सशस्त्र र जनपद प्रहरीबीच ढुङ्गा हानाहान

82

प्रस, वीरगंज, २५ कात्तिक/
वीरगंज महानगर–१७ नगवाको पूर्वपट्टि रहेको सिंघाही खोलामा आइतवार राति बारा सशस्त्र प्रहरी तथा पर्सा प्रहरीबीच झडप भएको समाचार छ।
भारतबाट तस्करीको सामान वीरगंज ल्याउन खोज्दा बाराका सशस्त्र प्रहरी तथा पर्साका नेपाल प्रहरीबीच ढुङ्गा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन्।
बारा, पर्सा सीमा छुट्याउने सिंघाही नदीको पूर्वपट्टि बाराबाट वीरगंजमा ल्याउन लागेको पटाकालगायत अन्य सामान नेपाल प्रहरीले रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।
खोलानजीकै रहेको फोहरमैला व्यवस्थापन केन्द्र, वीरगंजका कर्मचारीलाई समेत बाराका सशस्त्र प्रहरीले कुटपिट गरेको जानकारी प्राप्त भएको छ।
प्रहरी स्रोतका अनुसार सो सामान वीरगंज छिराउन इलाका प्रहरी कार्यालय नगवाले रकम लिएको र सामान आउँदैछ भनी सूचना प्रहरी चौकी इनर्वाले थाहा पाएपछि इनर्वा प्रहरी चौकीले सामान रोक्न खोजेको थियो। सोही क्रममा बारा र पर्साका सुरक्षाकर्मीबीच विवाद भएको थियो।
यस विषयमा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक श्यामकिशोर यादवसँग बुझ्दा राति साढे ९ बजेतिर प्रहरी चौकी इनर्वा र बाराका सशस्त्र प्रहरीबीच विवाद भएको तर आफू पछि गएको बताए।
वडा प्रहरी कार्यालय बिर्ताबाट गएको टोलीले विवाद सुल्झाएको प्रनानि यादवले जानकारी गराए।
प्रहरी उपरीक्षक गङ्गा पन्तले बारा हुँदै पर्सामा ठूलो मात्रामा पटाकालगायत अन्य सामानहरू आउन लागेको सूचनाको आधारमा प्रहरीले रोक्न खोज्दा तस्करहरूले ढुङ्गामुढा गरेको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्