सपना भङ्ग हुँदैछ

0
56

नेपाली जनताले देश र आफ्नो सुख–सुविधा र उन्नतिको लागि राजनीतिक दलहरू तथा तिनका नेताहरूमाथि सा–है विश्वास गरेर कैयौंपटक आन्दोलन ग–यो। राजतन्त्रजस्तो पुरानो व्यवस्था उखेल्न कत्ति बेर लाएन। बलिदान दियो, पाउनु सास्ती र हण्डर खायो। यी सबका पछाडि अभिनव नेपाल निर्माणको सपना लुकेको थियो। नेपाल र नेपालीको उन्नति प्रगति होस्, सबैले दुई गाँस राम्ररी खान पाऊन्, राम्रो लाउन पाऊन्, विदेशीका सामु अपहेलित र  अपमानित हुनु नपरोस्, पुर्खाले कमाएको नाममा बढोत्तरी होस्, किमार्थ कमी नहोस्, आफ्नो मालिक आफैं बनूँ, आफूखुशी जीवन गुजार्न पाइयोस्, राज्यबाट आजीविकामा सहयोग पुगोस्, देश–विदेश भौंतारिनु नपरोस्, कोही बेरोजगारी नहोस् भन्ने सपना थियो। तर सबै सपना भताभुङ्ग भएको छ। जनताले जसमाथि विश्वास ग–यो, जुन दलमाथि पत्यार ग–यो, जुन नेताको कुरामा लाग्यो, उनै दल, नेताहरूले धोखा दिए। सत्तामा पुग्न पाएको छैन, कुर्सीमा टाँसिइरहने लिसो बने। दलहरूका सिद्धान्त कागज र भाषणमा सीमित बने, व्यवहारमा द्रव्यमोह, स्वार्थ, सङ्कीर्णता र पद लोलुपतामात्र देखियो।
सबै राजनीतिक दलहरू जनतालाई झुक्याएर सत्तामा पुग्नका लागि तमाम आश्वासन र सपना बाँट्दा रहेछन् भन्ने कुरा प्रजातन्त्रवादी कहलिएका र साम्यवादी भनिएका दलहरूको मूल प्रवृत्ति देखियो । जनता आफैंले निर्वाचित गरेको सरकारको त यस्तो चाला भयो भने अहिले फेरि राजतन्त्रको नारा उचालेर पनि जनताले के पाउने हो ? तर जनता ठूलो भेलमा परेर बगिरहेको पराल समातेर पार हुने सम्बल खोजिरहेको छ। यसमा अन्ततोगत्वा दोष जनताकै देखिन्छ। किनकि राजनीतिक दल वा व्यक्तिलाई त पाँचपाँच वर्षमा फेर्न सकिन्छ, यस परिवर्तनका लागि आन्दोलन नै गर्नुपर्दैन, तर राजशाही त हतपत फेर्न पनि पाइँदैन। नेपाली शासकहरूले सिकेको कुरा एउटा मात्र हो, शासन गर्ने। सेवा गर्नु पनि शासकको कर्तव्य हो भन्ने कुरा कसैले जान्नै चाहेन। त्यसैले हामी बलियो छौं, अझ बलियो बन्यौं भन्ने विश्वास दिलाउन नेकपा एमाले र नेकपा माओवादी मिले। जनतालाई विश्वास दिलाएर सत्तामा पुगे तर बहुमत दिएको जनतालाई बिर्सेर आफैं स्रष्टा, आफैं कर्ता बनेको भ्रममा परे। अनि सत्ताकै लागि किचिलो गर्न थाले। देशको विकास निर्माणको काममा सत्ताधारी, ठूलो रकमको किनबेचमा सत्ताधारी, जनता त फेरि पनि रैतीको रैती नै।
विवेकशील नेताले जनतालाई डो–याउँछ, तर नेपालमा भने विवेकशील त के, नेता नै जन्मन सकेन। त्यसैले उसले जनतालाई डो–याएर देशको कायाकल्प गर्न सकेन। अवसर त थुप्रै पाएको हो। अरू देशमा गठबन्धनको सरकारले देशलाई उन्नतिको चुचुरोमा पु–याउन सक्छ, नेपालमा बहुमत मात्र होइन, एकमना सरकारले समेत एउटा सिन्को भाँच्न सक्दैन। आजसम्म त्यस्तो भएको देखिएन। अवसर त नेपाली काङ्ग्रेसको सरकारले पनि पाएको हो र अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि पाएकै छ। सतीले सरापेको देश यसै भनिएको रहेन छ नेपाललाई। जो सत्तामा पुग्छ, अन्धो र बहिरो बन्न पुग्छ। आफूबाहेक अरूको अस्तित्वलाई नै स्विकार्दैन। अहिले ओली र दाहालबीचको किचिलो देशका लागि होइन, सत्ताको लागि हो। दुवै सत्ताको शीर्षमा बसिसकेका हुन् तर दुवैले जनताको सपना भङ्ग गर्नुबाहेक गर्न केही सकेका छैनन्। यिनले गर्ने भनेको जनताको स्वप्नभङ्ग मात्र हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्