दीपावलीः पौराणिककालदेखि प्रेम र स्वच्छताको निरन्तरता

0
67

राजेश मिश्र

“दिया ले लीं दिया” दीपावली नजीकिंदै जाँदा यी स्वरहरू गली–गलीमा सुनिन्छन् । दियरी बनाउने काम कुम्हाल जातिको परम्परागत पेशा हो। आज देशभरि धूमधामसँग दीपावली मनाइँदैछ । धनतेरस, जम दियरी, दियरी बत्ती (लक्ष्मीपूजा), गोवर्धनपूजा, बजडी (भाइटीका/भैयादूज) गरी पाँच दिन मनाइने यस पर्वको इतिहास धेरै पुरानो छ । यो पर्व नेपालसँगै भारत र संसारका अन्य देशहरूमा समेत धूमधामले मनाइन्छ ।
धनतेरसको दिन सुन, चाँदी, भाँडाकुँडालगायत यथाशक्य सामग्री खरीद गर्ने प्रचलन परापूर्वकालदेखि निरन्तर छ । मधेसको प्रचलन अनुसार लक्ष्मीपूजाको पूर्वसन्ध्यामा ‘जम दियरी’ हुन्छ । यस दिन एकमात्र ‘दियरी’ घरबाहिर गोबरको कुण्डमाथि पूजाआजा गरी बाल्ने प्रचलन रहि आएको छ । यद्यपि वर्तमान समयमा गाईवस्तु घरघरमा पाल्ने विगतको निरन्तरता शून्यप्रायः छ। जसको कारण गोबरको कुण्ड लोपप्रायः छ। तसर्थ ‘जम दियरी’ बार्दली वा सडकपेटीमा बालेर पूजा गर्ने बाध्यता विद्यमान छ ।
दीपावली अर्थात् लक्ष्मीपूजा वा तिहारको दिन सफासुग्घर पारिएको हुन्छ । सजावट गरिएको हुन्छ । घरआँगनमा साँझपख माता लक्ष्मीको पूजनको साथै दियाको झिलिमिलिले माहोल अति शान्तिमय र आनन्दमय अनुभूति हुन्छ । दीपावलीको भोलिपल्ट घरअगाडिको बार्दली, आँगन वा सडकमा गाईको गोबरले ‘गोधन’ बनाएर गोवर्धनपूजा गर्ने परम्परा अनादिकालदेखि निरन्तर छ । यस दिन बहिनीहरूले भाइहरूलाई सराप्ने चलन छ । यस दिन भाइलाई सराप्नाले आयु वृद्धि हुने किंवदन्ती छ ।
“गोधन भैया मरस,
चकवा भैया मरस,
भैया (दाइको नाम लिएर) मरस
बबुवा (भाइको नाम लिएर) मरस”

भोलिपल्ट ‘बजडी’ अर्थात् भाइटीकाको दिन बहिनीहरूले जिब्रोमा ‘रेङ्गनीको काँडा’ले घोचेर एक दिनअघि सरापिएका दाइभाइजनहरूलाई सरापमुक्त गर्दछन् । बहिनीहरूले आफ्नै जिब्रोमा काँडाले किन घोच्छन् ? किनभने उनीहरूले प्यारा दाइभाइलाई सरापेकोप्रति खेदस्वरूप आफूले आपैंmलाई सजायस्वरूप जिब्रोमा रेङ्गनीको काँडाले घोच्छन् ।
“गोधन भैया चलले अहेरिया,
खिडलिच बहिना देहलि असिस नु हो,
उनकर बहिना देहलि असिस नु हो,
जियसु मोरे भैया,
जियसु लाख बरिस नु हो”

यस मर्मबोधक लोकगीतले भाइप्रति बहिनीकोे ममत्व कति छ ? भन्ने कुरा दर्शाउँछ । चौबाटोमा आसपासका महिलाहरू जम्मा भएर ‘मुसल’ले ‘गोधन’ कुट्ने यो मधेसको मनमोहक संस्कृति हो । धनतेरसदेखि शुरू भएको पाँच दिवसीय दीपावलीको ‘बजडी’ अर्थात् भाइटीका अन्तिम दिन हो ।  
यस पर्वको महŒव मात्र होइन, इतिहास पनि छ । सोहीमध्येका केही पौराणिक इतिहास यस प्रकार छन् ।
प्रकट भइन् माता लक्ष्मी
कात्तिक मास अमावस्याको दिन माता लक्ष्मी क्षीर सागरबाट प्रकट भएकी थिइन् । त्यस कारण आजको दिन माता लक्ष्मीको पूजा गरिन्छ । प्रत्येक वर्ष आजको दिन घरआँगन सजाएर माता लक्ष्मीको स्वागत गर्दै पूजा गर्ने प्रचलन परापूर्वकालदेखि निरन्तर छ ।
भगवान् श्रीरामको घरफिर्ती
रामायणसँग सम्बन्धित धार्मिक ग्रन्थहरूका अनुसार त्रेता युगमा कात्तिक अमावस्याको दिन पत्नी सीता र भाइ लक्ष्मणसहित भगवान् श्रीराम अयोध्या फर्केका थिए । उनीहरूको स्वागतमा अयोध्यावासीले दीप प्रज्वलित गरेर, मिठाई बाँडेर उत्सव मनाएका थिए । सोही बेलादेखि भगवान् श्रीरामको खुशियालीमा प्रत्येक वर्ष दीप जलाएर दीपावली मनाउने प्रचलन रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
राजा बलिको द्वारपाल विष्णु
दैत्यराज बलि दानवीर थिए । उनको राज्यमा दया, दान, अहिंसा र सत्य व्याप्त थियो । सुशासन स्थापित यस राज्यको रक्षाको लागि भगवान् विष्णुले राजाको द्वारपाल बन्न स्वीकार गरे । कात्तिक मास पूर्णिमाको दिन उनले राजाको धर्मनिष्ठा बचाउनको लागि तीन दिनसम्म ‘अहोरात्र महोत्सव’ गर्ने निश्चय गरे । उक्त महोत्सव ‘देव दीपावली’को नामले प्रसिद्ध छ । यस दिन गङ्गा नदी वा आआफ्नो क्षेत्रका नदीहरूमा ‘नहान’ अर्थात् स्नान गरी नदी किनारमा दीप प्रज्वलित गर्ने परम्परा छ । देव दीपावली छठ लगत्तै पूर्णिमाको दिन मनाइन्छ अर्थात् यो दिन कात्तिक मासको अन्तिम दिन हो ।
गोवर्धनपूजा
भगवान् श्रीकृष्णद्वारा इन्द्रको ठाउँमा गोवर्धन पर्वत अर्थात् प्रकृतिको पूजा शुरू गर्न लगाएपछि रिसाएका इन्द्रले विनाशकारी वर्षा गराए । तत्पश्चात् श्रीकृष्णले इन्द्रको घमण्ड चकनाचुर गर्नको लागि गोवर्धन पर्वतलाई औंलामा उठाएर गोकुलवासीको प्राण रक्षा गरेका थिए । सोही बेलादेखि कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिको दिन गोवर्धनपूजाको प्रथा शुरू भएको मान्यता छ ।
बजडी अर्थात् भैयादूज/भाइटीका  
पौराणिक मान्यता अनुसार यमुना सधैं आफ्नो भाइ यमराजलाई घर आउन र भोजन ग्रहण गर्नको लागि आग्रह गर्थिन् । तर यमराज आउन भ्याउँदैनथिए । एकपटक कात्तिक द्वितीया तिथिको दिन जब यमराज बहिनी यमुनाको घर आए, तत्क्षण यमुनाले भाइसँग वचन लिइन् कि अबदेखि आजको दिन प्रत्येक वर्ष आउनुपर्छ । त्यसैले ‘बजडी’ अर्थात् भैयादूज/भाइटीकाको प्रचलन स्थापित भएको लोकमान्यता छ ।
परम्परागत दीपावली
“बबुओ जो ना तेल पेरवा के ले आव, ना त दिया कथि से बाराई, तोर माई दिया किन लेले बाडी” बुबाले छोरालाई भन्दैछन् । पुर्खाहरूले दीपावलीमा माटोको दियो, सरसो/आलसको तेल, स्वनिर्मित सुती कपडाको बत्ती प्रयोग गर्थे। देहातदेखि बजारसम्म माटोको दियो र माटोको घण्टी बिक्री गरिन्थ्यो । नगदीभन्दा पनि धान/गहुँ वा चामल/पीठोलगायतका अन्नबाट दियो साटिन्थ्यो । एक सय गोटा दियोको खरीदमा बढीमा पाँचवटासम्म मात्र पाकेको दियो पाइन्थ्यो । दियो खरीद गरिसकेपछि पानीले सफा गरी घरको देवस्थानमा राखिन्थ्यो अर्थात् पूर्णरूपेण पवित्रताको ख्याल राखिन्थ्यो ।
दशैंअघिदेखि घर लिपपोतको कार्य शुरू भएर दीपावलीअगावै सकाउनुपर्ने धौधौ हुन्थ्यो, जुन हालसम्म पनि कायम छ । दीपावलीको एक/दुई दिनअघिदेखि घरको ढोका (केंवाडी), अलमारी, चौकी (खाट)लगायतका सामग्रीहरूको सरसफाइ गरिन्थ्यो । कतिपयले जोसँग बयलगाडा थियो, उनीहरू गाडामा लोड गरेर नजीकको पोखरी वा तलाउमा सफा गर्नको लागि बिहान लिएर जान्थे । यो कार्य दीपावलीको दिनसम्म हुन्थ्यो । दिनभरि घाममा सुकाइसकेपछि दिउँसो पुनः केंवाडी, अलमारीलगायतका सामग्री यथास्थानमा लगाइन्थ्यो । सस्तो पर्ने हुनाले आलसको तेलले काठबाट निर्मित समग्र घरायसी सामग्री टल्काइन्थ्यो । सजावटको लागि रङ्गीन कागजको प्रयोग गरिन्थ्यो ।
गोधुलीको समय घरको देवस्थानमा फलफूल, अगरबत्ती, नैवेद्य, मिठाईका साथै दीप प्रज्वलित गरेर पूजा गरिन्थ्यो । मिठाईको सवालमा बतासा र लड्डुबाहेक अन्य प्रकारका मिठाई पाइँदैनथियो । लक्ष्मीपूजामा माटोको घण्टी बजाउने प्रचलन अपवादबाहेक निरन्तर छ । तत्पश्चात् आसपासका मन्दिर, इनार तथा घरका प्रत्येक कोठा, बार्दलीलगायतका स्थानमा मानिसहरूले दीप जलाएपछि घर मात्र होइन गाउँबजार झिलिमिलि हुन्थ्यो । दीपावलीको बिदाइसँगै वर्षे कीराहरू पनि समाप्त हुने अवस्था नवपुस्ताको लागि एकादेशको कथाझैं लाग्न सक्छ ।
दीपावलीको दिन पटका पड्काउने प्रचलन विगतदेखि नै स्थापित रहे पनि आजको जस्तो पटाकाप्रति प्रहरी प्रशासन यतिविघ्न संवेदनशील थिएन । यद्यपि सीमापारिबाट किनेर ल्याइरहँदा कतिपयको पटाका प्रहरीले नियन्त्रणमा लिन्थ्यो । जब गाउँघरभन्दा पनि प्रहरी कार्यालयहरूमा पटाकाको आवाज बढी गुञ्जायमान हुन्थ्यो, तब मानिसहरूले भन्थे, “आमजनबाट खोसेको पटाका प्रहरीहरूले पड्काइरहेका छन् ।”
आधुनिक दीपावली
“माई रे दिया कमे किनिहे, जा तानी बाजारे, चिकमिकिया/झालर किनले आएम” देहातका एक युवा आमालाई भन्दैछन् । आधुनिकतासँगै प्राकृतिक माटोको दियोको सट्टा विद्युतीय झालर बत्तीको उपलब्धताले प्राकृतिक दियोको प्रचलन पातलिंदै गएको देखिन्छ । दीपावलीको दिन दियोको ज्योतिसँगै नष्ट भएर जाने कीरा–फट्याङ्ग्रालगायतका कीटाणुहरू विद्युतीय सामग्रीको प्रयोगले नष्ट हुनुभन्दा पनि वृद्धि हुने क्रम बढ्दो छ । वर्तमान समयमा वर्षभरि कीरा–फट्याङ्ग्राको प्रकोपको शिकार मानव शरीरले खेप्नुपरिरहेको छ । विगतमा प्रायः कच्ची घर हुन्थ्यो र लिपपोतको लागि माटो र गोबर आवश्यक पथ्र्यो । वर्तमान अवस्थामा प्रायः पक्की घर भएकाले विभिन्न रासायनिक रङ्गहरूको प्रयोगले सजावट आदिको कार्यलाई विगतभन्दा सुलभ छ भन्नुपर्छ ।
दीपावलीको मूलभूत सन्देश
दीपावलीको मूलभूत सन्देश अँगाल्नुभन्दा पनि आधुनिकताको नाममा मानव समाज पृथक बाटोतर्पm उन्मुख भइरहेको यथार्थ स्पष्ट छ । चाडपर्वको सवालमा परम्परागत विधि र शैली लोप हुँदै जाँदा यसको मूल्य मानवजीवनले चुकाइरहेको यथार्थ पनि हामी माझ छर्लङ्ग छ । जीवनचक्रमा प्रेम र स्वच्छताकोे महŒव कति छ ? भन्ने कुरा विज्ञानको उदयअघिदेखि नै पुर्खाहरूले प्रेम र स्वच्छतालाई दीपावलीको रूपमा अँगालेको कुरा स्पष्ट छ । दीपावली पौराणिककालदेखि प्रेम र स्वच्छताको निरन्तरता हो । बाह्य जीवनसँगै घरआँगन र आफूले प्रयोग गरिरहेको प्रत्येक संसाधनको सरसफाइप्रति जागरूक हुनुपर्र्छ भन्ने दीपावलीको मूलभूत सन्देश हो ।
वर्तमान समयमा जोडतोडका साथ विश्वव्यापीरूपमा सरसफाइसम्बन्धी अभियान चलिरहेको सबैलाई ज्ञात छ । यद्यपि स्वच्छताको सवालमा पुर्खाहरूले पौराणिककालदेखि नै दीपावलीको रूपमा अभियानलाई निरन्तरता दिएकोे अकाट्य सत्य हो ।
परम्परागत चाडपर्वहरू उद्देश्यमूलक सन्देश बोकेको मानवजीवनको आधारशिला हो भनी सम्झनुपर्दछ । आधुनिकता बढेसँगै परम्परागत संस्कृतिलाई वैज्ञानिकताको कसौटीमा मापन गर्नुभन्दा पनि विशुद्धरूपमा पौराणिक इतिहासबारे चेतना हुनु आवश्यक छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्