अनाथाश्रम, वंशीलाल र हृदयलाल ‘कश्यप’

0
68

    कोरोनाकालमा साढे सात महीना कुँजिएपछि कतै त जानुप¥यो भन्ने सोच पलाइरहेको थियो । यो विचार दशैंको प्रारम्भ घटस्थापनादेखिकै हो । सोच थियो, बूढीलाई लिएर काठमाडौं जाउँ र घुँडाको उपचारका साथै साथीभाइहरूसँग कुराकानी पनि गरूँ र त्यतैबाट विराटनगर गएर सालीको परिवारलाई पनि ल्याएर दशैंदेखि तिहार र छठसम्म चहलपहल बढाउँ । यसरी बाहिर जाने आवश्यकता मलाई त थियो नै, बुढेसकालले छोप्दै गएको र कोरोनाको बन्दाबन्दीले हामी बूढाबूढी दुवैलाई झर्को लाग्ने, कुराकुरामा मतभिन्नता देखिनेजस्तो मनोरोगले च्याप्दै लगेको हो कि भन्ने आशङ्का पलाइरहेको थियो । दुर्भाग्य त्यसै बेला काठमाडौंबाट जसले पायो– यहाँ कोरोनाको सङ्क्रमण बढिरहेको छ, अत्यावश्यक कामबाहेक बाहिरबाट कोही नआउनुहोला भन्ने खबर टिभी च्यानलहरूले दिन थालेका थिए । झर्को लागेर आयो र कहीं निस्कन मन लागेन । म त बैठक, गोष्ठी, कहिले भर्चुअल त कहिले भौतिक कार्यक्रमहरूमा अल्झि नै रहेको थिएँ ।  बिहान–बिहान पेपरको काममा दुईतीन घण्टा बितिहाल्थ्यो । खाना खायो, सुत्यो गर्दा दोस्रो पहर पनि बित्थ्यो । अनि कोही साथीभाइ आइपुग्यो, गफ ग¥यो बारीमा गयो रूख–बिरूवाहरूको हेरचाह ग¥यो ।
    लकडाउनले मलाई दोस्रो तरीकाले पनि व्यस्त बनाइदिएको थियो–माथि छतमा फूल बगैंचा नै लगाउने प्रयास गरिरहेको थिएँ । दशैं मनाउन काठमाडौंबाट मुस्कान र मयङ्क आएका थिए । घरमा खुशी र काव्य छँदैथिए । केटीहरूले त तत्विशेष, केटाहरूले भने बगैंचाको लागि तलबाट माटो, बालुवा, खाद माथि छतमा पु¥याउने, गमलाहरूमा प्वाल पार्ने, माटो र खाद मिसाउने श्रमसाध्य काममा सघाइरहेका थिए । अर्थात् मलाईभन्दा धर्मपत्नीलाई फरासिलो परिवेश आवश्यक थियो ।
    कहाँ जाने त ? त्यति नै बेला एक दिन रौतहटबाट डा. नन्दकिशोर झाले फोन गरे । प्रकटमा हालचाल सोध्दै, अप्रकटरूपमा कोरोनाले कुनै समस्या  त छैन भनेर । मैले यहाँ सबै राम्रो छ, बरू तिमीलाई आपत्ति हुँदैन भने म तिमीकहाँ आउँछु भनें । उनले सहर्ष स्वीकृति दिए ।
    डा नन्दकिशोर आयुर्वेदका डाक्टर हुन् । हामी २०२६ सालमा सँगै ठाकुरराम क्याम्पसमा आइएस्सीमा पढ्थ्यौं। यसै पनि कहिलेकाहीं गौर जाँदा वा कुनै सभा–गोष्ठीको सिलसिलामा उनीसँग भेट भइरहन्थ्यो । मानिस असल स्वभावका, मित्रप्रेमी, समाजसेवी र विभिन्न संस्थाहरूमा काम गरेका व्यक्ति हुन् । उनले शिवनगरमा आफ्नै आयुर्वेदिक औषधि बनाउने कारखाना पनि खोलेका छन् र अहिले त्यसैलाई विस्तार गर्ने क्रममा लागेका छन् । फर्मासिस्ट जेठा छोरा सुभाष र कान्छा छोरा इन्जिनीयर मनीष झाले बाबुलाई सघाइरहेका छन् ।
    खानपिउनका शौकिन डा झा अति मिजासिला र हँसमुख स्वभावका छन् । हामी कात्तिक १७ गते सोमवारका दिन बिहान रौतहट शिवनगरका लागि कारमा हिंड्यौं । दुई घण्टा पनि लागेन शिवनगर पुग्न । कलैयाबाट सोझो बाटो रहेछ, रौतहटको जयनगर पुग्न र त्यहाँबाट ५ मिनट उत्तर लागेपछि शिवनगर । डा झा बाटोमा उभिएर हामीलाई कुरिरहेका थिए । शिवनगर म धेरै पहिले गएको थिएँ, शायद गरूडामा कुनै काम थियो र नजीकै साथीको घर र कारखाना छ भनेर भेट्न पसेको थिएँ । त्यति बेला सडकबाट साथीको घरसम्म कुनै घर थियो कि थिएन हेक्का भएन, तर अहिले त घरको माला नै उनेजस्तो मूल सडकबाट भित्र पस्दा दुवैपट्टी दामीदामी सामानले भरिएका पसलहरू लम्पसार परेका छन् । त्यसैदिन गरूडा जाँदा पनि मैले चिनेको कुनै कुराको अवशेष भेटिनँ । शान्त, प्राकृतिक सौष्ठवयुक्त गरूडा र शिवनगर त तडकभडक र तनावजन्य वातावरणको जननी आधुनिक नगरमा परिणत भइसकेका रहेछन् ।
    मित्रले बडो आत्मीयतापूर्वक स्वागत गर्दै हामी दम्पतीलाई भित्र लगे । पहिले उनको पुरानो कारखाना र पछि नयाँ बन्न लागेको फैक्ट्री डुलाए । डाक्टर नै आयुर्वेदसम्बन्धी भएपछि आँगनमा थरीथरीका जडीबुटी सुकाउन राखिएका, चारैतिर हरिया बोट–बिरूवा स्वाभाविक नै भए । त्यहाँ आजसम्म नचिनेको अर्जुन वृक्ष, पुनर्नवाको झार, लता कस्तुरीसँग परिचय भयो ।
    हामीले वीरगंजमा नाश्ता गर्ने बेलामा उनको खाना तयार थियो । सादा तर स्वादिलो दालभात, तरकारी र सलादले भित्रैदेखि तृप्त पारेको थियो । पाककलाका माहिर एकजना थारू कामदारले खाना पकाएका रहेछन् । खानाले मेरी पत्नीलाई आफ्नो पुरानो पाककलाको स्मरण गराएछ । त्यसैले त फर्केर आएपछि स्वाद नै बिर्सिसकेको दाल पकाएकी थिइन् ।
    रौतहट घुम्ने कार्यक्रम बनाउँदा शिवनगरलाई केन्द्र बनाएर समनपुर घुम्ने, गरूडा निवासी सञ्जय ‘मित्र’ कहाँ जाने, मत्सरीबाट भुटकुनलाई बोलाउने तारतम्य नमिलाएको होइन । कारण मेरो इच्छा त्यहाँ दुईतीन दिन बस्ने थियो । सञ्जय साह त अहिले गरूडामात्र होइन, त्यस भेगकै, अझ उनको बज्जिका भाषा उत्थानको अभियानले जिल्लेतर ख्याति नै पाइसकेका छन् । उनकी धर्मपत्नी रेणु पनि विवाह पूर्वदेखिकी परिचित हुन् । वीरगंजमा उनी पत्रकारितासम्बन्धी तालीममा आउँदा एउटा क्लास मैले पनि लिएको थिएँ र त्यसपछि उनले पनि प्रतीकमा केही लेखहरू लेखेकी थिइन् । तिनताक सञ्जय पनि प्रतीकसँग जोडिएका थिए । उनी मकवानपुरमा मास्टरी गरे बसेका थिए र प्रतीक दैनिक हुँदा ताकाको शुरू दिनदेखि नै लेखहरू लेखिरहन्थे जुन अद्यपर्यन्त जारी छ ।
    भुटकुनको वास्तविक नामको मलाई हेक्का छैन । तर उनीसँग मेरो कान्छो सालो राजेन्द्र र भाइ मनमोहन मनुषमारा सिंचाइ योजनामा ठेक्काको काम गर्दाको सङ्गत थियो । मलाई किनकिन ती सा¥है मन पर्छन् । त्यसैले उनीसँग पनि भेट्ने सा¥है इच्छा थियो । एक दिन अगाडिसम्म मित्र झाले उनको दिल्ली जाने कार्यक्रम छ तर पनि कार्यक्रम रद्द गरेर मसँग भेट्छन् भन्ने खबर दिएका थिए । तर दैवले जुराए पो १ आफ्नी पत्नीको स्वास्थ्य एक्कासि बिग्रेर उनी त्यहीं बिहान उपचारका लागि वीरगंज हिंडेछन् ।
    खाना खाएर हामी समनपुरका लागि हिंड्यौं । मेरो अवचेतन मनमा समनपुरको एउटा चित्र अङ्कित थियो । फराकिलो धुलौटे बाटो, पूर्वमा केही आँपका वृक्ष र त्यसको पूर्वमा एउटा ठूलो तलाउ । सञ्जयले लडैया समनपुर भनी प्रतीकमा एकाध लेख लेखेका थिए र मेरो मानसपटलमा त्यै दृश्य चित्रित हुन्थ्यो । एउटा कुतूहल थियो समनपुर जाउँ, हाम्रा वीर पुर्खाहरूले कसरी विना हतियार अङ्ग्रेज फौजलाई भगाएका थिए, त्यस ठाउँको दर्शन गरूँ । शिवनगरबाट झन्डै १० किलोमिटर टाढा समनपुर पुग्दा उखरमाउलो घाम लागेको थियो । केही पुराना मानिसलाई भेटेर पहिले कुराहरू बुझ्यौं र अङ्ग्रेजसँग युद्ध हुँदा ताका फालिएको तरबार फेला  परेको पोखरी हेर्न र प्राचीनकालमा बनेका शिवमन्दिर जुन कालक्रममा जमीनमुनि धस्दै गएको थियो र राजदेवी मन्दिरको अवलोकन गर्न पैदल नै हिंड्यौं । शिवमन्दिर पुगेपछि त बिन्दु (मेरी पत्नी) ले हिम्मत हारिन् । ओपेन बाइपास सर्जरी भएको र घुँडाले थकाएको उनले धेरै हिम्मत गर्न सकिनन् । उनलाई शिवको शरणमा राखेर हामी भने राजदेवी मन्दिर घुम्दै पोखरीसम्म पुग्यौं । पोखरी देख्दा मनै खिन्न भयो । कहाँ मानसमा बसेको विशाल पोखरी र कहाँ यो डबराजस्तो सानो तलैया । तर यो अतिक्रमणको चपेटमा परेको रहेछ । पोखरीको एकातिर सडक र दायाँबायाँ बनेका घरहरू पोखरीमाथि विजय प्राप्त गरेर आफ्नो अस्तित्व ठड्याएको उद्घोष गर्दै उभिएका थिए । पश्चिमपट्टी निकै ठाउँ भए पनि भरिएको र बाली लगाइएको र सुदूर पश्चिममा नगरपालिको वडा कार्यालय थियो।
    यति भइसक्दा म पनि लखतरान भएको थिएँ । यद्यपि मेरो घुँडाले भने लत छोडेको थिएन । केही बेर विश्राम गरी विजय स्तम्भ हेरेर फक्र्यौं ।
    अब यस लेखको शीर्षकको चुरोतर्फ लागौं । सञ्जय साहले आफ्नो लेख र समाचारमा बारम्बार गरूडास्थित अनाथाश्रमबारे लेख्ने गरेका छन् । लेखबाटै म त्यसका संस्थापक वंशीलालजीप्रति अनुगृहित भएको थिएँ । त्यहाँसम्म पुगेपछि ती मनीषीको दर्शन नगरी फर्कनु त धृष्टता नै हुने थियो । मित्र झालाई यो कुरा सुनाएँ, उनी तुरून्त तयार भए र बिन्दुलाई आराम गर्न छाडेर हामी अनाथाश्रम पुग्यौं । कोरोनाको समय, अनाथहरूको बीच जानु, त्यसमा पनि मास्कबाहेक अरू तयारी केही थिएन, मनमा केही सङ्कोच त उम्रेको थियो, तर त्यहाँको शान्त र निर्भाव वातावरणले सङ्कोचलाई पन्छाइदियो ।
    हामी छिरेको ठाउँ विद्यालय रहेछ । त्यहाँ अनाथालयका केटाकेटीलगायत छरछिमेकका विद्यार्थीहरू पढ्दा रहेछन् । विद्यालय परिसर छिचोल्दै अनाथाश्रम तिर लाग्यौं । अनाथाश्रमका संस्थापक वंशीलाल जयसवाल एउटा कुर्सीमा बसेका थिए । दा¥ही झुस्स बढेको, वृद्ध तर हट्टाकट्टा । उमेर ८४ वर्ष । आफू जागीर खाँदा उनले सडक बालबालिकाको दुर्दशा देखेर उनीहरूप्रति केही गर्ने अठोट लिएका रहेछन् । जागीर समाप्त भएपछि छोराछारीहरूसँग आफ्नो भाग लिएर ६ कठ्ठा जग्गा खरीद गरी अनाथाश्रम सञ्चालन गरेका रहेछन् । विद्यालय र उत्तर लङमा गायत्री मन्दिर उनैको देन रहेछ । अनाथाश्रममा जीविका दिने, विद्यालयमा शिक्षा र मन्दिरमा संस्कार दिने काम हुँदो रहेछ । मन्दिरमा एकजना हरिद्वारबाट आएका पुजारी पण्डित रहेछन् । उनी पनि सत्कर्मप्रति समर्पित भएर आफैं मन्दिरको लागि सबै सामग्रीको जोहो गर्दा रहेछन् ।
    अनाथाश्रमका बालबालिकाहरू आफूभन्दा ठूला कोही परिचित वा अपरिचित पनि आएका छन् भने चरणस्पर्श गरेर अभिवादन गर्दा रहेछन् । सबै निर्भय र जीवनप्रति समर्पित । अनि म पुगें वृद्ध तपस्वी वंशीलाल जयसवालसँग कुरा गर्न । आफ्नो परिचय दिएँ र उनको भावना बुझ्ने कोशिश गरें । उनी आफूले थोरै कुरा गरे र मलाई जानकारी दिन त्यही उभिएका हृदयलाललाई सङ्केत गरे । हृदयलालले र उनीसँगै उभिएकी युवतीले मलाई र डा झालाई चरणस्पर्श गरेर अभिवादन गरे ।
    हृदयलाल अनाथ रहेछन् । उनी यसै अनाथाश्रममा बसेर–पढेर योग्य बनी चेन्नईमा जागीर खाइरहेका थिए । राम्रो आमदानी थियो । उपल्लो पाँच अङ्कको तलब कमाइरहेका । उनले भने– गुरूजी (वंशीलाल) को दुःख देख्न सकिनँ, फर्केर आएँ । गुरूको उत्तराधिकारी कोही थिएन । मभन्दा पहिले तीनजनालाई उत्तराधिकारी बनाउने सोच थियो । तर सबै योग्य भएर कोही विदेश र कोही स्वदेशमैं राम्रो जीवन यापन गरिरहेका छन् । अनाथाश्रमको चिन्ता कसैले लिएन । त्यसैले चौथो नम्बरको म अब गुरूजीपछि अनाथाश्रमको रेखदेख र व्यवस्थापन गर्न मन–वचनले समर्पित भएर आएको छु । उनीसँग रहेकी युवती उर्मिला रहिछन् । उनको जन्म गरूडामैं भएको र उनी सडकमा फालिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई शैशव अवस्थादेखि नै अनाथाश्रमले हुर्काएको थियो । सर्टिफिकेटधारी उनको अनथाश्रमकै पहलमा हृदयलालसँग विवाह गराइदिइएको थियो । उनको आनीबानीले उनी सुशील र बुद्धिमति लाग्थिन् ।
    त्यसपछि हृदयलालले मलाई मन्दिरतिर लिएर गए । त्यहाँ पुजारीजीसँग कुराकानीको सन्दर्भमा आचार्य रामचन्द्रजीको परिवारको अनुयायी भएको थाहा पाएर मैले पनि खुलेर धर्म र हाम्रो संस्कारबारे कुरा गरें । किनकि आचार्य रामचन्द्र किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञानमा विश्वास गर्दथे, जातिपाति भेदभावसँग टाढा रहन्थे । त्यसै प्रसङ्गमा मैले उनीसँग कुरा अघि बढाएँ । सन्दर्भ भने अनाथाश्रमकै थियो । मैले हृदयलालसँग सोधें–तपाईंको पूरा नाम के हो ? उनले भने–हृदयलाल । मैले सोधें थर, गोत्र । उनले भने– म अनाथ मलाई कसरी थाहा हुन्छ ? मैले पुजारीजीलाई सोधें–हिन्दू धर्ममा कसैको थर गोत्र थाहा छैन भने उसलाई कश्यप गोत्र दिन सकिन्छ, होइन ? उनले कुनै जवाफ दिएनन् । अनि मैले सोधें– वंशीलालजीको गोत्र के हो ? उनले भने कश्यप । त्यसो भए सजिलो भइहाल्यो, तपाईं हृदयलाल ‘कश्यप’ । अनि थर नि ? उनको स्वाभाविक जिज्ञासा उठ्यो । थरले जातिवादी गन्ध दिन्छ । त्यसको पछि नलागौं । गोत्रले धर्मसँग मात्र सम्बन्ध राख्छ, जातिसँग होइन, यसरी जातिभेद आउन पाउँदैन । कश्यप गोत्रबारे वीरगंज आएर मैले विन्ध्यवासिनी मन्दिरका पुजारी पुरूषोत्तम अधिकारीलाई सोधें, उनले मेरो जानकारीको समर्थन गरे ।        हामी निस्कने तरखर गर्न थाल्यौं ।  निस्कने बेला हामी मन्दिरको द्वार भएर निस्क्यौं । बिदा हुने बेला उनले हात जोरेर नमस्कार गरे । मैले भनें– म फेरि पनि आउने छु । म मानिसलाई छिटै बिर्सन्छु । त्यस बेला तपाईं असजिलो नमान्नुहोला । मैले तपाईंको नाम सोध्नेछु– तपाईंले के भन्नुहुन्छ ? उनी एक छिन् निर्वाक् भए र तुरून्त जवाफ दिए– हृदयलाल ‘कश्यप’ ।
    उपसंहार– यो अनाथाश्रमबारे ममा सञ्जय साह मित्रले राम्रै जिज्ञासा जगाइदिएकाले म अति अभिभूत पनि भएको छु । अनाथाश्रमबारे फेरि छुट्टै सविस्तार लेख्ने प्रयास गर्नेछु ।  अस्तु !   – जश

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्