किसान ः खेतीको चटारोसँगै चाडको तयारी

71

सञ्जय साह मित्र
अहिलेको समय किसानको समय हो। गत असारमा खेती गरेका किसानले अहिले बाली काटिरहेका छन्। यस वर्ष धानखेतीको समयमा किसानको समय निके अनुकूल थियो। असारमा बगाएको पसिनाबाट अहिले धानको सुनौलो दाना भकारीमा भरिरहेका छन्। अपेक्षा अनुसार धानको उत्पादन राम्रो भएको छ। कतिपय अवस्थामा धानमा रोग लागेर र कतिपय क्षेत्रमा कीरा लागेर उत्पादनमा केही कमी भए पनि, समग्रमा धानको उत्पादनमा वृद्धि भएको छ। औसतमा किसान सन्तुष्ट छन् र धान किसानको सन्तुष्टिले सदैव शुभ सङ्केत गर्ने गरेको छ।
हुनत यस वर्ष धानखेती गर्ने बेलामा किसानले मल नपाएर धेरै दुःख पाएका थिए। निकै महँगोमा मल किन्न बाध्य हुनुपरेको थियो। समयमा मल नपाउँदा र महँगो किनेर खेतमा हाल्दा धानको उत्पादन बढ्ने अपेक्षा राखेका थिए। धानको उत्पादन बढाउन महँगो मल किन्दा धानको उत्पादन लागत बढेकोमा खासै ध्यान दिएका थिएनन्। मुख्यरूपमा ग्रामीण किसान, जो निर्वाहमुखी खेती गर्दछन्, आफ्नो श्रमको मूल्य गणना गर्दैनन् र कुनै पनि मूल्यमा धानको उत्पादनले एक वर्ष आजीविका आफ्नै भकारीको धानबाट चलाउन चाहन्छन्। उनीहरू धान उत्पादन गर्दा हुने खर्चको पनि वास्ता गर्दैनन्। यस्ता किसानको समस्या कसैले बुझ्न चाहँदैन, तर देशको समग्र धान उत्पादनमा निर्वाहमुखी अन्न उत्पादन गर्ने किसानको महत्वपूर्ण योगदान रहेको देखिन्छ।
अहिले अधिकांश किसानको समय खेतमैं बित्न थालेको छ। कतिपय किसान मसुरो, आलस, तोरी तथा अन्य रबिबाली गर्न थालेका छन् भने कतिपयले धानको कटनी गरिरहेका छन्। अझ तरकारी खेती गर्ने किसानको व्यस्तता निकै बढेको छ। गत असोज महीनाको वर्षाले तरकारी किसानको ढाँड भाँचिदिएको थियो। यसले गर्दा अहिले सर्वसाधारणले पहिलेका वर्षहरूको तुलनामा तरकारी महँगो किन्नुपरेको छ। आलु, प्याज र अन्य हरियो तरकारी विगतका वर्षको यसै महीनाको तुलनामा निकै महँगो हुनुमा यही कारक देखिन्छ। अहिले तरकारी महँगो भए पनि अधिकांश तरकारी किसान चाहिं फाइदामा छैनन्, किनभने गत असोजमा भएको क्षति पूर्ति हुने सम्भावना निकै कम छ। तर पनि सर्वसाधारणले अपेक्षाकृत बढी मूल्य तिरिरहेका छन्। तरकारी खेतीको लागत निकै बढेको र गत महीनामा तरकारी खेतीमा अपूरणीय क्षति भएको सन्दर्भलाई विचार गर्ने हो भने तरकारी किसानले केही हदसम्म भरपाई पाएको देखिन्छ।
खेतीमा ग्रामीण महिलाको ठूलो सहभागिता र योगदान हुने गरेको छ। ग्रामीण महिलाहरू खेतीको करीब हरेक मोर्चामा उत्तिकै डटेर योगदान दिएका हुन्छन् तर अहिले चाड नजीकिएको छ। पहाडी समुदायको अर्को मुख्य चाड तिहार दैलोमा छ भने मधेसी समुदायको दीपावली र छठ पनि आउनै लागेको छ। दीपावली र छठको तयारीमा महिलाको नै मुख्य भूमिका हुने गर्दछ। पहाडी समुदायको घर आँगन लिपपोत र घर सफा गर्ने  दशैंमा नै सम्पन्न हुन्छ तर मधेसी समुदायमा सबै गर्ने बेला अहिले हो। दीपावलीको दिनसम्म सम्पूर्ण सफाइ भइसक्नुपर्छ। अब दीपावली आउन दुई तीन दिन मात्र बाँकी रहेको अवस्थामा ग्रामीण महिला घरको सम्पूर्ण सफाइमा जुटेका छन्। एकातिर खेतीको चटारो र अर्कोतिर दीपावली र छठजस्तो महापर्वको तयारी एकसाथ ग्रामीण किसान र महिलाहरूले गर्नुपरिरहेको वर्तमान अवस्थामा साँच्चीकै ग्रामीण नागरिकको व्यस्तता उच्च सम्मानयोग्य छ।
सामान्यतया छठको तयारी कात्तिक महीनाको कृष्ण प्रतिपदादेखि नै हुन थाल्छ। छठ गर्ने महिलाहरू त्यस दिनपछि माछा–मासु खाँदैनन् र सकेसम्म घरमा पनि छिर्न दिंदैनन्। घरमा माछा–मासु नपस्नु नै चाडपर्वको तयारी त होइन, तर यस प्रकारले बार्ने काम छठकै लागि हो। यसै गरी कतिपय परिवारमा कात्तिक स्नान गर्ने पनि हुन्छन्। कात्तिक स्नान गर्ने परिवारमा पनि माछामासु खाने चलन छैन। कम्तीमा कात्तिक स्नान गर्नेहरूले त अवश्य नै खाँदैनन्। कात्तिक स्नान गर्नेहरूमध्ये केही छठ पर्व पनि गर्दछन्। कात्तिक स्नान, दीपावली र छठप्रतिको ग्रामीण र शहरिया श्रद्धामा केही भिन्नता देखिन्छ। शहरमा त्यति कठोर नियमको पालना गरेको पाइँदैन। गाउँबाट शहरमा भर्खर वा केही वर्ष पहिले मात्र बसाइँ सरेर आएकाहरूमा भने चाडपर्वप्रति ग्राम्य वा पहिलेको जस्तै श्रद्धा र तत्परता देखिन्छ। यस प्रकारका महिलाहरूको दैनिक व्यस्तता पनि निकै बढ्छ।
लकडाउन शुरू हुँदाको समयमा गाउँभन्दा बाहिर श्रम बेच्न गएका अधिकांश श्रमिक फर्केका थिए। तीमध्ये अधिकांश अझै गाउँमैं छन्। केही श्रमिक भने फर्किसकेका छन्। गाउँमैं बसेका श्रमिकहरूले भने धानखेतीमा जुन रूपमा ठूलो योगदान दिएका थिए, अहिले धानको कटनीमा पनि त्यस्तै योगदान दिइरहेका छन्। रबिबालीमा पनि यस प्रकारका श्रमिकको ठूलो योगदान रहनेमा द्विविधा छैन। कोरोना सङ्क्रमणको अवस्था आफ्नो ठाउँमा छँदैछ तर जनजीवन सामान्य हुँदै गएकोले विदेशिने मनोविज्ञान बोकेका अधिकांश श्रमिक छठपछि जाने तयारीमा छन्। खेतीको चटारो र चाडपर्वको तयारीमा यस प्रकारका श्रमिकहरूले अहिले अहम् भूमिका निर्वाह गरिरहेका छन्। यस्ता श्रमिकमध्ये केही प्रतिशत गाउँमै सानातिना काममा अल्झिएका छन्। कतिले गाउँमैं सानोतिनो पसल थापेका छन्, कति तरकारी खेतीमा लागेका छन्, कति चाहिं कुखुरापालन गरेका छन्। मत्स्यपालनमा पनि केही श्रमिक लागेका छन्। हो, गाउँमा अझै पनि पर्याप्त श्रमिक पाइरहेका छन् र यो क्रम छठसम्म रहने विश्वास छ।
बाली भिœयाउनु, नयाँ बाली लगाउनु र चाडपर्व मनाउने तयारी गर्नु यी तीनै काम किसानका लागि सुखद अवसर हुन्। अहिले कात्तिकको मौसम किसानको लागि निकै अनुकूल पनि देखिएको छ। वर्षा छैन र दिनभर अपेक्षाकृत राम्रो घाम लाग्ने गरेको छ। खेतमा कटनी गरेको धान सुकाउन र घरको लिपपोतका साथै चाडको अन्य तयारीमा मौसमले सघाएको छ। वर्तमान अवस्थामा कोरोनाको कहरलाई गाउँबाट हटाइदिने हो भने गाउँले जनजीवन निकै सन्तुष्ट देखिन्छ। अधिकांश मानिस पूरा व्यस्त छन्। हो, विद्यार्थीको व्यस्तता खासै छैन र खेलकूद तथा अन्य मनोरञ्जनात्मक गतिविधिले गतिशीलता लिन सकेको छैन। युवाहरूमा एउटा उकुसमुकुस छ, तर किसानले भने खोजेको, रोजेको र चाहेको सुन्दर व्यस्तता पाएका छन्। पुरुषहरूको जीउभरि धानको भुस र महिलाको जीउभरि घर लिपपोत गर्दा कमेरोको दागले गाउँमा भिन्न सुन्दरता थपेको छ। धानको मूल्य छैन, यसले किसानमा केही निराशा छ। धान बेचेर चाडपर्वको गर्जो टार्नु यस्ता किसानका लागि निश्चय नै पीडादायक हुन्छ। एउटा निरन्तरता सामान्यरूपमा देखिन्छ, जुन वर्ष धानको राम्रो उत्पादन हुन्छ, त्यो वर्ष धानको मूल्य खासै सन्तोषजनक हुँदैन। धानको मूल्य कम हुँदा धान बेचेर काम गर्नुपर्ने साधारण किसानले धेरै धान बेचेर चाडपर्व मनाउने सामल जोर्नुपर्ने हुन्छ, जसले गर्दा जीवन धान्ने अन्य प्रक्रिया जटिल बन्न पुग्छ।
किसानले खेतीको लागि किन्ने सबै साधन र सामग्रीको मूल्य अत्यधिक हुनु र उत्पादनले पाउने मूल्य कम हुनु किसानको लागि मात्र नभएर देशको लागि पनि सन्तोषको होइन। किसानलाई समृद्ध बनाउने हो भने समयमा किसानलाई उचित मूल्यमा मल र बीउ उपलब्ध गराउनुपर्दछ र किसानको लागत हेरेर सरकारले किसानलाई नाफा हुने गरी मूल्य निर्धारण पनि गर्नुपर्दछ। सकेसम्म किसानको उत्पादन सम्बन्धित पक्षले किनिदिनुपर्दछ वा किसानलाई आवश्यक परेको बेला कसरी सहुलियत दिन सकिन्छ भन्ने व्यावहारिक उपायको खोजी गरिनु पर्दछ। साधारण किसानलाई समृद्ध बनाउन सरकारले सोच्नु आवश्यक छ।
ग्रामीण गरीब किसानलाई कुन तहको सरकारले कसरी सहयोग गर्ने भन्नेबारे देशका नीतिकारहरूले विचार गर्नुपर्छ। कृषि प्रधान देशमा हरेक किसिमका कृषि उपज बाहिरबाट आउने क्रम जारी रहेको वर्तमान परिदृश्यमा कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउन विचार गर्नु सबैको हितमा हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्