अभ्यन्तरमा दीपोत्सव होओस् ज्ञानको

0
24

सञ्जय मित्र

प्रकाशविहीन दीप हुन सक्दैन । जहाँ दीप छ त्यहाँ प्रकाश हुन्छ । दीप उज्यालोमा भए पनि त्यसले दिने प्रकाश नै हो । हो, दीपले दिने प्रकाशभन्दा बाहिरको प्रकाश बढी हुन पुग्दा दीपको प्रकाशको मूल्य कम हुन्छ । मूल्य कम हुनु भनेको मूल्यहीन हुनु होइन । उज्यालोमा बलेको दीपको उज्यालोको महŒव नभए पनि बलेको दीपले दीपकमा जीवन रहेको अनुभूति दिलाउँछ । यसर्थ दीपकको महŒव छ र अँध्यारोमा दीपकले काम दिन्छ भन्ने विवेक प्रदान गर्दछ । दीप भन्नु पनि एक अर्थमा यही विवेक हो, ज्ञान हो, प्रकाश हो । निरर्थक भाँडो होइन, जसरी जीवन निरर्थक हुन सक्दैन । निभेको दीपकजस्तै निरर्थक जीवनदीपलाई उसको मूल्य बुझाउनुपर्ने हुन्छ।
बौद्ध दर्शनमा पनि प्रकाशको महŒवलाई उच्च स्थान दिइएको छ । अप्पो दीपो भवः भनी प्रकाशको त्यस महŒवलाई प्रकाशित गरिएको छ, जसमा व्यक्ति आफैं प्रकाशवान बन्नुपर्ने बताइएको छ । हरेक व्यक्ति विशिष्ट हुन्छ र हरेक व्यक्ति आफैंमा प्रकाश पनि हो । प्रकाशलाई चिन्नुपर्दछ र आफूभित्रको प्रकाशलाई बाहिर ल्याउनुपर्दछ । प्रकाश स्वतः प्रकाशित हुने अवस्था पनि हुन्छ तर पनि वातावरणले प्रभाव पार्दछ। वातावरणले प्रकाशलाई प्रभाव पार्दछ भन्नाले अँध्यारोमा प्रकाशको महŒव बढी हुन्छ र उज्यालोमा प्रकाशको बाह्य महŒव कम हुन्छ । प्रश्न उठ्छ, उसो भए प्रकाशको लागि अँध्यारो नै आवश्यक छ त ?
भौतिक प्रकाश र अभ्यन्तरको प्रकाशमा भिन्नता हुन्छ । अभ्यन्तरको प्रकाश र बाह्य जगमगाहटमा सार र रूपको भिन्नता हो । प्रकाशको धर्म आलोकित पार्नु नै हो । अभ्यन्तरको आभाले सर्वप्रथम त स्वयंलाई प्रकाशित गर्दछ र पछि अन्यले देख्न थाल्दछन् र अन्यलाई देखिने बन्नुका साथै अन्यलाई देखाउने साधन वा मार्ग पनि बन्दछ । स्वयं प्रकाशित हुन कतिपयको मतमा बल्नुपर्दछ, जल्नुपर्दछ वा साधनाले खारिनुपर्दछ । आफूलाई प्रकाशयोग्य बनाउनुपर्दछ । सर्वप्रथम आफूलाई पहिचान गरेर त्यस अनुरूपको ऊर्जा आफूमा भर्नुपर्दछ वा आफ्नो ऊर्जाको अनन्त स्रोतको खोजी गरी उचित निकास दिनु पर्दछ । सूर्यलाई सूर्यले नै उज्यालो दिएको छ र सूर्यले आफ्नो ऊर्जाको स्रोत आफैंले निर्माण गरेको भनिन्छ ।
बाह्य जगमगाहट रूप हो, अभ्यन्तरको आभा चाहिं सार हो । दीपावलीको समयमा जो झिलीमिली घरबाहिरबाट झुन्ड्याइन्छ, त्यसले पनि प्रकाश नदिने होइन तर त्यो झिलीमिली मात्र हो । त्यस प्रकाशमा बाह्याकर्षण भने हुन्छ । हेर्दा मन लोभिन्छ । एक प्रकारको सन्तुष्टि पनि दिन्छ तर त्यसको उज्यालो त्यत्ति भरपर्दो हुँदैन । प्रकाशले गर्नुपर्ने जुन मुख्य काम हो, त्यसमा निकै कम प्रतिशत मात्र झिलीमिलीले सफलता पाएको हुन्छ । प्रकाशको प्रयोजनको अर्थमा झिलीमिलीलाई सम्भवतः उपयोग पनि गरिएको हुन्न । प्रकाशलाई प्रकाशको अर्थमा प्रयोग नगरी झिलीमिलीको अर्थमा प्रयोग गरिनुलाई निरर्थक त भन्न सकिंदैन र उपयोगविहीनताको अवस्था पनि होइन तर रूपको प्रकाश हो र सारमा प्रकाश हुन खोजेको मात्र हो, हुन सकेको होइन । प्रकाशले गर्ने कर्म जब प्रकाशले गर्दैन र पनि प्रकाश देखिन्छ भने त्यो रूपको झिलीमिली हो, बाह्य सुन्दरताले अभ्यन्तरको आभालाई प्रकाशित कदापि गर्दैन ।
भनिन्छ, दार्शनिक सुकरात निकै कुरूप थिए अनुहारले । उनमा रूपको विकर्षण थियो तर अभ्यन्तरको आभाले अद्यपर्यन्त दीपावली मनाइरहेको छ । सुकरातको दर्शनले अद्यपर्यन्त मानव समुदायलाई उज्यालो बाटो देखाइरहेको छ । सुकरातको अभ्यन्तरको प्रकाशले कैयौं दार्शनिकरूपी प्रकाशवान् दीप जन्माएको छ । हो, दीपबाट दीप प्रज्वलित हुँदा प्रथम दीपको उज्यालो कम भएको हुँदैन, महत्व झन् बढेको हुन्छ। दीपावलीको दिन घरभित्र एक पाला (दिऔरी/दियौरी) पछि अर्को पालामा अग्नि–शिखा विस्तार गर्दा प्रथम पालामा दीप कम भएको नभई कोठाको प्रकाश दोब्बर भएको हुन्छ र दुई दीप एकापसमा मुस्कुराएर संवाद गरेकोजस्तो देखिन्छ । एकपछि अर्को पाला सल्काउँदा देखिने सुन्दरताप्रति सम्भवतः पुर्खाहरू नै विमोहित थिए र त दीपावली हाम्रो संस्कार बन्न पुग्यो र अहिले विश्वमा सबैभन्दा ठूलो उज्यालोको पर्व बन्न पुगेको छ ।
दीपको महŒव अँध्यारोमा मात्र होइन, दीपसँग पनि अझ महŒवपूर्ण हुन्छ भन्ने पनि छर्लङ्ग छ । दीपावलीमा कसैले एउटा दीपक मात्र बाल्ने हो भने खल्लो हुन्छ वा दीपावलीको महŒव कम हुन्छ । हुन त दीपावलीलाई पर्वविशेष वा दीपको विशेष प्रयोजन भन्न पनि सकिन्छ तर हजारँैं वा लाखौं दीपले प्रकाशको महŒव अझ बढाएको अनुभूति दिलाउने सन्दर्भलाई ज्ञानको दीपकसित पनि एकाकार गर्ने हो भने जुन ठाउँमा अनेक विद्वान् हुन्छन् त्यो ठाउँ अन्य ठाउँको लागि उज्यालोको केन्द्र बन्दछ र जुन ठाउँमा उज्यालो मस्तिष्क बढी हुन्छन् त्यहाँ स्वतः ज्ञानको प्रकाश आलोकित भएको हुन्छ । साँच्चै उज्यालोको महŒव उज्यालोमा नै बढी यस कारण पनि हुन्छ कि उज्यालोको महŒव उज्यालोले नै बढी बुझेको हुन्छ । उज्यालोले नै उज्यालोलाई चिन्ने र उज्यालो नै उज्यालोलाई चिनाउने पनि हुन्छ । अँध्यारोले अँध्यारोलाई पनि परिचित गराउँछ होला तर अँध्यारोले आफ्नो कर्मलाई गुमनाम गर्ने तथा उज्यालोको कर्मलाई पनि छोप्ने हुनाले उज्यालोलाई देखेर अँध्यारो भाग्ने गर्दछ । अँध्यारोको अनुहार कालो हुने हुनाले उज्यालो सहन सक्दैन भन्ने भनाइ पनि छ।
हो, अभ्यन्तरको अन्धकारलाई पनि ज्ञानको प्रकाशले हटाउन सक्छ । अहिले सारा विश्वले उज्यालो–पर्व मनाइरहेको बेला अभ्यन्तरमा पनि प्रकाशको झिलीमिलीको प्रभाव परोस् । मनको अन्धकाररूपी अज्ञानलाई हटाउन ज्ञानको प्रकाश नै चाहिने हुन्छ । अध्ययनविना यो कदापि सम्भव छैन । समाज र शास्त्रको अध्ययनले मनको रातरूपी कालो अन्धकारमा ज्ञानको सूर्योदय सम्भव छ । मनमा झिलीमिली प्रकाश बल्यो भने अनुहार प्रदीप्त हुन्छ र यही आभाले समाज लाभान्वित हुन्छ । प्रकाशको पर्वमा हरेक मन उज्यालिओस् । अभ्यन्तरमा दीपोत्सव होओस्, ज्ञानको हरेकमा र हरेक प्रकाशपुञ्जले झलमल्ल आलोकित पारोस् समाजलाई !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्