छठ ः पारिवारिक, सामाजिक र सांस्कृतिक पक्ष

0
65

सञ्जय साह मित्र

लोक आस्थाको महापर्व हो छठ। सामान्य ग्राम्यजीवनमा पबनी भनेपछि अझै पनि छठ नै बुझ्ने गरिएको छ वा कुनै पर्वको नाम नतोकी ‘पबनी’ मात्र भन्दा पनि छठ भन्ने बुझिन्छ। वास्तवमा हो पनि। छठ आफैंमा धेरै पर्वको समुच्य पनि हो र तयारीको दृष्टिकोणले धेरै दिनदेखि तयारी गर्नुपर्ने हुनाले यसको महत्व अलि बढी भएको हो। अर्को पनि कारण छ – छठ सम्पूर्ण परिवार र समाज मिलेर मनाउँछ र यस पबनीसँगै विभिन्न सांस्कृतिक विश्वास पनि जोडिएका छन्। धेरै सांस्कृतिक धरोहरको प्रतीक छठको कृषि उपजसँग अविभाज्य निर्भरता रहने गरेको छ।
कतिपय पर्व गाउँघरमा सीमित हुँदै गएका छन्, कतिपय लोप हुने अवस्थामा पुगिसकेका छन् तर छठको विस्तार निरन्तर भइरहनुमा पारिवारिक, सामाजिक तथा सांस्कृतिक पक्ष कारक रहेको भन्न किञ्चित संशय मान्नुपर्ने अवस्था छैन।
जुन घर वा परिवारमा छठ हुन्छ, त्यस परिवारका मानिस काम वा रोजगारको क्रममा जहाँ भए पनि घर आउनुपर्छ भन्ने मान्यताको विकास भइसकेको छ। यसले गर्दा कतिपय मानिस त विदेशबाट पनि छठ मनाउन घर आइपुग्छन्, स्वदेशमा यत्रतत्र, जहाँ भए पनि, कुनै विशेष कारण परेको छैन भने छठ मान्न घर आइपुगेकै हुन्छन्। छठको खरनाको दिन साँझमा जब व्रतालुले नेओज काढ्छन् अर्थात् दिनभरि निराहार रही सFँझमा घर वा आँगनमा खीरपुरी चढाउँछन् तब परिवारका सबै सदस्य उपस्थित हुनुपर्ने, प्रसाद ग्रहण गर्नुपर्ने मान्यता छ। यो यस पर्वको महत्वपूर्ण पक्ष बनिसकेको छ। घरपरिवारका कोही सदस्य कतै छुटेका छन् वा कुनै काम विशेषले आउन सकेका छैनन् भने सम्भव भएसम्म उनको लागि पनि ढोग्ने गरिन्छ र परिवारका हरेक सदस्यले उनी कुन अवस्थामा होलान्, कहाँ होलान्, आजको समयलाई कसरी सम्झिरहेका होलान् भन्ने चिन्ता वा चासो प्रकट गरिरहेका हुन्छन्। यसैगरी छठ घाटमा पनि सम्भव भएसम्म परिवारका हरेक सदस्य पुग्नैपर्ने चलन छ। बेलुका वा बिहान दुवै साँझ पुग्दा झन् राम्रो, हैन भने कम्तीमा एक साँझ छठघाट पुग्नुपर्छ। यस्तो आत्मीयतापूर्ण बेलामा, जो गाउँ बाहिर छ उसलाई छठको दिन आफ्नो घर परिवार र गाउँको सम्झना भइरहनु स्वाभाविक हो। पारिवारिक मिलनको एउटा उत्सवबाट वञ्चित हुन पुगेको मनोविज्ञान घरबाहिर रहेकाहरूलाई तीव्रताले हुने गर्दछ।
यस पर्वको तयारी कुनै एक व्यक्ति वा परिवारले मात्र गर्दैन। गाउँटोलका अधिकांश परिवार पर्व गर्ने हुनाले कतिपय तयारी सामूहिक हुने गर्दछ। जस्तै माटोको चुलो बनाउने, गहुँ सुकाउने काम दुई चारजना वा अझ बढी व्रतालुले एकै ठाउँमा गरेका हुन्छन्। यसले सामूहिकता र सामाजिकताको सन्देश दिन्छ। यसैगरी छठ पर्वको मुख्य दिन षष्ठी तथा सप्तमीको दिन गाउँटोलका सबै मानिस सकेसम्म एकै ठाउँमा भेला भएर अर्घ दिने र श्रीसप्ताको पूजा गर्ने चलन छ। यो हरेक व्रतालुको छुट्टाछुट्टै व्रत भएर पनि सामूहिक सामाजिक पर्व हुन पुगेको छ। हरेक व्रतालुले जलाशयमा सूर्यलाई अर्घ दिन्छन्। सूर्यलाई अर्घ दिएर एक ठाउँमा बस्छन्। एक ठाउँमा व्यवस्थितरूपले व्रतालुलाई बस्न जुन व्यवस्था मिलाइन्छ, त्यसमा समाजको सहभागिता हुन्छ। कतिपय ठाउँमा चन्दा उठाएर बस्ने व्यवस्था मिलाउने र जाग्राम बस्ने व्रतालुको लागि भजन–कीर्तनको व्यवस्था मिलाइएको हुन्छ। छठ पबनीको लागि बनाइएको ठाउँमा सफाइ, टेन्टको व्यवस्था तथा सजावटमा अब धेरै खर्च हुन थालेको छ। यसको व्यवस्थापन र नेतृत्व समाजले नै गर्ने गरेको छ। यी तथ्यहरूले गर्दा छठ सामाजिक–सामूहिक पर्व बन्न पुगेको छ। व्रतको प्रारम्भदेखि नै एक अर्कालाई सहयोग गर्ने, सहयोगको भावना राख्ने तथा सामूहिक तयारी गर्ने प्रकृतिको पर्व पनि हो छठ। यसैले अद्यपर्यन्त ग्रामीण समुदायको छठघाटमा गाउँको कोही व्यक्ति देखा पर्दैन भने उसको सोधखोज पनि हुने गर्दछ।
मधेसी समुदायमा पहिलोचोटि छठ पबनीको शुरूआत गर्ने महिलाले माइतीबाट गर्नुपर्ने सामान्य परम्परा छ। यो बाध्यता त होइन तर परम्परा रहेकोले त्यस्ता महिलाको पहिलो छठ व्रतको शुरूआत मिलेसम्म माइतीमैंै गरिन्छ। यसले दुई परिवार र दुई समाजलाई जोड्ने काम गरेको स्पष्ट देखिन्छ। फेरि यसलाई संस्कृतिको हस्तान्तरण वा पुस्तान्तरणको दृष्टिकोणले समेत महत्वपूर्ण मान्न सकिन्छ। छठ पबनी सकिएपछि दिदी, बहिनीकहाँ कोसेली पठाउने प्रचलन छ। यसले गर्दा चेलीको माइती र घरको सम्बन्धको हार्दिक वा आत्मीय विस्तारमा निकै सहयोग गरेको छ। दुई गाउँका दुई परिवारबीच निश्चित तिथिमा पुनर्मिलनको संस्कृतिले यस पबनीको जिवन्ततालाई अझ उजागर गर्दछ। यस दिन पबनीको कोसेली लिएर भाइ, दाजु वा बुवा, भतिज पुग्छन्। यो सामान्य सोचाइ हो, सम्बन्धको ऊर्जा लिएर पुगेका हुन्छन्। अहिले सञ्चारको समयमा मोबाइलबाटै हरेक दिन कुराकानी भइरहन्छ तर यस दिन कोसेली–संस्कृतिले जुन आत्मीयता ग्रहण गरेको छ, त्यो अन्यत्र दुर्लभ हुन्छ। जुन घरपरिवारमा छठ पबनी गरिंदैन, त्यस परिवारका छोरी, दिदी, बहिनी, फुपूकहाँ छठको कोसेली लगिन्छ, पु–याइन्छ अर्थात् माइतीबाट कोसेली लिएर कोही आउँछ भन्ने आशा हुन्छ।
कोसेलीको मान्यता यदि सामान्य हुँदो हो त आजभोलि बजारमा रेडिमेड पाइने विभिन्न सामान लिएर जाँदा पनि हुन्थ्यो तर यस्तो गरिन्न। पबनी नगरे पनि छठ पबनीमा चढाइने सामग्री पकाएर कोसेली पठाउने चलन छ र चेलीहरूले पनि यही आशा गरेका हुन्छन्। माइतीमा छठ पबनी हुँदैन तर पनि कोसेली आउँछ भनेर गर्व गर्ने वातावरण हुन्छ। यसै गरी छठ पबनी नहुने र कोसेली पनि नआउने चेलीले धेरै खल्लो अनुभव गर्छन्। यसले गर्दा छठको सांस्कृतिक पक्ष निकै बलियोगरी निर्माण भएको छ। नयाँ कपडा लगाउनु, समूहमा कार्य गर्नु, गाउँका मानिस एकै ठाउँ भेला हुनु, महिलाहरूको सबैभन्दा ठूलो जमघट हुनु, चेलीहरू माइती पुग्नु वा माइतीबाट कोसेली आउनुजस्ता पक्षले यसको सामाजिक सांस्कृतिक पक्षलाई बलियो बनाएको छ। यसैगरी बिदागरी संस्कृति पनि छठ पबनीसँगै रहेको निकै महत्वपूर्ण संस्कृति हो।
छठ मधेसीहरूमध्ये केही हिन्दू परिवारले मात्र गर्ने चलन थियो। बिस्तारै गाउँघरमा यो हरेकको पर्व बन्न पुग्यो। मधेसी समुदायको सबैको साझा पर्वको रूपमा रहेको छठले बिस्तारै मधेसी समुदायको सीमा नाघिसकेको छ। अब पहाडी समुदायमा पनि छठको लोकप्रियता बढिरहेको छ। यद्यपि इस्लाम तथा बौद्ध समुदाय, अत्यल्प भएपनि यस पर्वलाई मान्न थालेका छन्। व्रत गर्न थालेका छन्। यसबाट यस पर्वको सांस्कृतिक महत्ता विस्तार भएको देखिन्छ र यस पर्वको बलियो सांस्कृतिक आधार खडा हुँदै गएको प्रमाणको रूपमा देख्न सकिन्छ। यसबाट यो पनि सङ्केत पाइन्छ कि तराई–मधेसमा आविर्भाव भई विश्वभर फैलिएको र फैलिंदै गएको छठ पबनीले छुट्टै संस्कृतिको स्थापना गरेको र अन्य धर्मावलम्बीले समेत मान्न थालेकोले शताब्दीयौंसम्म यो पर्व लोप हुने सम्भावना देखिन्न।
हिन्दू समुदायभन्दा अन्य धार्मिक समुदायले समेत छठ पबनीमा आस्था र श्रद्धा गर्ने गरेको पाइएको र यसको विस्तार पनि हुँदै गइरहेकोले छठको सांस्कृतिक विस्तार हुँदै गएको वा छठ पबनीले सांस्कृतिक हस्तक्षेप बढाएको विश्लेषण पनि गर्न सकिन्छ। भाइटीका सकिएकै दिन तिहार सकिने परम्परागत  मान्यताविपरीत भाइटीकाकै दिनदेखि छठको औपचारिक तयारी शुरू हुन्छ। गोवद्र्धन पूजा गरेर महिलाहरू छठ पबनीको सङ्कल्प गर्दछन् र त्यही दिन छठको लागि नयाँ चुलो बनाउने काम शुरू हुन्छ। यसैगरी छठको सामग्री बनाउने गहुँ सुकाउने काम शुरू हुन्छ। दुई दिनपछि ‘नहा–खाएके’ हुन्छ। पञ्चमीको दिन ‘खरना’, षष्ठीको दिन ‘सँझियाघाट’ र सप्तमीका दिन बिहान ‘उदाउँदो सूर्यलाई अर्घ’ दिएपछि छठ सम्पन्न हुन्छ। यस अवधिमा छठ पर्वको विभिन्न उपक्रम सम्पन्न हुने हुनाले यो स्वयंमा सांस्कृतिक समुच्य भएको पर्व स्पष्ट हुन आउँछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्