तस्करीको काठबाट सःमिल र फर्निचर उद्योग सञ्चालित

0
35

प्रमोद यादव, पंचगावाँ, २८ कात्तिक/
पर्सा जिल्लामा सञ्चालित सःमिल र फर्निचर उद्योगहरूको तथ्याङ्क सङ्कलन गर्न डिभिजन वन कार्यालय, पर्साले सहायक वन अधिकृत शशिकान्त तिवारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ ।
डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत एवं सूचना अधिकारी वशिष्ठनारायण पटेलले जिल्लामा फर्निचर उद्योगहरू सयभन्दा बढी र सःमिल ८४ वटा दर्ता रहेको बताए । उनले सःमिल र फर्निचर उद्योगको तथ्याङ्क अद्यावधिक गर्न र स्वीकृत सःमिल, फर्निचर उद्योगको गणना गर्नुका साथै नवीकरण र इजाजतविना सञ्चालित सःमिल, फर्निचर उद्योगको तथ्याङ्क सङ्कलनको लागि ३ सदस्यीय समिति बनाएको बताए ।
पर्सा जिल्लामा जङ्गल क्षेत्रभन्दा चार किलोमिटर दूरीमा फर्निचर उद्योग तथा सःमिलहरू सञ्चालन गर्नुपर्ने कानूनी प्रावधान छ । तर जङ्गलनजीक ठूलो सङ्ख्यामा सःमिल र फर्निचर उद्योग सञ्चालित छन् र त्यहाँ नियम कानूनको पालना गरिएका छैनन् । खासगरी पर्सा जिल्लाको उत्तरी क्षेत्रमा जङ्गलनजीक रहेका वीरगंज महानगर, पर्सागढी, बहुदरमाई नगरपालिका तथा सखुवाप्रसौनी, जीराभवानी, पटेर्वासुगौली, ठोरी गाउँपालिकाहरूमा सःमिल, फर्निचर उद्योगहरू सञ्चालित छन् ।
सखुवाप्रसौनी गापाको वडा नं ३, ४ र ५ को कौवा वनटोल, प्रसौनी, कटैया, महुवन, देउरवानामा ४ वटा सःमिल र १५ वटा फर्निचर उद्योग सञ्चालित छन् । यसैगरी, जगरनाथपुर गापा–२, ३, ६ को जानकीटोला, जगरनाथपुरमा ३ वटा सःमिल, ४ वटा फर्निचर उद्योग छन् । बहुदरमाई नपा–४ डोकैला बहुअरीमा १ सःमिल र ६ वटा फर्निचर उद्योग छन् । पर्सागढी नपा–६ बागेश्वरी तित्रौनामा १ सःमिल छ भने वीरगंज महानगर–३१ बेलवा र रतनपुरमा ६ वटा फर्निचर उद्योग छन् ।
जङ्गल क्षेत्रसँग जोडिएका गापामा जीराभवानी गापा–२, ५ शङ्करसरैया, हरैया, भतौडा र वसन्तपुर पर्छन् । पटेर्वासुगौली–२ र ४ गदियानी, कञ्चनपुर, बैरिया, वनकटवा, वैद्यनाथपुर, विश्रामटोल, रङ्गपुरटाँडी, बङ्कुल पर्छन् । यसैगरी, सखुवाप्रसौनी गापा–१ र २ मा मधुवन मथवल, सखुनिया, औराहा, सथवल, खजुरिया, प्रसौनी पर्छन् । पर्सागढी नपा–१, २, ३ मा मनवा, पशुपतिनगर, जमुनाटोल, बडेर्वा, बडनिहार, पकडीटोल, हरपुर, जिंगना, पंचरूखी, छटैली, झबराहा पर्छन् ।
यहाँ सञ्चालित सःमिल, फर्निचर उद्योगहरूले तस्करहरूसँग काठ सङ्कलन गर्ने र भारत तथा पर्सा जिल्लाका विभिन्न स्थानमा पु¥याउँछन् । सःमिल र फर्निचर उद्योगहरूको लागि आवश्यक काठ कानूनीरूपमा डिभिजन वन कार्यालय, पर्साले गर्ने लीलामबाट प्राप्त हुन्छ । तर दुई वर्षदेखि डिभिजन कार्यालयले काठको लीलामी गरेको छैन । साझेदारी वन उपभोक्ता समितिले आफ्नो उपभोक्ताहरूलाई मात्र काठ उपलब्ध गराउँछ भने आपूर्ति समितिले दैवी प्रकोपमा परेका र घर निर्माणका लागि आवश्यक काठ उपलब्ध गराउने गरेको छ भने डिभिजन वन कार्यालयले लीलाम, बिक्री गर्ने गरेको छ । तापनि फर्निचर उद्योग र सःमिल चलिरहेका छन् । अहिले पर्सा जिल्लामा सञ्चालित सःमिल र फर्निचर उद्योगहरूले वीरगंजमा रहेका सःमिलबाट पुर्जी लिएर काठ खरीद गरेको देखाइ राष्ट्रिय वनबाट तस्करीको माध्यमबाट आउने काठको प्रयोग गरिरहेका छन् ।
छापामारी गर्ने अथवा पक्राउ परेपछि वीरगंजका सःमिलको पुर्जी देखाउने गरिएको छ । वीरगंजका सःमिलले बाराका विभिन्न स्थानबाट लीलाम सकार गरी काठ ल्याउने गरेको र सोही छुट पुर्जी सःमिल र फर्निचर उद्योगलाई बिक्री गर्ने गरेको स्रोतले जनाएको छ । डिभिजन वन कार्यालय, पर्साले जङ्गलमा ढलेको, तस्करहरूले ढालेको काठ सङ्कलन गरेर साझेदारी वन व्यवस्थापन समिति, जिल्ला आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट लीलाम बिक्री गर्दै आएको छ । यो कार्य अहिले दुई वर्षदेखि हुन सकेको छैन । लीलाम बिक्री रोकिएको अवस्थामा सःमिल र फर्निचर उद्योग सञ्चालन हुनुले वन कर्मचारीहरू पनि अचम्मित छन् । सबैलाई थाहा छ, सःमिल, फर्निचर उद्योग कसरी सञ्चालित हुँदैछन् तर त्यसबारेमा सोधखोज गरिएको छैन ।
१५ क्युफिट काठ बरामद
प्रस, बिरूवागुठी, २८ कात्तिक/
डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत शशिकान्त तिवारी नेतृत्वको वनगस्ती टोलीले १५ क्युफिट काठ बरामद गरेको छ ।
वीरगंज महानगरपालिका–२९ रतनपुर निवासी इमान हुसेन अन्सारीको घरमा छापा मारी त्यहाँ अवैध किसिमले राखिएका ४२ थान चिरान काठ बरामद गरिएको सहायक वन अधिकृत तिवारीले बताए । यसैगरी, गएराति सबडिभिजन वन कार्यालय, सबैयाको टोलीले पर्सागढी नपा–३ झुन्डीटारबाट ३ थान सालको गोलियासहित ३ वटा साइकल बरामद गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्