नाम मात्रको वीरगंज–रक्सौल नाका बन्द

0
143

राधेश्याम पटेल, वीरगंज, ३ मङ्सिर/
वीरगंज–रक्सौल नाका नाम मात्रको बन्द रहेको देखिएको छ। भारत सरकारले गत कात्तिक ५ गते एकतर्फी रूपमा भारतीय सीमा आवतजावतका लागि खोलेपछि नेपाल सरकारको सीमा बन्दको नियम पालनामा कठिनाई भइरहेको छ।
नेपाली अधिकारीहरूका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा एक देशले लकडाउन लगाएको र एक देशले लकडाउन खोलेको अवस्थामा सीमा क्षेत्र व्यवस्थित गर्न समस्या भइरहेको बताएका छन्। जिल्ला सुरक्षा समिति पर्साका एक सदस्यले भने–“भारतले सीमा खोलेको छ, नेपाल सरकारले मङ्सिर मसान्तसम्म सीमा शिल राख्ने भनेको छ, तर जनता कन्फुज छ, कोही बन्दको अवस्था मान्न तयार छैन, दुवै जनता पुरानो लयमा फर्किन खोजिरहेको छ।”
यसरी दैनिक वीरगंज–रक्सौल नाकामा ओहोरदोहोर गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको पाइन्छ। भारत सरकारको चाडपर्वको बेला भारतीय सीमा बजारलाई मलजल गर्ने योजना छ भने नेपाली होटल तथा पर्यटन व्यवसायी पनि नेपाल सरकारले सीमा खोलेर नेपाली बजारको होटल तथा पर्यटन व्यवसायको महोल बनाउन ध्यान दिनुपर्ने बताउँछन्।
बिहार विधानसभा चुनावको पूर्व सन्ध्यामा भारतले सीमा खोल्दा नेपाल फसेका नेपालीहरू स्वदेश फर्के भने दशैं, तिहार र छठको अवसरमा भारतीय बजारलाई पनि फाइदा भएको छ।
तर नेपालमा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जान सक्छ भन्ने कारणले नेपाल सरकारले भारतबाट आउजाउ रोक्न मङ्सिरसम्म सीमा बन्द राख्न चाहेको छ। तर नेपालको सीमावर्ती क्षेत्रका जनता र राजनीतिक अगुवाहरूले सीमा खोलेर होटल तथा पर्यटन व्यवसाय पुनरुत्थानका लागि सरकारले सोच्नुपर्ने कुरामा जोड दिएका छन्।
वीरगंजसम्म आएर पैदल मितेरी पुलकै बाटो भारतका विभिन्न शहरमा गएर हवाई यात्रासमेत गर्ने गरेका छन्। नेपालभन्दा भारतीय बजारमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामग्री सस्तो पाइने भएकोले नेपाली जनताको भारतीय सीमावर्ती बजारमा आकर्षण पुरानो छ।
रक्सौलमा अहिले काठमाडौं,चितवन, हेटौडा, वीरगंज, कलैया, निजगढ, चपुरलगायत क्षेत्रबाट बजार गर्नेहरू आउने गरेका छन्। वीरगंज भन्सारको पुरानो कार्यालयबाट पैदल मितेरी पुल सम्म पुगेपछि अटोले रक्सौल पु–याइदिन्छ। यसमा दुर्ई देशबाट आउजाउ गर्ने हजारौं सर्वसधारणलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले जति सम्झाउँदा वा रोक्दा पनि रोक्न नसकिएको सशस्त्र प्रहरीका एकजना अधिकृत बताउँछन्।
“सीमा क्षेत्रबाट आफन्तजन कहाँ जाँदैछु, अस्पताल जाँदैछु, खेतबारी जाँदैछु भन्छन्”–उनले भने–“बजार गर्न गइरहेको छु भन्छन्, कतिजनालाई रोक्ने, कहाँ राख्ने, कतिपटक झडप पनि भयो, त्यस कारण उच्च सतर्कता अँगालेर सामान चेकजाँच मात्र गर्न भ्याएका छौं।”
भारतले एकतर्फी सीमा खोलेपछि रक्सौल बजार गुलजार भएको छ भने वीरगंजको बजार पुनः सुक्न थालेको व्यवसायीहरूको भनाइ छ।
रक्सौलका पत्रकार राजेश केशरीवालका अनुसार कोरोना महामारीले सीमा बन्द हुँदा रक्सौल बजारले करीब ७ महीना ठूलो घाटा बेहोरेको थियो, तर भारतले सीमा खोलेपछि नेपालीहरू जान थालेका छन्, पुनः रक्सौलमा कारोबार तथा चहलपहल बढ्न थालेको छ।
वीरगंजका व्यवसायीहरू सीमा बन्द हुँदा भन्सार छलेर वा तस्करीको सामान नेपाल भित्रन रोकजस्तै लागेको बताउँछन्। “लकडाउनपछि वीरगंज खुल्दा राम्रो कारोबार भएको थियो, उद्योगीको माल बिक्री पनि नगदमैं हुन्थ्यो”–उनले भने–“अहिले पुनः वीरगंज बजारको बिक्री घट्न थाल्यो, सबै रक्सौल जान थालेका छन्। सामान पनि उधारो जान थालेको छ।”
चाडपर्व तथा बिहेबारीको समयमा लत्ताकपडा, किराना सामग्री, बिस्कुट, कस्मेटिक, चिनीलगायत सामान नेपाली बजारभन्दा सस्तो पाइने हुँदा भारतीय बजार जानुपर्ने नेपालीहरूको बुझाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्