आयुर्वेदका प्रवत्र्तक धन्वन्तरि

0
50

डा. रमेश मिश्र

आज कात्तिक कृष्णपक्ष त्रयोदशीको दिन आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको जयन्ती हो । आजको दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घ–संस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु, सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ किनकि प्रत्यक्ष वा अप्रत्यक्ष, अधिकांश देशमा यस दिनलाई धनतेरसको रूपमा मनाइन्छ, जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घरघरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने चलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिबारे विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक र प्रसारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद यसको प्रवत्र्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यहरूमा दृष्टिपात गर्दा धन्वन्तरि विषयक प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्वप्रथम उल्लेख वैदिककालमा समुद्र मन्थनको बेला अमृतकलश धारण गरेको देवताको रूपमा प्राप्त हुन्छ । हातमा अमृतकलश धारण गरेको कारण उनलाई पियुषपाणि धन्वन्तरि पनि भनिन्छ । यसको अतिरिक्त प्राचीन ग्रन्थहरूबाट प्राप्त विवरणहरूको अनुसार काशीराजाहरूको वंश परम्परामा राजा दीर्घ तपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छन् ।
विभिन्न पुराण– भागवत्, हरिवंश एवं ब्रह्माण्ड पुराणमा वर्णन गरिएका कथाहरू र प्राचीन ग्रन्थहरूमा चर्चित चिकित्सा विशेषज्ञहरूमा उनको उल्लेख छ । धन्वन्तरि काशीराज, दिवोदास, अश्विनीकुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूका अनुसार काशीराज धन्वले पुत्र प्राप्तिको लागि दीर्घकालीन तप गरे र उनलाई दीर्घतपा भनियो । आफ्नो दीर्घकालीन तपस्याको परिणामस्वरूप दीर्घतपाले समस्त रोग नाश गर्ने देव धन्वन्तरीलाई पुत्ररूपमा प्राप्त गरी दीर्घतपाको पुत्र धन्वन्तरि आयुर्वेदको प्रवत्र्तक, यज्ञ भागका अधिकारी एवं विष्णुको अवतार कहलिए । उनलाई अनिमा, महिमासहित आठवटै सिद्धि प्राप्त थियो तथा उनको स्मरणमात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीमरथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनका पुत्र वेदर्षि प्रवर्दनको नामोल्लेख मर्यादा पुरूषोत्तम श्रीरामको राज्याभिषेकको बेला उपस्थित राजाहरूमा काशीराज प्रतद्र्धनको रूपमा पनि पाइन्छ । प्रतद्र्धनका पिता दिवोदासलाई आदि धन्वन्तरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वमित्र पुत्र सुश्रुतसहित आठ शिष्यहरूलाई उपदेश दिंदै भनेका थिए–म नै आदि देव धन्वन्तरि हुँ र समुद्र मन्थनको बेला आविर्भूत धन्वन्तरि पनि मैं हुँ । देवासुर सङ्ग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रचार हुन नसक्दा नै मैले फेरि अवतरित हुनुप¥यो । महर्षि सुश्रुतले आफ्नो ग्रन्थ सुश्रुत संहितामा यस तथ्यलाई अभिव्यञ्जित गर्दै लेखेका छन्–
अयं हि धन्वन्तरिरादिदेवो
जन्मजरा मृत्युहरो मराणाम् ।
शल्यांगमंगे परेरूपेतः प्राप्तो
हिमगां भूय इहोपदिपटुम ।।

अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गरी अमरत्व प्रदान गर्ने म नै आदिदेव धन्वन्तरि हुँ । म अन्य अरू (सात) बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनको लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ पुराणहरू तथा संहिताबाट प्राप्त विवरण अनुसार यो सिद्ध हुन्छ कि समुद्र मन्थनको बेला भगवान् धन्वन्तरिको आविर्भाव भगवान् विष्णुको अंशको रूपमा भएको थियो तथा उनी हातमा श्वेतकलश धारण गरेर अवतरित भएका थिए ।
आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवत्र्तकका रूपमा उल्लेख गरिएको छ । ‘मिलिन्द प्रश्न’ नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी ई पूर्वमा मिलिन्दप्रति नागसेनको उक्तिमा चिकित्सकानां पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएका आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाव, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएका नागसेनले आफूभन्दा पूर्व  आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौतिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानका जनक र आयुर्वेदका प्रवत्र्तकको रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।
आयुर्वेद एउटा जीवन विज्ञान हो । यो अनुभव, अनुसन्धानमा आधारित तथा कालक्रममा विकसित स्वास्थ्य रक्षा एवं उपचारको प्राचीन पद्धति हो । आयुर्वेदमा शरीर, इन्द्रिय, मन र आत्माको संयोगबाट निर्मित मानव स्वास्थ्यको व्यक्तिगत आधारमा संरक्षण एवं रोगहरूको उपचारमा विशेष व्यवस्था गरिएको छ । मानव जीवनको सम्पूर्ण पक्षलाई बुझ्दै रोग निदान र चिकित्साको ध्यान राख्दै उपचार गरिन्छ । स्वास्थ्य एवं जीवनशैली उन्नत तथा सुचारू बनाइराख्न दिनचर्या, ऋतुचर्या एवं सद्वृत्तिको उपदेश गरिएको छ । दीर्घायु प्राप्तिका लागि स्वस्थ जीवनशैली आवश्यक छ, जुन व्यक्ति विशेषको प्रकृति अनुसार हुन्छ । आयुर्वेदमा मुख्यतया ३ प्रकारको चिकित्सा हुन्छ – दैवव्यापाश्रय, युक्तिव्यापाश्रय र सŒवावजय । आयुर्वेदमा रोगी र रोगको परीक्षाको विस्तृत वर्णन गरिएको छ । रोग एवं रोगीको देश, काल, बल आदिलाई ध्यानमा राखेर चिकित्सा निर्धारण गरिन्छ । निदान परिवर्जन, संशोधन, संशमन एवं पथ्यापथ्य व्यवस्था यी ४ बुँदाहरूमा चिकित्सा आधारित हुन्छ । औषधोपचार र चिकित्सा विधिको साथसाथै आहार एवं विहारको पनि ध्यान राख्नु आवश्यक हुन्छ । हाल आयुर्वेदका मुख्य चिकित्सा पद्धतिहरूमध्ये शरीर संशोधनको लागि पञ्चकर्म, अर्श र भगन्दरको चिकित्साको लागि क्षारसूत्र तथा स्वास्थ्य संवद्र्धन र वृद्धावस्थामा स्वास्थ्य रक्षाको लागि रासायण चिकित्सा प्रचलित छ । आयुर्वेद जीर्ण एवं कृच्छसाध्यहरूको उपचारमा बढी प्रभावित भइसकेको छ ।
यस वर्ष विश्वमा आएको कोरोना भाइरसको महामारी (कोभिड–१९ पेन्डेमिक) मा विश्वका सबै चिकित्सा पद्धति असफल भइसकेको छ । तर आयुर्वेदमा व्यवस्था गरिएको स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र कुनै
कारणले रोग लागेमा रोगोपचारको आयुर्वेदको प्रयोजन सफल भएको छ । आयुर्वेदमा वर्णित व्यक्तिगत स्वास्थ्य, दिनचर्या, ऋतुचर्या, शतवृद्धको पालना भइरहेको छ । आयुर्वेदमा वर्णित जडीबुटीहरू–अश्वगन्धा, तुलसी, गुर्जो, अदुवा, हलेदो, यष्टीमधु, बसाको सेवनले व्यक्तिमा कोरोना भाइरससँग लड्ने
क्षमता विकास भइरहेको छ । आयुर्वेदले धेरै व्यक्तिमा नयाँ जीवनको आशा पलाइदिएको छ ।  
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,
वीरगंज, पर्सा

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्