेक्षता स्वीकार गरेको तथा प्रतिपक्षविहीन राजनीति विकसित गरी कथित राष्ट्रिय सहमतिको नाममा कम्युनिस्टहरूसित गहिरो सहकार्य एवं सहयात्रा गर्न थाल्यो, जसले गर्दा नेपाली कांग्रेसले स्वयंलाई बिस्तारै कमजोर बनाउने काम ग–यो। पार्टी सङ्गठनलाई ऊर्जावान् बनाउन किसान, मजदूर, युवा, जनजाति, मधेसी, दलित र गरीबलाई आफूतिर कसरी आकर्षित गर्ने भन्ने विषयमा पार्टीले प्रस्ट दृष्टिकोण बनाउन सकेको छैन। आफूलाई सत्ताको स्वाभाविक उत्तराधिकारी ठान्दै आएको नेपाली कांग्रेसलाई विगत तीन वर्षदेखि सत्ता बाहिर बस्नुपरेको कारण अप्ठ्यारो अवस्थाको सामना गरिरहनुपरेको छ। पार्टीका नेताहरू आफूलाई असहज ठानी रहेका छन्। लोकतान्त्रिक शासन भएको देशमा कुनै पनि राजनीतिक दलले सधैं आफूलाई सत्ताको स्वाभाविक उत्तराधिकारी ठान्नु उचित होइन। देश र जनताको चाहना र आवश्यकतालाई हृदयङ्गम गरी तदनुसार पार्टीको नीति निर्धारण गर्ने र कार्यक्रम धरातलमा उतार्ने काम भइरहेसम्म कुनै पनि राजनीतिक दल सत्ताभन्दा बाहिर जाँदैन, तर पार्टीको नाम तथा इतिहास भजाएर लामो समयसम्म सत्ताको बागडोर हातमा कायम राख्न सकिंदैन।
भनिन्छ पुर्खाले कमाएको भौतिक सम्पत्तिको स्वाभाविक उत्तराधिकारी तपाई हुन सक्नुहुन्छ तर नाम, पद, प्रतिष्ठा र सम्मान कमाउन आफ्नो पुरुषार्थ देखाउनै पर्दछ। नेपाली कांग्रेसमा बडो चलाखीपूर्वक कोइराला परिवारलाई देवत्व प्रदान गर्ने काम भइआएको छ। कोइराला परिवारको कमी–कमजोरीलाई पनि विशेषताको रूपमा परिभाषित गर्ने काम भइरहेको छ, जबकि कोइराला परिवार जति नै योगदान गरेको अथवा कतिपय अर्थमा त्योभन्दा पनि बढी योगदान पु–याएका कतिपय परिवारको समुचित चर्चा पनि हुन सकेको छैन। नेपाली कांग्रेस आज कमजोर अवस्थामा पुग्नुको एउटा ठूलो कारण गणेशमान सिंह र सुवर्ण शम्शेरजस्ता महान् हस्ती एवं समर्पित नेताहरूको योगदान र समर्पंणलाई नेपाली जनतासामु पु–याउन नसक्नु पनि हो। वि.स.२०४६ सालको ऐतिहासिक जनान्दोलनको सफलताका महानायक गणेशमान सिंहलाई पनि नेपाली कांग्रेसले उचित सम्मान दिएन। राजधानी काठमाडौंको जाबो २ सिटमा गणेशमान सिंहको परिवारका दुईजना सदस्य चुनाव लड्दा उनीहरूलाई पराजित गर्न कोईराला परिवार दत्तचित्त भएर लागेको थियो। प्रधानमन्त्रीको पदसमेत त्याग गरेका गणेशमान सिंहको परिवारका दुई सदस्य जो आफ्नै योग्यता, क्षमता, त्याग र समर्पणका कारण निर्वाचनमा उम्मेदवार हुने लायक थिए, तिनको विरुद्ध दुष्प्रचार गर्ने काम भयो। तर कोइराला परिवारका आधा दर्जन भन्दा बढी सदस्य कोही बाँके, कोही सिन्धुली, कोही सुनसरी त कोही मोरङबाट चुनाव लड्दा त्यसको चर्चा नै भएन। नेपाली कांग्रेसमा एउटा लबी “विगत लामो समयदेखि पूर्वाग्रही भएर अन्य नेताको योगदानलाई धुमिल पार्ने र कोइराला परिवारलाई मात्रै नेपाली कांग्रेसको ‘अक्सिजन सिलिन्डर’को रूपमा परिभाषित गर्न काम गरिरहेको छ। अखिर पार्टीमा टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, भद्रकाली मिश्र, रामनारायण मिश्र, नारदमनि थुलुङ, राधाकृष्ण थारूहरूको पनि त योग्दान थियो।
शेरबहादुर देउवा देशका प्रधानमन्त्री र नेपाली कांग्रेसका पार्टी सभापति भएर पनि पार्टीलाई चुनावमा सफलता दिलाउन सकेनन्। रामचन्द्र पौडेल पनि शारीरिक र घट्दो जनाधारका कारण पार्टीको नेतृत्व गर्न सक्ने आवस्थामा छैनन्। कृष्णप्रसाद सिटौलाकै सुझाव र सल्लाहका कारण देशमा कम्युनिस्ट पार्टीले बढी महत्व पाउन सकेको हो। कोइराला परिवारका कुनै पनि सदस्य अब नेपाली कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सक्ने क्षमता राख्दैनन्। विगत तीन वर्षमा यदि देश विपक्षविहीन देखिएको छस न सडक, न संसद्मैं नेपाली कांग्रेसको प्रभावकारी भूमिका देखिएको छ भने यसको निम्ति पार्टीका वर्तमान सभापति शेरवहादुर देउवा र उनको सम्पूर्ण टिम नै जिम्मेवार रहेको मान्नु पर्दछ। महामन्त्री शशाङ्क कोइराला पनि यदाकदा हिन्दुत्वको चर्चा गरी लोकप्रियता हासिल गर्न चाहन्छन् तर कोइरालाले देशमा ल्याउन चाहेको धर्मसापेक्षताको परिभाषा प्रस्ट छैन। भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारको लोकप्रियतालाई हेरेर यदि देशमा हिन्दुत्वको चर्चा भइरहेको छ भन्ने यो ‘अकलविनाको नकल’ हो। भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घको झन्डै एक सय वर्षको सतत् सङ्घर्षबाट त्यहाँ हिन्दूवादी पार्टी भाजपाको बहुमतको सरकार अस्तित्वमा आएको हो। तसर्थ धार्मिक विषयमा पनि शीघ्रता ठीक हुँदैन। वर्तमान अवस्थामा नेपाली कांग्रेसले नयाँ ढङ्गले नेतृत्व चयन गर्नु आवश्यक छ। देशमा लोकतन्त्रको जरो बलियो बनाउन तथा नेपाली कांग्रेसको घट्दो जनाधारलाई पुनः हासिल गर्न जनजाति समुदायबाट स्वीकार्य नेतृत्व आवश्यक भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्