द्रोणपर्व– २१

0
29

उमाशङ्कर द्विवेदी
अब अभिमन्युको हातमा ढाल तरबार पनि रहेन, सम्पूर्ण अङ्गमा बाण बिझेको थियो, त्यसै दशामा उनी आकाशबाट ओर्लेर क्रोधले मुर्मुरिएर हातमा चक्र धारण गरी द्रोणाचार्यतिर झम्टे । त्यति बेला उनी चक्रधारी भगवान् विष्णुझंै लाग्दथे । उनलाई देखेर राजाहरू अत्यन्त भयभीत भए तथा सबैजना मिलेर उनको चक्रलाई टुक्रा–टुक्रा पारिदिए । अनि महारथी अभिमन्युले धेरै ठूलो गदा हातमा लिएर अश्वत्थामामाथि हानिए। बल्दै गरेको बज्रझैं गदा आफूतिर आइरहेको देखेर अश्वत्थामा रथबाट ओर्लिएर तीन पाइला पछि सरे । गदाको मारबाट उनका घोडा, पाश्र्वरक्षक र सारथि मारिए । यसपछि अभिमन्युले सुबलका पुत्र कालिकेयलाई तथा उनका सतहत्तरजना अनुचर गान्धारहरूलाई मारेर सिध्याए । फेरि दशजना बसातीय महारथीलाई तथा सातजना कैकय महारथीको संहार गरेर दशवटा हात्ती पनि मारिदिए । तत्पश्चात् दुःशासनकुमारको रथ र घोडामा गदा प्रहार गरी चूर्ण पारिदिए । यो देखेर दुःशासनपुत्र पनि क्रोधले मुर्मुरिएर हातमा गदा लिई अभिमन्युतिर हानिए, अनि त दुवैले एकअर्कालाई मार्ने इच्छाले परस्पर गदा प्रहार गर्न थाले । दुवैमाथि गदाको अग्रभागको चोट प¥यो र दुवैजना भुइँमा लडे । दुःशासनकुमार पहिले उठेर अभिमन्यु अझै उठ्दै गरेको अवस्थामा उनको टाउकोमा गदाको भयङ्कर प्रहार गरे । त्यसको प्रचण्ड आघातबाट अभिमन्यु पुनः बेहोश भएर लडे । यस प्रकार एउटा बालकलाई धेरैजना वीर मिलेर मारे ।
आकाशबाट चुँडिएर खसेको चन्द्रमाझैं त्यस शूरवीरलाई रणभूमिमा लडेको हेरेर अन्तरिक्षका प्राणीहरू पनि हाहाकार गर्न थाले । सबैले एक स्वरमा भने– द्रोण र कर्ण आदि सातजना महारथी मिलेर यस एक्लो बालकको वध गरेका छन्, यसलाई हामीले धर्म मान्दैनौं । चन्द्रमा र सूर्यतुल्य कान्तिमान अभिमन्युलाई यस प्रकार भूमिमा लडेको देखेर तपाईं पक्षका योद्धाहरूलाई बडो हर्ष भयो र पाण्डवहरूको ह्दयमा अत्यन्त पीडा भयो । सञ्जयले भने– राजन्, अभिमन्यु अझै बालक नै थिए, युवावस्थामा उनको पदापर्ण भइ नसकेको अवस्था थियो । ती वीर मारिने बित्तिकै युधिष्ठिरले हेर्दाहेर्दै सम्पूर्ण पाण्डव सेना भाग्यो । यो देखेर युधिष्ठिरले ती वीरहरूसित भने– वीरहरू हो, युद्धमा मृत्युको अवसर आइपर्दा पनि अभिमन्युले पिठ्युँ फर्काएनन् । तिमीहरू पनि ऊजस्तै धीरता राख, न डराऊ । हामी निश्चय नै शत्रुमाथि विजय पाउनेछौं । यस्तो भनेर युधिष्ठिरले आफ्ना दुःखी सैनिकको शोकहरण गरे । अभिमन्यु श्रीकृष्ण र अर्जुनको समान पराक्रमी थिए । उनी दश हजार राजकुमार तथा महारथी कौशल्यलाई मारेर मरेका थिए । यसमा कुनै सन्देह छैन कि उनी पुण्यवान्हरूको अक्षयलोक जानेछन्, अतः उनका लागि शोक आवश्यक छैन । सञ्जयले भने–महाराज, यस प्रकार हाम्रो सेना, पाण्डवका ती श्रेष्ठ र प्रबल वीरलाई मारेर र उनको बाणबाट पीडित एवं रगताम्य भई साँझपख छाउनी फक्र्यो । त्यति बेला श्रेष्ठ योद्धाहरूले रगतको खोलो नै बगाएका थिए, जुन वैतरणी समान भयङ्कर तथा दुस्तर थियो । रणभूमिको मध्यमा बगिरहेको त्यो रगतको खोलोले जीवित तथा मृतक सबैलाई आफ्नो प्रवाहमा बगाउँदै लगिरहेको थियो । अनेकौं गींड त्यसमा नाचिरहेका थिए, रणस्थल हेर्दैमा डरलाग्दो भइसकेको थियो ।
सञ्जयले भने– महाराज, महावीर अभिमन्यु मारिएपछि सबै पाण्डव योद्धा रथ छाडेर, कवच थन्काई धनुष फालेर राजा युधिष्ठिरको चारैतिरबाट घेरा बनाई बसे र मनमनै अभिमन्युलाई सम्झँदै उनको युद्धकौशलको स्मरण गर्न थाले । भाइको पुत्र अभिमन्युजस्तो वीर मारियो, यति सोचेर युधिष्ठिर बडो दुःखी हुँदै विलाप गर्न थाले– गाईको झुन्डमा कुनै सिंहको बच्चा प्रवेश गरेझैं केवल मेरो प्रिय गर्ने इच्छाले द्रोणको दुर्भेद्य व्यूहमा गइपस्यो, युद्धमा जसको सामु पर्दा बडेबडे धनुर्धारी र अस्त्रविद्यामा कुशल वीरहरू पनि भागे, जसले हाम्रो कट्टर शत्रु दुःशासनलाई आफ्नो तीक्ष्ण बाणले लगा¥यो, त्यो वीर अभिमन्यु द्रोणसेना रूपी महासागरलाई पनि तरेर दुःशासनकुमारको छेउमा मृत्युलाई प्राप्त भयो । सुभद्राकुमार मारिएपछि अब म अर्जुन वा सुभद्रालाई कुन मुख देखाउने ? श्रीकृष्ण र अर्जुनलाई अब मैले यो दुःखद समाचार कसरी सुनाउने ? म कति निर्दयी छु, जुन सुकुमार बालकलाई भोजन र शयन गर्ने, सवारीमा चढाएर हिंडाउने तथा भूषण–वस्त्र लगाइदिनुपर्दथ्यो, त्यसलाई मैले युद्ध गर्न अघि सारें । त्यो तरूण कुमार युद्धकलामा अझै पूर्ण प्रवीण भइसकेको थिएन, अनि कसरी कुशलतापूर्वक फर्कन सक्दथ्यो ? अर्जुन बुद्धिमान्, निर्लोभी, सङ्कोची, क्षमावान्, रूपवान्, बलवान्, ठूला–बडालाई मान दिने, वीर र सत्य पराक्रमी छन्, जसले अभय चाहने शत्रुलाई पनि अभयदान दिन्छ, उसैको बलवान् पुत्रको पनि हामीहरूले रक्षा गर्न सकेनौं । बल र शानमा जसको कुनै तुलना थिएन, त्यस अर्जुनकुमारको वध भएपछि अब विजय पाएर पनि मलाई प्रसन्नता हुनेछैन । ऊविना पृथ्वीको राज्य, अमरत्व अथवा देउताहरूको लोकको अधिकार पनि अब मेरो कुन कामको ?
क्रमशः…

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्