किसानको धान पालिकाले काट्दै

0
28

प्रस, सप्तरी, २६ कात्तिक/
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले धानबालीमा किसानलाई सहुलियत दिन शुरू गरेको छ। सहुलियत अन्तर्गत यस वर्षदेखि किसानको धान गाउँपालिकाले निश्शुल्क कटान गर्ने भएको छ।
अन्य बालीभन्दा धानमा किसानलाई थोरै नाफा हुने र यस वर्ष कोरोना महामारीका कारण धान काट्न जनशक्ति पनि नपाइएको हुँदा गाउँपालिकाले निश्शुल्क धान कटान कार्यक्रम थालेको गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए।
पालिकाले वडा नं. ६ बाट मङ्गलवारदेखि धान काट्न शुरू गरेको छ। धान काट्न एउटा वडामा दुईवटा मेशिन सञ्चालन गरिएको छ। बुधवार देखि वडा नं. ५ मा पनि दुईवटा मेशिनले निश्शुल्क धान काट्न थालेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी गराएका छन्। गाउँपालिकाले आफनै स्वमित्वमा रहनेगरी चारवटा ट्याक्टर र चारवटा धान काटने मेशिन खरीद गरी धानबाली काट्न शुरू गरेको अधिकृत झाले बताए।
सो गापामा करीब एक हजार पाँच सय बिघाभन्दा बढी क्षेत्रफलमा धान लगाइएको छ। जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निश्शुल्क काटिदिने निर्णय गरेपछि धेरै सहुलियत भएको गाउँपालिका–६ निवासी खुशेश्वर यादवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्