भदौमा लिएको ऋण तिर्न अहिले भ्याइ नभ्याइ छ डोम समुदायलाई

0
21

प्रस, गरुडा, २ मङ्सिर/
रौतहट, गढीमाई नगरपालिका–२ हथिऔलका इन्दल मल्ली दिन रात ढक्की बुन्न व्यस्त छन्।
स्थानीय बज्जिका भाषामा दौरा भनिने ढक्की बुन्न मल्लीको पूरा परिवार लागेको छ। गएको भदौमा एकजना साहुसित लिएको दश हजार ऋणको ब्याजसमेत तिरेर कम्तीमा दश हजार आम्दानी गर्ने लक्ष्य मल्ली परिवारको रहेको छ।
मधेसी समुदायको अत्यन्तै पछाडि परेको डोम समुदायका अधिकांश मानिसको, गर्मीमा हाते पंखा र नाङ्लो बुनेर बजारमा बेची गुजारा चल्ने गर्दछ भने छठ पबनीको समयमा दौरा र सुपली बुनेर राम्रै आम्दानी हुने गर्दछ।
डोम समुदायले बुनेको दौरा र सुपलीमा छठ पबनीको सामग्री राख्ने परम्परा रहेको छ। यसैगरी पछाडि परेको अर्को समुदाय बिन जातिले बुनेको छैंटी र ढक्की पनि छठ पबनीमा प्रयोग हुँदै आएको छ। अहिले दौरा, सुपली तथा ढक्की बुन्नेहरूले दिनरात परिश्रम गरिरहेका छन्।
छठ पबनीको समयमा बुनेको दौरा र सुपली बेचेर हरेक वर्ष कम्तीमा दश हजार रुपियाँ बचत गर्ने गरेको इन्दल मल्ली बताउँछन्।
गत वर्ष पनि साहुको ऋण र ब्याज तिरेर दश हजार रुपियाँ बाँकी बचेको माघ फागुनसम्म त्यसैले गुजारा गरेको मल्लीको भनाइ छ।
गरुडा, कटहरिया, वृन्दावन, चन्द्रपुरसहित रौतहटका साथै तराई मधेसका अधिकांश जिल्लाका डोम समुदाय अहिले छठ पबनीको सामग्री राख्ने दौरा र सुपली बुन्न व्यस्त छन्। इन्दल मल्लीको जस्तै तराई–मधेसका अधिकांश डोम समुदायको कथा छ–स्थानीय टेङर मल्ली बताउँछन्। तराई–मधेसमा दलित समुदायमा पर्ने अत्यन्तै पछाडि परेको डोम समुदायको जीवनयापनलाई चाडपर्वले भरथेग गरेको बुद्धिजीवीहरूको भनाइ छ।
गरुडा नगरपालिका–९ श्रीपुरका प्रधानाध्यापक रामअधार पासवानले डोम समुदाय अत्यन्तै पछाडि परेको भए पनि उल्लेख्य प्रगतिमूलक सहयोग कतैबाट हुन नसकेको बताए। डोम समुदाय परम्परागत पेशाबाट बडो मुश्किलले जीवनयापन गरिरहेको प्रअ पासवानको भनाइ छ।
दुर्गा भगवती गाउँपालिकामा जम्मा आठ परिवार डोमको लागि गापाले पक्की घर बनाइदिएको भए पनि रोजगारको व्यवस्था नहुँदा जीवनयापनमा समस्या भएको बताइएको छ। परम्परागत पेशाले डोम समुदायको जीवन चलाउन गाह्रो भइरहेकोले वैकल्पिक उपाय गर्नु आवश्यक रहेको प्रअ पासवानको भनाइ छ।
तराई–मधेसको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठमा डोमले बुनेको सामग्री उपयोग हुने परम्परा रहेकोले संस्कृतिले नै डोम समुदायको सम्मान गरेको गढीमाई नगरपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्