प्रस, ठोरी, ३ मङ्सिर/
ठोरी गाउँपालिकाको निर्मलबस्तीमा सम्पन्न दोस्रो निर्मल गोल्डकप फूटबल प्रतियोगिताको उपाधि सुवर्णपुरले जितेको छ। मङ्गलवार साँझ सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुवर्णपुरले टाइब्रेकरमा निर्मल समाज युवा क्लबलाई पराजित गरेको हो।
निर्धारित समयको खेलमा दुवै टीमले १–१ गोल गरी बराबरी भएपछि टाइबे्रकरबाट परिणाम घोषणा गरिएको हो। टाइबे्रकरमा दुवै टीमका ११–११ जना सहभागी थिए। सुवर्णपुरले १० गोल ग–यो भने निर्मल समाज युवा क्लबले ९ गोल मात्र गर्न सक्यो। प्रतियोगिताको विजयी सुवर्ण क्लबलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदीय शङ्कर चौधरीले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। दोस्रो हुनेलाई गापा अध्यक्ष पद्मलाल श्रेष्ठले रु २५ हजार ५ सय नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए।
फाइनल प्रतियोगिताका उत्कृष्ट खेलाडी मिलचोकका प्रदीप लामा घोषित भए। यसैगरी सबैभन्दा बढी गोल गर्ने खेलाडीमा सुवर्णपुरका राजेश परियार घोषित भए। दुवैजनालाई नगद रु ५–५ हजार र ट्रफी प्रदान गरिएको थियो।
फाइनल खेलको समापन कार्यक्रममा जिसस पर्साका उपसभापति ठाकुर न्यौपाने, वडाध्यक्ष बद्रीबहादुर पाख्रिन, रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, नेका महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठ, जसपाका केन्द्रीय सदस्य अन्जान शाक्य, रत्नविक्रम स्याङबो, नेकपा ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेविसङ्घ पर्साका पूर्वसभापति दिलीपराज कार्की, माट्रिका आइ फाउन्डेशनका महेशसिंह धामीलगायतको सहभागिता थियो।