तपस्वी बम्जनलाई अदालतमा उपस्थित हुन सूचना टाँस

0
31

प्रस, निजगढ, २६ कात्तिक/
तपस्वी भनिएका रामबहादुर बम्जनको जन्मघर निजगढ नगरपालिका – १२ बुङजोरमा सोमवार प्रहरीले अदालतको म्याद टFँस गरेको छ। १८ वर्षीया बालिकाको यौन शोषण गरेको मुद्दा रामबहादुर बम्जन भनिने रामलाल बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा परेको थियो।
प्रहरीले पटक—पटक सिन्धुलीको पहिरे डाँडास्थित उनको आश्रम र तपस्वी बम्जन बस्न सक्ने सम्भावित स्थानमा छापामारी गरेपनि प्रहरीलाई छक्याउन सफल भएपछि घरमैं अदातलको ३५ दिने म्यादसहितको सूचना टाँस गर्नुपरेको प्रहरी स्रोतले जनाएको छ। मुद्दाउपर सर्लाही जिल्ला अदालतमैं उपस्थित भई कानूनी सफाइ दिन अदालतको सूचना टाँस भएको हो।
बलात्कार, हत्या,बेपत्ता र शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरी हाजीर हुन दिएको म्याद नाघेपछि प्रहरीले उनको चार महीनादेखि खोजी गर्दै आएको छ। तपस्वी बम्जन अदालतमा हाजिर हुन नगएपछि, अदालतले पठाएको सूचना इलाका प्रहरी टोली, उनकै घरमा पुगी सूचना टाँस गरेको थियो।
सो म्याद सूचना टाँसमा साक्षी बस्न घरपरिवार र बोधी श्रवण धर्म सङ्घका सदस्यहरूलाई प्रहरीले आग्रह गरेपनि नमानेपछि प्रक्रिया पूरा गर्न निजगढ नपा–१२ का वडा सदस्य टेकबहादुर स्याङतान साक्षी बसेका थिए।
सर्लाही जिल्ला सरकारी वकीलको कार्यालयले बम्जनविरुद्ध रौतहटकी गङ्गामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउँदै मुद्दा दायर भएपछि जिल्ला अदातलले बम्जनविरुद्ध असार २१ गते वारेन्ट जारी गरेको थियो।
अदालतको त्यही आदेश कार्यान्वयन गर्न निजगढ नगरपालिका–१२ मा पर्ने रतनपुरीस्थित बम्जनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्यादसहितको सूचना टाँस गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्