गरीबीको कारण हाम्रो व्यवहार

0
16

विश्वराज अधिकारी

कुनै पनि देशलाई धनी वा गरीब त्यस देशको जनताले बनाउने हो। हामी धन सम्पत्तिको कमीले गर्दा होइन आफ्नै व्यवहारले धनी वा गरीब हुने हो। विकासशील राष्ट्रहरूको आर्थिक विकासको इतिहासले यही कुरा भन्छ। धनी राष्ट्रहरूको आर्थिक विकासले पनि यही कुरा भन्छ। त्यसकारण धन, सम्पत्ति, प्राकृतिक स्रोत, मानवीय साधन आदिको प्रचुरता महत्वपूर्ण कुरा होइन, कुनै राष्ट्र धनी हुनु, त्यस राष्ट्रको जनता निर्धन नहुनुमा त्यस देशको जनताको व्यवहार महत्वपूर्ण कुरा हो। अफ्रिकी राष्ट्रहरूको अस्थिरता, दक्षिण एशियाली राष्ट्रहरूको गरीबीले यसै कुराको पुष्टि गर्दछ। र उदाहरणको रूपमा सोमालिया, इथोपिया, सुडान, माली, रवान्डा, कंगो, नाइजर, जिम्बाब्वे, मोजाम्बिक, युगान्डा, सियरा लियोन, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल आदिको गरीबीलाई लिन सकिन्छ।
जनताको व्यवहारले राष्ट्र र जनता लाई कसरी गरीब बनाउँछ भन्ने कुराको पुष्टि गर्न केही मुलुकको स्थितिलाई प्रतिनिधि उदाहरणको रूपमा हेरौं।
रवान्डाको जातीय नरसंहार
सन् १९९४ को अप्रिलदेखि जुलाई सम्म, लगभग १०० दिन मात्र  रवान्डामा मच्चिएको जातीय नरसंहारमा ८ लाख रवान्डालीको हत्या भएको थियो। दुई जातीय समूह हुटु र टुट्सीबीच भएको विश्व इतिहासकै ठूलोमध्ये एक त्यो नरसंहारमा अल्पसङ्ख्यक टुट्सीहरू ठूलो सङ्ख्यामा मारिएका थिए। २० लाख नागरिक ज्यान जोगाउन देश (रवान्डा) छाडेर अन्यत्र शरण लिन पुगेका थिए। हुटुहरूले कतिसम्म हृदयहीनता देखाएका थिए भने उनीहरूले टुट्सी पत्नी हुने हुटुहरूलाई आफ्नी टुट्सी पत्नीको हत्या गर्न र त्यस्तो नगरेमा त्यस्ता पतिहरूको हत्या गर्ने उर्दी जारी गरेका थिए। स्थानीय रेडियो स्टेशनहरूले हुटुहरूलाई खोजीखोजी टुट्सीको हत्या गर्न समाचारको रूपमा आदेश दिएका थिए। रवान्डाको त्यो जातीय नरसंहारले त्यस मुलुकलाई गरीब बनाउन कस्तो भूमिका खेलेको थियो सजिलै अनुमान गर्न सकिन्छ। रवान्डा अहिले पनि गरीबीको दुषचक्रभित्र रुमलिएको छ।
जिम्बाब्वेका तानाशाह मुगाबी
अफ्रिकी मुलुक जिम्बाब्वे प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ र त्यही प्राकृतिक स्रोत र साधनहरूको दोहन गर्न ब्रिटिशहरू जिम्बाब्वे पुगेका थिए।  सन् १९६५ मा यो मुलुक ब्रिटिशहरूको उपनिवेशबाट मुक्त भयो। तर पनि देशको सम्पत्ति र भूमिको ठूलो भाग अल्पसङ्ख्यक गोराको कब्जामा थियो। बहुसङ्ख्यक काला अति निर्धन थिए। त्यस समयका जिम्बाब्वेका काला जातिका अति लोकपिय नेता रोबर्ट मुगाबीले गोराहरूको हातबाट कृषियोग्य जमीन खोसेर कालाहरूलाई दिने अभियान र आन्दोलन दुवै चलाए। उनको नेतृत्वमा भएको त्यो आन्दोलनले धेरै कालालाई गोराहरूको हातबाट कृषि–भूमि फिर्ता दिलायो। तर पछि मुगाबीको राजनीतिक आकाङ्क्षा ह्वात्तै बढेर गयो। उनी देशको उच्च पदमा आसीन भए। जिम्बाब्वेको राष्ट्रपति भएर उनले आफ्नो मुलुकमा लगभग ४० वर्षसम्म तानाशाही गरे। देशलाई यतिसम्म गरीब बनाए कि गोराहरूको शासन हुँदा पनि जिम्बाब्वे त्यति गरीब थिएन। मुगाबीको शासनकालमा जिम्बाब्वे यति गरीब भयो कि एक छाकको लागि खाने कुरा खरीद गर्न एक झोला पैसा बोक्नुपर्ने स्थिति उत्पन्न भयो। मुद्रास्फिति यदि बढ्यो कि जिम्बाब्वेले मिलियन, ट्रिलियन (डलर) को नोट छाप्नुप–यो। सन् २०१९ मा सिङ्गापुरको एउटा अस्पतालमा मुगाबीको मृत्यु हुनु केही पूर्वसम्म पनि उनी देशका राष्ट्रपति थिए। मुगाबीले जिम्बाब्वेलाई यति गरीब पारे कि त्यहाँ सम्पन्नताको स्थिति आउन दशकौं लाग्न सक्छ। आज जिम्बाब्वे नेपालभन्दा पनि गरीब छ। मुगाबीलाई जिम्बाब्वेको जनताले नै नेता बनाएको थियो। उनी जनताको प्रतिनिधि थिए।
मुगाबी आकाशबाट झरेर जिम्बाब्वेका नेता भएका थिएनन्। त्यहाँ जनताले नै मुगाबीलाई नेता बनाएको थियो।
अस्थिरताले भरिएको अफगानिस्तान
दक्षिण एशियाको अभागी राष्ट्र अफगानिस्तान कहिले शान्त हुन सकेन। आफ्नो स्थापनाकालदेखि यो मुलुक अशान्त रहँदै आएको छ। पख्तुन, ताजिक, हाजरा, उज्बेक, ऐमक, तुर्कमेन, बलुच एवं दर्जनौं जातीय समूहको बसोवास रहेको यस मुलुकमा उक्त जातीय समूहहरूबीच कहिले एकता हुन सकेन। अनवरत कलह भइ नै रह्यो। सङ्घर्ष भइ नै रह्यो। डरलाग्दो युद्ध भइ नै रह्यो। र त्यो कलहले गर्दा अनेक शक्तिराष्ट्रहरू अफगानिस्तामा पसे। अप्रत्यक्ष शासन गरे। सन् १९८० पछि त तत्कालीन सोभियत रूसले अफगानिस्तानमा ठूलो सङ्ख्यामा सैन्यबल नै उता–यो। अहिले पनि अफगानिस्तानमा अमेरिकालगायत विभिन्न देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। अफगानिस्तानमा चलेको अनवरत सङ्घर्षमा लाखौं अफगानीको ज्यान गइसकेको छ। मारिने क्रम अहिले पनि जारी छ। २० लाख अफगानी अहिले पनि पाकिस्तान तथा इरानमा शरणार्थी जीवन बिताइरहेका छन्। यो आलेख तयार पारिरहँदासम्म अफगानिस्तानको कुनै स्थानमा बम पड्केको हुन सक्छ।
कट्टरपन्थी धार्मिक सङ्गठन (तालिबानीहरूको समूह) र उदारवादीहरू बीच राम्रो मेलमिलाप हुन नसकेर अफगानिस्तान बरबाद भइरहेको छ। अफगानिस्तानमा गरीबी बढ्दो क्रममा छ। जीवन असुरक्षित छ। अफगानहरू भय र त्रासको वातावरणमा बाँच्न अभिशप्त छन्। यदि अफगानिस्तानमा यी विभिन्न जातीय वा शक्ति–समूहबीच राम्रो मेलमिलाप हुने हो भने यो मुलुक गरीबीको दुष्चक्रबाट छिट्टै बाहिर आउन सक्छ। साधन र स्रोतको कमी यो मुलुकमा छैन। अफगानीस्तानको ‘बामियान’ पर्यटनको लागि विश्वमा नै प्रसिद्ध छ। तर अफसोच १ बामियानका विश्वप्रसिद्ध मूर्तिहरू नष्ट पार्न तालिबानीहरूले धेरैपटक बमले प्रहार गरिसकेका छन्। गरीबीबाट मुक्त पार्न सक्ने पर्यटनका पूर्वाधार समाप्त पारेर देशमा कसरी समृद्धि ल्याउन सकिन्छ ? तालिबानीहरूले किन यो कुरा नबुझेका होलान् ? बुभूूmन् पनि कसरी ? धर्मान्धताले उनीहरूको आँखामा पट्टी बाँधिदिएको छ। धर्मान्धता अफगानिस्तानको राजनीतिक अस्थिरता र गरीबीको समेत प्रमुख कारण बन्न पुगेको छ। उदार विचारका अफगानीहरूलाई आफ्नो मुलुकमा बस्न अहिले सहज छैन।
नेताहरूको स्वार्थले गतिहीन नेपाल
देशमा आर्थिक समृद्धि छिटै आउला। भनसुनको जमानाको अन्त्य होला। आफ्नो योग्यता अनुसार मानिसले रोजगार पाउला। जागीर निगाहमा निर्भर रहने छैन। विभेद अन्त्य हुनेछ। यस्तै आशाले नेपाली जनतालाई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्न उत्प्रेरित गरेको थियो। सङ्घर्ष त सफल भयो, तर नयाँ व्यवस्थामा सत्ता सञ्चालनका लागि, जनताले सही र इमानदार प्रतिनिधि छान्न सकेन। मतदाताहरूले आफ्नो स्वार्थलाई मध्यनजर गरी छानेका जनप्रतिनिधिहरू स्वार्थी निस्के र उनीहरूका क्रियाकलाप केवल आफ्नै स्वार्थको वरिपरि  घुमिरह्यो। जनप्रतिनिधि वा नेताहरूबीच हुने शक्ति सङ्घर्षले नेपाललाई अपेक्षाकृत गतिमा समृद्धिको दिशातर्फ लग्न सकेन। यसरी हाम्रो गरीबीको कारण हामी नै बन्न पुग्यौं किनभने हामीले स्वार्थमुक्त भएर इमानदार जनप्रतिनिधि रोज्न, निवार्चित गर्न सकेनौं। राम्रो होइन, हाम्रो नेता भन्यौं। नेताको चरित्र होइन, ऊ मैले रोजेको दलको हो–होइन भन्नेतिर ध्यान दियौं। अब फरक किसिमले सोचौं। ओली र दहालको शक्ति सङ्घर्षको पछि नलागौं।
हामी आफ्नो गरीबीको लागि स्वयंै जिम्मेवार छौं।
एक समय नेपाल झन्डै जातीय दङ्गामा फसिसकेको थियो। जनताले निवार्चित गरेका नेताहरूले नै आफ्नो स्वार्थका लागि, मधेसी र पहाडीबीच, जातीय झगडाको बीउ छरेका थिए। देशलाई बर्बाद गर्न खोजेका थिए।
त्यो समयमा पहाडे र मधेसी समुदायबीच ठूलो मनोमालिन्य सृजना भएको थियो। सयौं वर्षदेखि सँगै बसोवास गरिरहेका तराईका पहाडे परिवारहरू, पहाडेबहुल क्षेत्रमा बसाइँ सर्न बाध्य भएका थिए। तर यस्तो स्थिति सामान्य पहाडे वा मधेसीहरूले गरेर भएको थिएन, दुवैतिर (पहाडे, मधेसी) का नेताहरूले यस्तो स्थिति सृजना गरेका थिए। पछि सामान्य मधेसी र पहाडेहरूको सदाशयता एवं सक्रियतामा यी दुई समुदायबीचको मनोमालिन्य समाप्त भएको थियो। अहिले नेपालमा मधेसी र पहाडे समुदाय मिलेर, नङ र मासुजस्तो भएर बसेका छन्। यी दुई समूहबीच कुनै समस्या छैन। तर एक कालखण्डमा केही स्वार्थी नेताहरूले यी दुई समुदायबीच ठूलै सङ्घर्ष गराउन खोजेका थिए। त्यो सङ्घर्षबाट फाइदा लिन खोजेका थिए।
अन्त्यमा, हाम्रो गरीबीका लागि र हाम्रो समृद्धिका लागि हामी स्वयं नै जिम्मेवार छौं। हामीले नै, हाम्रो सुकर्म, सद्भाव एवं मेलमिलापद्वारा आफूलाई गरीबीबाट मुक्त पार्ने हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्