वीरगंज महानगरपालिकाद्वारा विद्यालयहरूको अनुगमनलाई निरन्तरता

73


प्रस, वीरगंज, २६ कात्तिक/
वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयहरूको अनुगमन निरीक्षणलाई निरन्तरता दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालय स्वास्थ्य–सुरक्षा मापदण्डको पालना गरेर कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो । विद्यालयहरू सञ्चालनमा आएपछि महानगरपालिकाले तोकेको स्वास्थ्य–सुरक्षा मापदण्ड पालना भए–नभएको, गरे–नगरेको विषयमा महानगरपालिकाले गत आइतवारदेखि अनुगमन शुरू गरेको हो । सो अनुगमनलाई बुधवार पनि निरन्तरता दिएको हो ।
वीरगंज महानगर क्षेत्रभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूमा महानगरपालिका, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार पठनपाठन भएको नभएको विषयमा अनुगमन गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । महानगरपालिकाले पाँचवटा टोली बनाएर अनुगमनमा खटाएको र अहिलेसम्म अनुगमन गरिएका विद्यालयहरूले निर्धारित मापदण्ड पालना गरेको पाइएको अनुगमनमा सहभागी वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए । उनका अनुसार विद्यालय खुलेको जानकारी पाएपछि सबै विद्यार्थी पढ्न आएपछि कतिपय विद्यालयमा सामाजिक दूरी कायम गर्न समस्या उत्पन्न भएको बताए । महानगरपालिकाले मुख्यगरी मास्क लगाउने, सामाजिक दूरी राख्ने, साबुन पानीले हात धुनेलगायत अनुगमन गरेको र कतिपय विद्यालयमा आवश्यक मास्क, सेनिटाइजर र साबुनसमेत वितरण गरिएको लामिछानेले बताए ।
वीरगन्ज महानगरभित्र ३४ वटा आधारभूत र माध्यमिक तहका विद्यालय छन् । तीमध्ये कक्षा ८, ९ र १० को पठनपाठन हुने माध्यमिक तहका विद्यालयहरूमा अनुगमन निरीक्षण भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्