दुई मित्रको टेलिफोन वार्ता

0
37

मुकुन्द आचार्य

–    हेलो ! के छ यार हालखबर ?
–    उस्तै–उस्तै हो । एजन एजन नै हो । खासै क्यै छैन यार !
–    विशेष खबर खाबर क्यै छ कि ? अचेल कोरोनाको करामात के कस्तो छ ? वीरगंज त दुई नम्बर प्रदेशको हीरो शहर हो नि ! यहाँबाट निस्कने आर्थिक तरङ्गले सिङ्गो देशकै आर्थिक जलाशयलाई तरङ्गित पार्दछ । पुरानो नामूद नगरी पो हो त वीरगंज चानचुने नठान्नु ।
–    जेहोस् कोरोनाको कुरा छ, त्यो अब प्राथमिकतामा कदापि पर्दैन । वीरगंजको सदाबहार विषय त तस्करी नै हो । त्यो अमर छ ।
–    कस्तो कुरा गर्छौ यार तिमी पनि । कोरोना भाइरस अहिले विश्वव्यापीरूपमा नम्बर एक खतरा बिमारी हो । सजिलोसँग सरूवा–बढुवा हुन सक्ने निजामती कर्मचारी जस्तै त हो नि यो मोरो ज्याद्रो कोरोना पनि !
–    यार ! तिमीले त लास्टै हावादारी गफ ग¥यौं नि । हो, केही समयअघिसम्म भने दुई नम्बर प्रदेशमा कोरोनाको बिगबिगी थियो । तर अब त्यो स्थिति छैन । यस प्रदेशको जनताले आफ्नो वीरता, शौर्य, आँट र चतु¥याइँले कोरोनालाई लखेटेर मारिसके । कोरोना त अब अतीतको दुःस्वप्नजस्तो भइसक्यो । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी कतै पनि कोरोनाको काइँकुइँ सुनिंदैन । अब त हाइसन्चो छ यार । हो… तस्करी चैं यहाँको सदाबहार मौसम हो ।
–    होला तिमीले भन्या कुरा युधिष्ठिरको ‘नरो वा कुञ्जरो वा’ जस्तै हुन सक्छ । तैपनि मलाई त पत्यार लागेन। यसमा अवश्यै पनि शकुनिको दाउजस्तो कुनै घातक स्थिति लुकेको भान भइरहेको छ ।
–    शङ्का–उपशङ्का, संशय, सन्देश आदिको त कुनै औषधि नै हुँदैन । त्यसैले त महान् धार्मिक ग्रन्थ गीतामा भगवान् कृष्णले ठोकुवा गरेर भन्दिए– संशयत्मा विनश्यति । अर्थात् जे कुरामा पनि शङ्का–उपशङ्का गर्नेको विनाश निश्चित छ
–    तर विज्ञानले त भन्छ शङ्का गर्ने, प्रश्न सोध्ने प्रवृत्तिले संसारमा विकास, निकास, प्रकाशका ढोकाहरू खुल्दै जान्छन् रे ! त्यसैले कोरोनाको भयलाई हटाएर दरो आत्मविश्वास राख्दै कर्म क्षेत्रमा कुदिहाल हे मनुवा ! यस्तो हावादारी गफलाई सकारात्मक सम्बोधन भन्ठानेर जथवा तथवा गरि नहिंड्नु है । ज्यान रहे मात्रै यो संसारको रमिता स्वादिलो लाग्छ । कोरोनाले जोजसलाई ट्याप्प टिप्यो र क्वाप्पै खाइदियो, ती बिचराहरूका लागि त महाप्रलय नै भएन त ? छिन्ने मूले नैव शाखा न पत्रम् । जरा नै काटिएपछि हाँगा बिग्रेर पात त त्यत्तिकै सुकिहाले नि! हैन र ?
–    यार तिमी जेसुकै भन, तर सद्दे मनुवालाई तर्साएर बिरामी बनाएर, त्यसको सातोपुत्लो उडाएर कर्मबाट विमुख नबनाऊ । मस्तीका साथ बाँच्ने उसको जन्मसिद्ध अधिकार त नखोसोस् उसबाट ।
तिमीलाई पत्यार लाग्दैन होला । यहाँ आएर त हेर । सारा पसल खुलेका छन् । प्रत्येक पसलमा केटाकेटीदेखि बूढाबूढीसम्म भुलेका छन् । अड्डा, अदालत र कार्यालयहरूमा उत्तिकै भीडभाड छ । एक रूपियाँको सय रूपियाँ बनाउने जादूगर बेपारीहरू प्रचारको डमरू डिमडिम–डिमडिम बजाएर सोझासाझालाई शब्दको जालमा लठ्याएर स्वदेशमैं लाहुरे भएर लुटिरहेका छन् ।
सरकार भनाउँदा जन्तुको उपस्थिति त कतै देखिन्न । करोडौंको सुन तस्करी समातिन्छ । तर खास तस्कर वा तस्करीको नाइके (डन) भने कहिल्यै समातिन्न । ट्रकका ट्रक हरियो केराउ समातिन्छ तर देश र जनतालाई यस्ता घटनाले अलिकति पनि छुँदैन । तस्करीमा समातिएको वस्तु राज्यकोषमा गयो ? गए त ठीक छ । गएन भने त्यो रकम कहाँ पुग्यो ? असली तस्कर प्रमुख भने किन कहिल्यै समातिंदैन । नोट र भोटको खेल ?
यस्ता महान् विषयहरू हुँदाहुँदै किन बीचमा कोरोनाको राग गाउने ? संसारमा आएपछि लुटी ल्याऊ भुटी खाऊ । कोरोना नहुँदा पनि दिनहुँ मान्छे त मर्थे । मसानघाटमा लाशको लाइन लागेकै हुन्थ्यो । बेफ्वाँकमा कोरोनालाई दोष दिएर क्यै हुनेवाला छैन । बिमारी त निहुँ मात्र हो, मान्छेले मर्न कहिले छाड्यो र ? तिमी आफ्नो काम खुरूखुरू गर १ कोरोनाले आफ्नो काम छाड्दैन भने, हामीले किन काम छाड्ने ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्