छठ पर्वमा व्रतालुलाई सहयोगसँगै राजनीति

0
36

प्रस, गरुडा, ४ मङ्सिर/
तराई–मधेसको सबैभन्दा ठूलो पर्व छठमा व्रतालुलाई सहयोग गर्ने प्रवृत्तिको विकास भएको देखिएको छ। राजनैतिक लाभ लिने भावनाले प्रेरित भएर छठका व्रतालुहरूलाई सहयोग गर्ने प्रवृत्तिको विकास भएको बुद्धिजीवीहरूको आरोप रहेको छ।
रौतहटको गढीमाई नगरपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले वडाका ४३८ परिवारलाई कपडा प्रदान गरेका छन्। छठ पर्व गर्ने परिवारका महिलालाई साडी र चोलोका साथै पुरुषलाई धोती, कुर्ता र गमछा प्रदान गरेका वडाध्यक्ष श्रेष्ठ भन्छन् – छठ पबनी गर्ने व्रतालुलाई सहयोग गर्नु जनप्रतिनिधिको नैतिक कर्तव्य हो।
यसैगरी चन्द्रपुर नगरपालिका–१ का वडाध्यक्ष बिरू रखालले वडाका ९० व्रतालुहरूलाई वडा कार्यालयको लगानीमा साडी वितरण गरेका छन्। रखालले शान्तिपूर्वक हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन्।
गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताले पनि निजी लगानीमा सयौं परिवारलाई साडीका साथै छठको आवश्यक सामग्री वितरण गरेका छन्।
गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवको घरमा दशकौंदेखि छठ व्रतालुलाई आवश्यक खाद्यान्न तथा अन्य सहयोग गर्ने प्रचलन रहेको छ। प्रमुख यादवले यस वर्ष पनि व्रतालुहरूलाई सहयोगको निरन्तता दिएका छन्।
गत स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा प्रमुखको उम्मेदवार रहेका गरुडाका व्यावसायी कन्थमुनिप्रसाद जयसवालले छ सयभन्दा बढी अति विपन्न, दलित, अपाङ्ग र एकल महिला व्रतालुलाई साडी प्रदान गरेका छन्। जयसवालले कोरोना महामारी र बाढीको समयमा पनि निजी लगानीमा सयौं परिवारलाई सहयोग गरेका थिए। जयसवाल भन्छन् – जीवित रहेसम्म विपन्न समुदायलाई सहयोग गरिरहने छु।
दुर्गाभगवती गाउँपालिका–१ का समाजसेवी लालबाबू जयसवालले पनि छठव्रत गर्ने सयौं परिवारलाई निजी लगानीमा साडी प्रदान गरेका छन्। यसै गरी पूर्वसांसद जितेन्द्रप्रसाद यादवले फतुवा विजयपुर नगरपालिका–७ मा १७८ व्रतालुलाई साडी प्रदान गरेका छन्। यादवले आफ्नै लगानीमा साडी वितरण गरेका हुन्।
छठ पर्वमा विभिन्न भाकल गरेकाहरूले पनि केरा, मिठाइ, साडी, दौरा, ढक्की आदि वितरण गर्ने गरेका छन्। छठ व्रत गर्ने परिवारसमक्ष केही सामग्री लिएर जाँदा भोलि निर्वाचनको समयमा भोट माग्न सजिलो हुने भएकाले पनि कतिपयले राजनैतिक अभीष्ट लिएर सहयोग गरेको सामाजिक सञ्जालमा आलोचना भएको छ। कम मूल्यको साडी वितरण गरेर मूल्यभन्दा चार पाँच गुना बढीको बिल पास गर्ने डर पनि समाजलाई रहेको छ।
स्थानीय तहले छठघाट निर्माण नगरेको तथा बाटोघाटो मरम्मत नगरेको भन्दै आलोचना गर्नेहरूले पनि व्रतालुको हातमा साडी थमाउनुले व्रतलाई समेत राजनैतिक अभीष्टले हेरेको गरुडाका प्रमोद साहले बताएका छन्।
कोरोनाकालमा स्थानीयलाई सहयोग गरेका कतिपय स्थानीय तहले गरेको खर्चको विवरण सार्वजनिक गर्न निकै आनाकानी गरेका थिए। सर्वसाधारणलाई वितरण गरिने सामग्रीको मूल्यसहितको विवरण सार्वजनिक गर्नुपर्ने माग पनि बुद्धिजीवीहरूको रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्